काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ।
समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जनको साइत रहेको छ। समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले विजयादशमीका दिन दिनभर नै टीका लगाउन सकिने जानकारी दिनुभएको छ।
टीका लगाउँदा कुन दिशातर्फ फर्कने?
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार दसैँको टीका लगाउँदा टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका ग्रहण गर्ने व्यक्ति पश्चिमतर्फ फर्केर बस्नुपर्नेछ।
विजयादशमीका दिन नवदुर्गा भवानीको पूजा–आराधना गरी देवीको प्रसादस्वरूप रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने धार्मिक परम्परा छ। यस दिन परिवारका सदस्य तथा आफन्तजन एकै ठाउँमा भेला भई मान्यजनबाट टीका र आशीर्वाद लिने चलन रहेको छ।
नेपाली समाजमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहिआएको छ। यस पर्वले पारिवारिक सम्बन्ध, आपसी सद्भाव र सामाजिक एकतालाई थप बलियो बनाउने विश्वास गरिन्छ।








