Date
आइत, असार १४, २०८३
Sun, June 28, 2026

सर्लाहीमा सधैँ रेबिजको भ्याक्सिन अभाव

spot_img
spot_img
बरहथवा । सर्लाहीकाे बरहथवा नगरपालिका–१४, हरिपुर्वाका १४ वर्षीय मुकेश बैठालाई यही फागुन १ गते छाडा कुकुरले टोक्यो । एक्कासि कुकुरले टोकेपछि उहाँ तत्काल बरहथवा नगर अस्पताल पुग्नुभयो । तर, अस्पतालले भ्याक्सिन नहुँदा उहाँलाई फर्कायो । 
 
त्यसपछि मुकेशलाई निजी क्लिनिकमा लगियो । क्लिनिकमा रु छ सय ५० तिरेर भ्याक्सिन लगाउनुभयो । तीन–तीन दिनको अन्तरमा तीन मात्रा भ्याक्सिन लगाउनुपर्ने मुकेश दोस्रो मात्राका लागि नगर अस्पताल पुग्नुभयो । तर, चिकित्सकले औषधि अझै नआएको भनेर फर्काए । फेरी निजी क्लिनिकबाटै दोस्रो मात्रा लगाउनुभयो । बैठाले अन्तिम मात्रा भने नगर अस्पतालबाटै लगाउनु पाउनुभयो । 
 
शुक्रबार अस्पताल परिसरमा भेटिनुभएका उहाँले नेता र अस्पतालका चिकित्सकसँग हारगुहार गरेपछि एक मात्रा भ्याक्सिन पाएको बताउनुभयो । अस्पतालले रु दुई सय लिने भ्याक्सिन बाहिर रु छ सय ५० तिर्नु पर्दा महँगो परेको उहाँले बताउनुभयो । 
 
“गाउँका मान्छेले झन्झट मानेर रेबिजको भ्याक्सिन लगाउँदैनन् । अस्पतालमा सधँै छैन् भनेर फर्काउछन् । बाहिर किनेर लगाउन सबैसँग पैसा हुँदैन । यहाँ दिनदिनै कुकुर, स्याल, बाँदर, बिरालोलगायतका जनावरले टोकिरहेको हुन्छ”, उहाँले भन्नुभयो । 
 
चिकित्सकले दश दिनसम्म टोक्ने जनावरको निगरानी गर्न भनेर पठाउने गर्दा धेरै जनाले भ्याक्सिन लगाउन नपाएको स्थानीय रामनरेश रायको अनुभव छ । “कुकुर, स्यालजस्ता जनावरले खेतमा काम गर्दै गर्दा, बाटो हिँड्दा हिँड्दै टोकेर भाग्छ”, उहाँले भन्नुभयो, “त्यस्ता जनावरको निगरानी कसरी गर्नु ?” राज्यले भ्याक्सिन पर्याप्त नदिँदा विपन्न स्थानीय मारमा परेको उहाँको भनाइ छ । 
 
बैठाझैँ गोडैता नगरपालिका–५, सिसौटिया निवासी ४५ वर्षकी जोगनी देवीलाई यही फागुन ३ गते खेतैमा स्यालले टोक्यो । दायाँ खुट्टामा चोट लाग्ने गरी स्यालले टोकेपछि उहाँलाई परिवारले तत्काल प्राथमिक स्वास्थ्य केन्द्र गोडैता पुर्‍याए । तर, उहाँले स्वास्थ्य केन्द्रमा भ्याक्सिन पाउनु भएन । चिकित्सकले १० दिनसम्म टोक्ने जनावरको निगरानी गर्नु र मर्यो भने सुई लगाउन आउनु भन्दै फर्काइदिए । 
 
त्यसपछि उहाँ लालबन्दी नगरपालिकाको एक निजि क्लिनिकमा पुगेर  भ्याक्सिन लगाउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र बलरामा आएको औषधि १५ दिनमै सकिएकोले भ्याक्सिन लगाउन अन्तै पठाएको स्वास्थ्य केन्द्रका इन्चार्ज नितेशकुमार कुशवाहले जानकारी दिनुभयो । भ्याक्सिन जम्मा ४० भाइल मात्र आउने गरेको उहाँले बताउनुभयो । भ्याक्सिन सकिएपछि अधिकांश स्वास्थ्य संस्थाहरूले बिरामीलाई अन्यत्र पठाउने गरेका छन् । 
 
