बारा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित भएकाहरूका लागि बाराको महागढीमाई नगरपालिकाले रु ४१ लाख ५१ हजार आर्थिक सहयोग गर्ने भएको छ ।
रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि महागढीमाई नगरपालिकाले रु ४१ लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख उपेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाका ६० जना जनप्रतिनिधिले आफ्नो एक महिनाको सेवासुविधाबापत प्राप्त हुने रकम बाढीपीडितको राहतका लागि योगदान गर्नेछन् ।
नगरप्रमुख यादवले भन्नुभयो, “नगरपालिकामा कार्यरत निजामती कर्मचारीले नेपाल सरकारको निर्णयअनुसार आफ्नो तलबबाट सहयोग गर्नेछन्, त्यसमा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थप रु पाँच लाख उपलब्ध गराइनेछ । जनप्रतिनिधि तथा कर्मचारीको योगदान र विपद् व्यवस्थापन कोषको रकम गरी रु ४१ लाख ५१ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।”








