Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

पर्यटन विकास भएमात्रै मधेश प्रदेश समृद्ध हुन्छ : मुख्यमन्त्री सिंह

वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विगत ७ वर्षदेखि पर्यटन विकासमा प्रदेश सरकार चुकेको बताएका छन् । ‘घुमौं मधेश, बुझौं मधेश’ भन्ने नारा सहित पर्यटन विकास कार्यालय वीरगंजले आयोजना गरेको सराेकारवालाहरु संगकाे अन्तरक्रिया एवं संवाद कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री सिंहले विगतमा भएका गल्तीहरुलाई सच्याउँदै आगामी दिनमा प्रदेश सरकार पर्यटक विकासमा गम्भिर हुने विश्वास व्यक्त गरेका हुन् ।

- Advertisement -

पर्यटक भित्र्याउन सके प्रदेश समृद्ध हुने कुरामा दुईमत नरहेको भन्दै मुख्यमन्त्री सिंहले पर्यटन विकासको लागि प्रदेश सरकार एक्लै मात्रै नभई सम्पूर्ण जनताको सहकार्यको पनि आवश्यकता रहेको बताए । वीरगंजमा आयाेजित कार्यक्रममा बाेल्दै उनले पर्यटन विकासको लागि होटल व्यवसायीको पनि महत्वपूर्ण भूमिका रहेकोले पर्यटकीय सम्भावना रहेको स्थानमा लगानी गर्न आग्रह गरे ।

उनले नेपाल आउने पर्यटकहरुलाई सीमा क्षेत्रमा चेकजाँचको नाममा अनावश्यक सास्ती नदिन प्रहरी प्रशासनलाई आग्रह समेत गरे । उनले भने “सीमा क्षेत्रमा चेकजाँच हुनुपर्छ तर दुःख दिने मानसिकताले होइन, सीमा क्षेत्रमा दुःख दिने मानसिकताले भारतीय पर्यटकलाई लक्षित गरि चेकजाँच हुने गरेको प्रवृत्तिको अन्त्य हुनु पर्छ । पर्यटकहरुप्रति पनि प्रहरीले मुस्कान सहितको व्यवहार गर्नु पर्छ ।”

मधेश प्रदेश विश्वविद्यालयका उप-कुलपति डा. दिपक शाक्यले भारतबाट आउने पर्यटकलाई उचित बासको व्यवस्था गर्नुपर्ने कुरामा जोड दिए । उनले मधेश प्रदेशमा ७० प्रतिशत भारतीय पर्यटक आउने भएकाले आएका पर्यटकहरुलाई कम्तिमा एक दुई दिन बास बसाउन सके पर्यटन विकासमा उल्लेखनीय योगदान पुग्ने उनको भनाई थियो । भारतीय पर्यटक आउँदा सीमा क्षेत्रमा चेकजाँचको नाममा भोग्नुपरेको सास्तीलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।

२५ वर्षदेखि मधेश प्रदेशमा पर्यटनको विकासको कुरा सुन्दै आएको तर कार्यान्वयन हुन नसकेको भन्दै डा. शाक्यले यहाँ रहेको थुप्रै पर्यटकीय सम्भावनालाई व्यवस्थापन गर्न सके मधेशलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सकिने बताए ।

कार्यक्रममा ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले पर्यटन विकासको कुरालाई भाषणमा मात्रै सीमित नराख्न आग्रह गरे । उनले यो भन्दा अगाडिका मुख्यमन्त्रीले ठोरीलाई विकास गर्न बजेट दिने ठूलठूला भाषण गरेर गएपनि हालसम्म कुनै बजेट नआएकोले यो नारालाई भाषणमा मात्रै सीमित नराखी कार्यान्वयतर्फ प्रदेश सरकार ध्यान दिनुपर्ने बताए ।

यसैगरि महानगढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले बारा जिल्लाको बरियारपुर स्थित विश्वप्रसिद्ध गढीमाई मन्दिर पर्यटकीय स्थलको रुपमा रहेकोमा यसलाई संरक्षण एवं संम्वद्र्धनका लागि प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका थिए । गढीमाई मन्दिर मधेश प्रदेशको मात्रै नभई देशैको गौरवशाली धार्मिक शक्तिपीठ रहेको तर प्रदेश सरकारले संरक्षणको लागि कुनै प्याकेज नदिएको गुनासो पोखे ।

पाँच वर्षमा लाग्ने गढीमाई मेलामा २२ देशका भक्तजनहरुको उपस्थिति हुने गरेको तर सरकारले यहाँ आउने भक्तालु एवं पर्यटकहरुको लागि व्यवस्थापन गर्न नसकेको आरोप लगाए । भारत सरकारले कुम्भ मेला व्यवस्थापनको लागि अर्बौ रुपैयाँ लगानी गर्ने गरेको स्मरण गराउँदै एतिहासिक पर्यटकीय स्थलहरुको संरक्षण एवं सम्वर्धन लागि प्रदेश देखि केन्द्र सरकारले बेवास्ता गर्ने गरेको उनको भनाई छ ।

कार्यक्रममा पर्यटन क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका सामाजिक अभियन्ता समेत रहेका जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले मधेश प्रदेशका जिल्लाहरुमा भएका पर्यटकीय स्थल एवं पर्यटकीय सम्भावनाबारे विस्तृत रुपमा प्रस्तुतीकरण गरेका थिए ।

उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईको सभापतित्वमा भएकाे कार्यक्रममा कार्यक्रममा प्रदेश सभा सदस्यहरु रहबर अन्सारी, श्याम पटेल, जनार्धन सिंह क्षेत्री, माैलापुर नगरपालिकाकी मेयर रिना साह सहित पर्सा, बारा, रौतहटका स्थानीय तहका प्रमुख, सञ्चारकर्मी, होटल व्यवसायी, पर्यटन व्यवसायीहरुको उल्लेख्नीय उपस्थिति रहेको थियो ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज विस्कोको २८औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडले आफ्नो २८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ३ महिला सहित ३० जनाले...

वीरगंज सडक विस्तार : पूर्ण भूमीहिन भएकालाई राहतकाे लागि लगत संकलन सुरु

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारका क्रममा पूर्ण रूपमा भूमीहिन बनेका घरजग्गा धनीहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले आवश्यक पहल सुरु गरेको छ। महानगरपालिकाले शुक्रबार...

सरसफाइकर्मी कृष्ण मेस्तर्नीको निधनमा वीरगंज महानगरद्वारा शोक विदा

वीरगंज । वीरगंज महानगरपालिकाले सरसफाइकर्मी कृष्ण मेस्तर्नीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शुक्रबार शोक विदा दिएको छ। महानगरपालिकामा कार्यरत मेस्तर्नीको यही वैशाख ४ गते...