वीरगंज । वीरगंज महानगरपालिका–११ श्रीपुरस्थित आर.पी. फर्मासिटिकल प्रा.लि. उद्योगमा अवैध रूपमा औषधि उत्पादन, लेबलिङ तथा प्याकेजिङ गरी बिक्री वितरण भइरहेको अवस्थामा प्रहरीले उद्योग सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र औषधि व्यवस्था विभाग, शाखा कार्यालय वीरगंजबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा शुक्रबार दिउँसो करिब ३ः३० बजे उद्योगमा चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा उद्योगमा बिना इजाजत औषधि उत्पादन तथा बिक्री वितरण भइरहेको फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले उद्योग सञ्चालक वीरगंज महानगरपालिका–२२ निवासी ३४ वर्षीय राहुल कुमार चौहानलाई विभिन्न औषधि तथा प्याकेजिङ सामग्रीसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उद्योगबाट १०० एमएलका ४० बोतल रेक्टिफाइड स्पिरिट, ४०० एमएलका ३ हजार ९० बोतल रेक्टिफाइड स्पिरिट, १ हजार ५ सय बोतल सेफर प्लान ह्यान्ड रब सेनिटाइजर, ५ एमएलका १५ हजार भायल क्लोभ आयल आईपी, १० एमएलका २५ भायल जीभी पेन्ट, ५ लिटरका २८ जार रेक्टिफाइड स्पिरिट बरामद गरिएको छ ।
त्यस्तै, एक थान भायल सिलिङ मेसिन, एक थान प्रिन्टिङ मेसिन, १९२ थान ह्यान्ड रब सेनिटाइजर तथा प्याकेजिङ र लेबल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका चौहानलाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग, शाखा कार्यालय वीरगंजमा पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।








