वीरगंज । पर्साको ठोरी गाउँपालिका–२ स्थित ढेँडु खोलामा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ। मृतकहरू ठोरी गाउँपालिका–२ बस्ने मनोज कठायतका छोरा ८ वर्षीय अंश कठायत र ४ वर्षीय आयांस कठायत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार, घटना मंगलबार बिहान करिब १० बजे भएको हो । नुहाउने क्रममा अचानक खोलामा डुबेका दुवै बालकलाई स्थानीयवासीले पानीको सतहमा तैरिरहेको अवस्थामा देखेपछि उद्दार गरी तत्काल ठोरीस्थित स्वास्थ्य चौकीमा पुर्याइएको थियो । तर, स्वास्थ्यकर्मीले दुवैलाई मृत घोषणा गरेका थिए।
घटनापछि इलाका प्रहरी कार्यालय ठोरीबाट प्रहरी निरीक्षक मुन्ना साहको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। साथै, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक शैलेन्द्र खडकाको नेतृत्वमा SOCO सहितको मुचुल्का टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगंजमा पठाइएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।






