वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–५, महुवनस्थित किरणभूमि पशुपालन फार्मबाट चोरी भएको ट्याक्टर प्रहरीले बरामद गरेको छ। प्रहरीले ट्याक्टर चोरीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
गण्डक नहरको उत्तरपट्टी रहेको फार्मबाट गएराति ना.६ त ४४८२ नम्बरको ट्याक्टर चोरी भएको थियो। फार्ममा पुग्दा ट्याक्टर नदेखिएपछि धनी दिनेश कुमार जयसवालले तत्काल प्रहरी चौकी महुवनमा खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त अर्याल र प्रहरी चौकी महुवनका प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको संयुक्त टोली खोजतलासमा परिचालन भएको थियो।
खोजतलासका क्रममा प्रहरीले ठोरी गाउँपालिका–४, गोपीबस्तीबाट चोरी भएको ट्याक्टरसहित पोखरिया नगरपालिका–४, रानीगन्ज रहरियाका सनोज साहलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार ट्याक्टर चोरीमा संलग्न अर्का एक व्यक्ति भने फरार छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए।
पक्राउ परेका साह र बरामद ट्याक्टरलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








