Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026

वीरगंजमा जसपाको विस्तारित बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी (जसपा) को सङ्गठनात्मक सुदृढीकरण र जनतासँगको पहुँचलाई अझ बलियो बनाउन आह्वान गरेका छन् ।

बुधवार वीरगंज जसपा जिल्ला कार्यसमिति पर्साद्वारा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले पार्टीलाई सुदृढ बनाएर जनताको समस्यालाई समाधान गर्दै विकासका मुद्दालाई प्राथमिकतामा राखेर अगाडि बढ्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूसँग आग्रह गरेका हुन् ।

उनले भने, “हामीलाई जनताको विश्वास जित्नु छ, त्यसका लागि सबै नेताहरूले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । जनताको समस्या हाम्रै समस्या हो, त्यसैले हामी सधैँ उहाँहरूको पक्षमा उभिनु पर्छ।”

जसपाका उपमहासचिव समेत रहेका मन्त्री यादवले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई जनताको सेवामा समर्पित रहन र सङ्गठनलाई अझ एकताबद्ध बनाउन आग्रह पनि गरे । उनले थपे, “जसपा अहिले एक महत्त्वपूर्ण मोडमा छ, हामीले जनताका मुद्दालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ । विकासका कार्यहरूलाई प्राथमिकता दिनुपर्छ, जसले जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ ।”

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले जसपाको सुदृढीकरण र भविष्यका चुनौतीहरूको सामना गर्न आवश्यक तयारीबारे चर्चा पनि चर्चा गरेका थिए । “पार्टी एकताबद्ध भएर मात्र हामीले आगामी चुनौतीहरूलाई सफलतापूर्वक सामना गर्न सक्छौँ । हामीलाई सङ्गठनलाई मजबुत बनाउँदै जनताका विश्वास लायक बन्नुपर्छ,” उनले भने ।

बैठकमा सहभागी वीरगंज महानगरपालिकाका मेयर तथा पार्टीका केन्द्रीय सदस्य राजेशमान सिंहले पनि पार्टीलाई सुदृढ बनाउन र जनताको सेवा गर्न सबै नेताहरू एकताबद्ध हुनु आवश्यक रहेको बताए । उनले भने, “हामीले सङ्गठनलाई थप मजबुत बनाउन निरन्तर प्रयास गरिरहनुपर्छ ।”

त्यस्तै पर्सा जिल्ला समितिका संयोजक तथा बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेलीले पार्टीलाई सफल बनाउन सक्रियताका साथ काम गर्न प्रेरित गर्दै भने, “हामीले जनताको भरोसा जितेर आउने दिनमा जसपालाई सफल बनाउनु पर्छ ।”

बैठकमा सहभागी नेता तथा कार्यकर्ताहरूले मन्त्री यादवको भनाइलाई सकारात्मक रूपमा लिँदै, पार्टीको हितका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बैठकमा जिल्ला समितिका पदाधिकारीहरू, विभिन्न स्थानीय तहका प्रतिनिधि तथा पार्टीका अन्य सदस्यहरूको व्यापक उपस्थिति रहेको थियो । उपस्थितहरूले बैठकमा पार्टीको वर्तमान स्थिति, सङ्गठनात्मक गतिविधि, र आगामी रणनीतिहरूको बारेमा विस्तृत छलफल भएकाे थियाे । बैठकले आगामी दिनमा जसपाको भूमिकालाई बलियो बनाउने उद्देश्यले विभिन्न योजना र कार्यक्रमहरू अघि सार्ने निर्णय पनि गरेको छ ।

विस्तारित बैठकले जसपा पर्साको सङ्गठनात्मक सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास गरिएको छ । साथै, यसले पार्टीलाई आगामी दिनमा जनताको सेवा र विकासका मुद्दामा केन्द्रित गराउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेस प्रदेशको बजेट ४१ अर्ब १३ करोड, युवा रोजगारीदेखि ‘हेलो सीएम’सम्मका नयाँ कार्यक्रम घोषणा

वीरगंज । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका...

चार मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पकहाँ मैनपुरका राजेश सहनी पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतबाट भएका...

प्रहरी प्रदेश कार्यालय वीरगंजमा नयाँ प्रमुख, एसएसपी मगरद्वारा पदभार ग्रहण

वीरगंज । नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण बहादुर पल्ली मगर सोमबार हाजिर भई पदभार ग्रहण गरेका छन् । नेपाल...