वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ।
श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको उपस्थितिमा जिल्ला समन्वय समिति पर्सामा भएको छलफलमा लामो समयदेखि रोकिएको भवन निर्माणलाई छिट्टै अगाडि बढाउने सहमति भएको हो। निर्माणसँग सम्बन्धित निकायबीच आवश्यक समन्वय गरेर कामलाई गति दिने विषयमा समेत छलफल भएको थियो।
छलफलमा मन्त्रालयका सचिव निरञ्जन साह, जिल्ला समन्वय समिति पर्साका उपसभापति पुरणप्रसाद कुर्मी, यातायात व्यवस्था कार्यालयका प्रमुख कुसेश्वर साहलगायत सहभागी थिए।
बैठकमा भवन निर्माणका क्रममा देखिएका समस्या समाधान गर्दै निर्माण प्रक्रिया प्रभावकारी बनाउने विषयमा सम्बन्धित पक्षबीच समन्वय गर्ने निर्णय भएको जनाइएको छ। यसका लागि जिल्ला समन्वय समितिले आवश्यक पहल गर्ने विषयमा समेत छलफल भएको थियो।
यातायात व्यवस्था कार्यालयको आफ्नै भवन निर्माण सम्पन्न नभएसम्म कार्यालय सञ्चालनमा समस्या नहोस् भन्ने उद्देश्यले वैकल्पिक व्यवस्थासमेत गरिएको छ। जिल्ला समन्वय समिति पर्साका अध्यक्ष अजय सर्राफका अनुसार कार्यालयलाई प्रतिमा चोकबाट जिल्ला समन्वय समितिको पुरानो भवनमा सञ्चालन गर्ने विषयमा यसअघि नै सहमति भइसकेको छ।
मन्त्री थापाले भवन निर्माणका लागि आवश्यक सहजीकरण तथा समन्वय गरेर रोकिएको कामलाई छिट्टै अघि बढाउने प्रतिबद्धता जनाएकी छन्।
भवन निर्माण पूरा भएपछि यातायात व्यवस्था कार्यालयको सेवा प्रवाह थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।








