बागलुङ । लगातारको वर्षाका कारण बागलुङका दुई राष्ट्रिय राजमार्गसहित दर्जनौँ ग्रामीण सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम बागलुङ बजारसँग सम्पर्क टुटेको छ ।
दुई दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गसहित विभिन्न शाखा तथा ग्रामीण सडकमा बाढीपहिरोले क्षति पुर्याउँदा यातायात सेवा प्रभावित बनेको हो ।
गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने गलकोट–ताराखोला सडकको गाईघाट झरना क्षेत्रमा ताराखोला नदीले पक्की सडक कटान गरेपछि शुक्रबारदेखि सडक अवरुद्ध भएको छ । बागलुङ बजारदेखि तित्याङ, रायडाँडा हुँदै भकुण्डे जोड्ने सडकको बागलुङ नगरपालिका–३ गौडाकोटमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१ रामरेखास्थित गणेशथान घुम्तीदेखि निरयघाट जाने सडकमा पहिरो खस्दा सडक बन्द भएको छ ।
पहिरोका कारण बागलुङ बजारदेखि सिगाना हुँदै सायकोट जाने सडकसमेत अवरुद्ध भएको छ । बागलुङ बजारदेखि दब्ल्याङ हुँदै बलेवा–कुश्मिसेरा जोड्ने मुख्य सडक अवरुद्ध भएपछि दक्षिण बागलुङको यातायात सम्पर्क टुटेको छ । बागलुङ बजारदेखि मुलपानी–तितौरे जाने सडकको तल्लो पात्लेमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । बरेङ जाने सडक, निसीखोलामा राजमार्गबाट गाउँ जोड्ने साना सडक तथा ढोरपाटनका ग्रामीण सडकमा समेत ठाउँठाउँमा पहिरो खसेर यातायात अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईँले वर्षाका कारण राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म अवरुद्ध भएको जानकारी दिनुभयो । उहाँका अनुसार अवरुद्ध सडक खुलाउन सडक आयोजनाका प्रमुख, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी तथा स्थानीय तहसँग समन्वय भइरहेको छ । लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा जिल्लाका विभिन्न ग्रामीण बस्तीको सदरमुकामसँगको यातायात सम्पर्क प्रभावित भएको छ ।








