वीरगंज । वीरगंजबाट प्रकाशित प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवको अवसरमा पत्रकार महेशचन्द्र गौतम सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । गौतमलाई ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले गौतमलाई सम्मानपत्र र ५१ हजार रुपैयाँको चेक प्रदान गरे । गौतम वीरगंजबाट प्रकाशित सर्व राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक हुन् ।
सोही अवसरमा स्वर्गीय चिरञ्जीवी कोइराला पत्रकारिता पुरस्कारबाट युवा पत्रकार अर्जुन चौधरी सम्मानित भएका छन् । चौधरीलाई १५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।
प्रतीक दैनिकले वार्षिकोत्सवको अवसरमा आफ्ना स्तम्भकार राजेन्द्र कोइराला, संवाददाता चिरञ्जीवी सापकोटा र प्रेस कर्मचारी विजयबहादुर श्रेष्ठलाई समेत सम्मान गरेको छ । कोइरालालाई १० हजार, सापकोटालाई १५ हजार र श्रेष्ठलाई ५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पटेलले निष्ठापूर्वक पत्रकारिता गर्ने पत्रकारहरू पछिल्लो समय समस्यामा परेको बताए । पत्रकारिता र राजनीतिमा खराब प्रवृत्ति बढ्दै जाँदा दुवै क्षेत्र बदनाम भइरहेको उनको भनाइ थियो ।
‘अन्त केही गर्न नसक्ने र असफल भएकाहरू पत्रकारिता र राजनीतिमा छिर्ने क्रम बढेको छ । यसले यी क्षेत्रलाई नै बदनाम बनायो । यसमा हामी सचेत हुनुपर्छ,’ मन्त्री पटेलले भने ।
उनले असल व्यक्ति र जिम्मेवार नागरिकले गलत प्रवृत्तिविरुद्ध खबरदारी गर्नुपर्नेमा जोड दिँदै प्रतीक दैनिकले पत्रकारिताको क्षेत्रमा नमुना काम गर्दै आएको बताए ।
नेपाल पत्रकार महासंघ मधेशका अध्यक्ष श्याम बन्जाराले पत्रकारिता क्षेत्र विभिन्न समस्याबाट गुज्रिरहेको बताए । उनले राज्यले सञ्चारमाध्यमप्रति पूर्वाग्रही व्यवहार गरिरहेको आरोप लगाए ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले स्थानीय राजनीतिक, आर्थिक तथा सामाजिक सरोकारका विषय उठानमा पत्रकारिताले महत्वपूर्ण योगदान दिँदै आएको बताए । स्थानीय तथा प्रदेश सरकारले सञ्चारमाध्यमको प्रवद्र्धनमा अपेक्षित काम गर्न नसकेको उनको भनाइ थियो ।
प्रतीक दैनिकका प्रधानसम्पादक जगदीश शर्माले प्रविधिको विकाससँगै सञ्चार क्षेत्रमा अवसरसँगै चुनौती पनि थपिएको बताए । पछिल्लो समय पत्रकारिता क्षेत्रले फरक खालका चुनौती सामना गरिरहेको उनले बताए ।
प्रतीक प्रकाशन प्रालिकी निर्देशक विन्दु शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, साहित्यकार गीता भण्डारी, पत्रकार महेशचन्द्र गौतमलगायतले प्रतीक दैनिकलाई वार्षिकोत्सवको शुभकामना दिएका थिए ।
वीरगंज महानगरपालिका–१५ स्थित ज्येष्ठ नागरिक पार्कमा आयोजित समारोहको सञ्चालन प्रतीक दैनिकका संवाददाता धर्मेन्द्र चौरसियाले गरेका थिए ।








