वीरगंज । विशेष अदालतले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार सिंहसहित मुद्दाका सबै प्रतिवादीलाई सफाइ दिने फैसला गरेको हो ।
झुट्टा कागजात पेस गरी अर्कैकी छोरीलाई आफ्नो छोरी भन्दै नागरिकता दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते मेयर सिंहसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले सिंहकी छोरी बनेर नागरिकता लिएको आरोपमा सिन्धुपाल्चोककी रिता भट्टराईलाई पनि प्रतिवादी बनाएको थियो । त्यस्तै वीरगंज महानगरपालिका–३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन कार्यवाहक वडाध्यक्ष तुफैल अख्तर ठकुराई तथा गृह मन्त्रालयको छानबिन समितिका संयोजक तत्कालीन उपसचिव पुष्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेलविरुद्ध पनि मुद्दा दायर गरिएको थियो ।
विशेष अदालतले सोमबार सिंहसहित सबै प्रतिवादीलाई आरोपबाट सफाइ दिएको हो । अदालतको सफाइसँगै भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा रहेका मेयर सिंह पुनः पदमा फर्किएका छन् ।
विशेष अदालतबाट सफाइ पाएपछि मेयर सिंहले सामाजिक सञ्जालमार्फत आफूले न्याय पाएको प्रतिक्रिया दिएका छन् । उनले हिन्दीको भनाइ ‘देर है, पर अंधेर नहीं’ अर्थात् ‘ढिलो हुन्छ, तर अन्याय हुँदैन’ भन्ने उल्लेख गर्दै न्यायालयको फैसलाले सत्यप्रतिको आफ्नो विश्वास अझ बलियो भएको बताएका छन् ।
निलम्बनमा परेर कठिन र पीडादायी समय आफू र आफ्नो परिवारले धैर्य, आत्मविश्वास तथा सत्यप्रतिको विश्वासका साथ बिताएको उनले उल्लेख गरेका छन् । अदालतबाट प्राप्त न्यायले ‘सत्य कहिल्यै हार्दैन’ भन्ने विश्वास थप बलियो बनाएको उनको भनाइ छ ।
सिंहले कठिन परिस्थितिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने आफन्त, साथीभाइ, शुभचिन्तक तथा न्यायप्रेमी सबैप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले आफूविरुद्धको कठिन यात्रामा प्राप्त साथ र विश्वासलाई ऊर्जाका रूपमा लिएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सत्यको बाटो कठिन हुन सक्छ, तर अन्ततः सत्यकै विजय हुन्छ। ढिलो भयो, तर न्याय भयो।’








