Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

साईकलमै २२ वर्षदेखि पत्रकारिता गर्दै आएका जगत राई, संघर्षबाट बन्यो वीरगंजमा छुट्टै पहिचान

spot_img
spot_img

वीरगंज । पर्साका सक्रिय तथा संघर्षशील पत्रकारमध्येका एक हुन् जगत राई । करिब २२ वर्षदेखि पत्रकारितामा निरन्तर सक्रिय रहेका ४९ वर्षीय राई अहिले आफ्नै अनलाइन सञ्चारमाध्यम “जगतसमाचार डटकम” सञ्चालन गर्दै आएका छन् ।

उचाइले करिब पाँच फिट रहेका राईको पत्रकारिता यात्राको अर्को विशेषता भनेको साईकल हो । उनले अहिलेसम्म चार वटा साईकल हराइसके पनि साईकल चढ्ने बानी भने छाडेका छैनन् । दैनिक ३० किलोमिटरसम्मको कार्यक्रममा समेत साईकलमै पुग्ने गरेका राई अहिले पनि साईकललाई आफ्नो मुख्य यातायातको माध्यम मान्छन् ।

धनकुटा नगरपालिका–६ पाङ्सिङ बरबोटेमा जन्मिएका राई २०५९ सालदेखि वीरगंजमा पत्रकारितामा सक्रिय छन् । सप्ताहिक पत्रिकाबाट पत्रकारिता सुरु गरेका उनले विभिन्न सञ्चारमाध्यममा काम गर्दै अनुभव बटुलेका छन् ।

बाल्यकालमै पारिवारिक विछोडको पीडा भोगेका राई १२ वर्षको उमेरमा घर छाडेर धनकुटाबाट विराटनगर हुँदै वीरगंज आइपुगेका थिए । सुरुमा चिरान मिलमा सहयोगीको काम गरेका उनले त्यहाँ नास्ताको भरमा श्रम गर्नुपरेको सम्झन्छन् । त्यसपछि पेन्टरको सहयोगी बनेका राईले कामसँगै अध्ययनलाई पनि निरन्तरता दिए ।

श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका राई पछि ठाकुरराम बहुमुखी क्याम्पसमा आईकममा भर्ना भए पनि आर्थिक र पारिवारिक अवस्थाका कारण उच्च शिक्षा पूरा गर्न सकेनन् ।

पत्रकार बन्ने सपना बोकेका राई त्यसबेला प्रतिक दैनिकको प्रकाशन गृहमा मजदुरका रूपमा काम गर्थे । त्यहीँ काम गर्दागर्दै पत्रिका पढ्ने रुचि बढेको र पत्रकार बन्ने अठोट झन् बलियो बनेको उनी बताउँछन् । धेरैपटक समाचार लेख्न सिकाइदिन आग्रह गर्दा पनि हप्की र अस्वीकार सहनुपरेको अनुभव उनले सुनाए ।

पछि शंकर प्रेसमा अपरेटरको काम गर्दै उनले अरुण बिकसँग मिलेर “अग्रिम आभास” साप्ताहिक दर्ता गराए । त्यसबीच भोजपुरकी सुकमति राईसँग प्रेम विवाह गरेका उनले पारिवारिक असहमतिका कारण भागेर विवाह गर्नुपरेको बताए ।

पत्रकारिताको यात्रामा उनले तराई टुडे दैनिक, पर्सा एक्सप्रेस दैनिक र नारायणी टुडे दैनिकलगायत विभिन्न सञ्चारमाध्यममा काम गरे । कतिपय पत्रिका बन्द हुँदा रोजगारी गुमाए पनि उनले पत्रकारिता भने छाडेनन् ।

हाल आफ्नै अनलाइन सञ्चालन गरिरहेका राई बिहानदेखि रातिसम्म समाचारकै काममा व्यस्त रहने गर्छन् । आर्थिक रूपमा ठूलो उपलब्धि हासिल गर्न नसके पनि पत्रकारिताबाटै परिवार धानेकोमा उनी सन्तुष्ट देखिन्छन् ।

“खाली खुट्टा वीरगंज आएको थिएँ, आज छोरालाई डिप्लोमा इन्जिनियरिङ पढाउन सकेको छु,” राई भन्छन् । उनकी छोरी अहिले कक्षा १० मा अध्ययनरत छिन् ।

२०६४ सालमा नेपाल पत्रकार महासंघको सदस्यता पाएका राई जिल्ला कार्यसमिति सदस्य हुँदै मधेश प्रदेश पत्रकार महासंघको सदस्यसमेत निर्वाचित भइसकेका छन् । तर, स्पष्ट बोल्ने र चाकडी नगर्ने स्वभावकै कारण आफूले अहिलेसम्म कुनै पत्रकारिता पुरस्कार नपाएको उनको गुनासो छ ।

“पत्रकारिताले घर–जग्गा जोड्न सकेन, तर आफ्नो पहिचान बनाउन सफल भएँ,” राई भन्छन्, “अब बाँकी समय पनि पत्रकारितामै समर्पित गर्ने योजना छ ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...