वीरगञ्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घोषणा गरेको ‘क्यान्डिडेट क्लब’को आलोचना गर्दै यसलाई ‘अनैतिक राजनीतिको सुरुवात’को संज्ञा दिएका छन्।
शनिबार वीरगञ्जमा आयोजित आजपाको मधेस प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले स्थानीय तहलाई निर्दलीय बनाउने भन्दै मत मागेको रास्वपाले अहिले उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’ गठन गर्नु विरोधाभासपूर्ण भएको टिप्पणी गरे।
रास्वपाले चुनावका बेला एउटा कुरा गर्ने तर व्यवहारमा अर्कै अभ्यास गर्न खोजेको उनको आरोप थियो। पार्टीका नेता तथा कार्यकर्तामा देश र जनताको हितभन्दा पद र कुर्सीप्रतिको चिन्ता बढी देखिएको साहले बताए।
‘घण्टीहरूलाई कुर्सीको मात्रै चिन्ता छ। चुनाव कसरी जित्ने, कसरी पद पाउने भन्ने मात्रै चिन्ता देखियो। देश र जनताका बारेमा यिनीहरूलाई कुनै चिन्ता छैन। यस्तो अवसरवादी सोच भएकाहरूबाट सचेत हुनुपर्छ,’ साहले भने।
उनले रास्वपाका कार्यकर्ताहरू सामाजिक सञ्जालमा उग्र रूपमा प्रस्तुत हुने गरेको आरोपसमेत लगाए। सामाजिक सम्बन्धको महत्त्व नबुझ्दा उनीहरूले सामाजिक सञ्जालमा गालीगलौज गर्ने गरेको उनको भनाइ थियो।
रास्वपाको उम्मेदवार छनोट प्रक्रियामाथि प्रश्न उठाउँदै साहले राजनीतिक दलहरूले जनताको हित र सार्वजनिक जिम्मेवारीलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।
आजपाको मधेस प्रदेश कमिटी बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीको गतिविधिबारे छलफल भएको जनाइएको छ।








