वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको म्याद दिइएको छ।
वीरगन्जको गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिगर क्यासिनोबाट नियन्त्रणमा लिइएका उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
यसअघि उनीहरूमाथि पहिलो चरणमा ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको थियो। उक्त म्याद सकिएपछि प्रहरीले थप अनुसन्धानका लागि पुनः म्याद मागेको थियो।
पक्राउ परेकाहरूमाथि मुलुकी अपराध संहिताअनुसार गैरकानुनी जुवा तथा सट्टेबाजीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनासँग सम्बन्धित विषयमा थप प्रमाण तथा विवरण संकलन गर्ने काम भइरहेको छ। अनुसन्धान पूरा भएपछि प्राप्त तथ्य र प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।








