वीरगंज । मलेसियामा रोजगारीका क्रममा मृत्यु भएका पर्सागढी नगरपालिका–९ बडेर्वाका ध्रुब महतो थारुको शव नेपाल ल्याउन पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील साह कानुले पहल थालेका छन्।
मलेसियामा ध्रुबको मृत्यु भएको खबर पाएपछि सांसद कानु सोमबार बडेर्वास्थित मृतकको घरमा पुगेर परिवारजनसँग भेट गरेका हुन्। उनले शोकमा रहेका परिवारका सदस्यलाई भेट्दै घटनाप्रति दुःख व्यक्त गर्नुका साथै समवेदना प्रकट गरे।
परिवारसँगको भेटमा सांसद कानुले दुःखको यस समयमा आफू परिवारको साथमा रहेको बताए। उनले मृतकको शव नेपाल ल्याउने प्रक्रिया छिटो अघि बढाउन सम्बन्धित निकाय र सरोकारवाला पक्षसँग समन्वय गरिरहेको जानकारी दिए।
ध्रुबको चार दिनअघि मलेसियामा निधन भएको परिवारले जनाएको छ। वैदेशिक रोजगारीका क्रममा परिवारको सदस्य गुमाएपछि शोकमा रहेका आफन्तले शव नेपाल ल्याउने प्रक्रियालाई सहज र शीघ्र बनाउन पहल गरिदिन सांसद कानुसँग आग्रह गरेका थिए।
सांसद कानुले शव नेपाल ल्याउन आवश्यक प्रक्रिया पूरा गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता जनाउँदै परिवारलाई धैर्य धारण गर्न आग्रह गरे।
उनले वैदेशिक रोजगारीका क्रममा नेपालीको मृत्यु हुँदा शव स्वदेश ल्याउने प्रक्रिया सहज बनाउन राज्यका सम्बन्धित निकाय गम्भीर हुनुपर्ने आवश्यकता रहेको समेत बताए।
मृतक ध्रुब महतो थारु पर्सागढी नगरपालिका–९ बडेर्वाका शिव महतो थारुका छोरा हुन्। परिवारका अनुसार उनको मलेसियामा रोजगारीका क्रममा निधन भएको हो।
सांसद कानुले मृतकको शव नेपाल ल्याई परिवारलाई हस्तान्तरण गर्ने प्रक्रियालाई प्राथमिकतामा राखेर आवश्यक पहल र समन्वय जारी राख्ने बताएका छन्।