जिल्लामा सधैँ रेबिज विरुद्धको भ्याक्सिन अभाव हुने गरेको छ । सरकारी स्वास्थ्य संस्थामा कोटाअनुसार आउने रेबिज विरुद्धको भ्याक्सिन अभाव भएपछि निजी क्लिनिकबाट महङ्गोमा किनेर लगाउनुपर्ने बाध्यता छ । 
 
जिल्लामा प्रादेशिक अस्पताल मलङ्गवा, नगर अस्पताल लालबन्दी, ईश्वरपुर, बरहथवा प्राथमिक स्वास्थ्य केन्द्र हरिवन, बलरामा रेबिज विरुद्धको भ्याक्सिन लगाउने गरिएको छ । तर, ती केन्द्रमा आएका औषधि एक हप्तादेखि १५ दिनमै सकिने गरेको संस्थाका स्वास्थ्यकर्मीको गुनासो छ । तीन सय भाइल भ्याक्सिनको कोटा भएपनि कहिले महिना दिन, त कहिले १५ दिनलाई पनि नपुग्ने प्रादेशिक अस्पताल मलङ्गवाका प्रमुख डा नवलकिशोर झाले जानकारी दिनुभयो । 
 
औषधि सकिने बित्तिकै माग फारम भरेर पठाउने गरेपनि ल्याउन समय लाग्ने हुँदा कहिलेकाँही १५–२० दिनसम्म भ्याक्सिन अभाव हुने डा झा बताउनुहुन्छ । चिकित्सकीय अभ्यासमा टोकेको जनावरको १० दिनसम्म निगरानी गरेर मरे वा बहुलाए मात्र औषधि लगाउनुपर्ने भएपनि बिमारी जनावर भाग्यो भनेर आउने गर्दा भ्याक्सिन लगाउनै पर्ने दवाब हुने उहाँले बताउनुभयो । 
 
भ्याक्सिनको कोटा कम हुँदा अभाव हुने गरेको बरहथवा नगर अस्पताल प्रमुख नागेन्द्र साहले बताउनुभयो । पहिला धेरै कोटा भएपनि मधेश प्रदेश मातहतमा आएपछि महिनामा ६० भाइल मात्र प्राप्त हुने गरेको उहाँले बताउनुभयो । प्राप्त भ्याक्सिन एक हप्तामै सकिने उहाँको भनाइ छ । 
 
गत माघमा प्राप्त ४० भाइल भ्याक्सिन १० दिनमै सकिएको हरिवन नगरपालिका स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले बताउनुभयो । फागुन महिनाको लागि आउँदो २० गते औषधि प्राप्त गर्ने तालिका रहेको उहाँले जानकारी दिनुभयो । अहिले अस्पतालमा रेबिज विरुद्ध भ्याक्सिन लगाउन आउनेलाई अन्यत्र पठाउने गरेको उहाँले स्वीकार्नुभयो । 
 
हाल जिल्लामा मासिक छ सय भाइल बराबर रेबिजको भ्याक्सिन प्राप्त हुने गरेको छ । यो आवश्यकताको एक तिहाइ मात्रा मात्र भएको स्वाथ्यकर्मी बताउँछन् । आवश्यकताको आधारमा कम मात्रामा भ्याक्सिन आउने भएकाले लक्षितवर्ग जोखिममा परेको नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले बताउनुभयो । रासस
spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गहवामाई रथयात्राको अवसरमा निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए स्वास्थ्य सेवा

वीरगंज । श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा शनिबार वीरगंजस्थित माईस्थान मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आगामी असार ३२...

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि एकदिने तालिम सम्पन्न

सेढवा । आदिवासी जनजाति सञ्चारकर्मीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित एकदिने तालिम शुक्रबार बाराको सिमरामा सम्पन्न भएको छ । मधेश प्रदेशको आमसञ्चार प्राधिकरणको आयोजना...

हैजा पूर्वतयारी सुदृढीकरणसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

वीरगंज । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सञ्चालित ‘हैजा पूर्वतयारी सुदृढीकरण : सिकाइ र...