वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्।
सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि काठमाडौंको वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा भर्ना गरिएको थियो। सात दिनको उपचारपछि स्वास्थ्यमा सुधार आएपछि साहलाई आज अस्पतालबाट डिस्चार्ज गरिएको सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।
बाढीका कारण सुरुङभित्र फसेका साहलाई नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा प्राविधिक विज्ञ सम्मिलित संयुक्त उद्धार टोलीले सुरुङमा फसेको १०औँ दिनमा सकुशल बाहिर निकालेको थियो।
साहसँगै सुरुङभित्र फसेका अर्का एक जनाको पनि उद्धार गरिएको थियो। उद्धार गरिएका दुवै जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याएर स्वास्थ्य परीक्षण तथा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।
त्रिशूली–३ ‘ए’ आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत साह उपचारपछि स्वास्थ्य लाभ गर्दै परिवारसँग घर फर्किएका छन्।








