Date
बिहि, जेष्ठ २८, २०८३
Thu, June 11, 2026

खेलकुद मन्त्री श्रेष्ठद्वारा नारायणी रंगशालाकाे स्थलगत अनुगमन

spot_img
spot_img

वीरगंज । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आइतबार वीरगंजस्थित नारायणी रंगशालाकाे स्थलगत अनुगमन तथा निरिक्षण गरेका छन् । बर्षाैदेखि जीर्ण अवस्थामा रहेको रंगशालाको स्थलगत अनुगमन गर्दै मन्त्री श्रेष्ठले नारायणी रङ्गशालाको पुनर्निर्माणलाई विशेष प्राथमिकतामा राखेर बजेट व्यवस्थापनका लागि आफूले पहल गर्ने आश्वासन दिएका हुन् ।  

देशकै दोस्रो ठूलो नारायणी रङ्गशालाको पुनर्निर्माणका लागि वीरगंजबासीले मन्त्री श्रेष्ठलाई आग्रह गरे । रंगशाला अनुगमन कै क्रममा मन्त्री श्रेष्ठलाई भेटेर वीरगंजका खेल प्रेमी र अगुवाहरूले ज्ञापन पत्र बुझाउँदै नारायणी रङ्गशालाको जीर्णोद्धार र पुनर्निर्माणका लागि आग्रह गरेका हुन् । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको उपस्थितिमा पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंह लगायतले वीरगंजबासीका तर्फबाट मन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका थिए ।

विक्रम संवत् २०४२ सालमा वीरगंजवासीकै अग्रसरतामा १८ बिगाहा क्षेत्रफलमा निर्माण गरिएको नारायणी रङ्गशाला मर्मत सम्भारको अभावमा वर्षौँदेखि जीर्ण बन्दै गइरहेको छ । झन्डै ३५ हजार दर्शक अटाउन सक्ने क्षमताको रङ्गशालाका प्याराफिटहरू ठाउँ-ठाउँमा भत्किएका छन् भने पर्खालहरू पनि जीर्ण अवस्थामा छन् ।

चार वर्ष पहिले राष्ट्रिय खेलकुद परिषद्ले रङ्गशालाको जीर्णोद्धार र पुनर्निर्माणका लागि डिपिआर बनाएको थियो । त्यसमा २ अर्ब ६४ करोड रुपैयाँ लागत लाग्ने उल्लेख थियो । त्यसपछि सरकारले रङ्गशालाको पुनर्निर्माणका लागि ७ करोड रुपैयाँ मात्र विनियोजन गरेको थियो । उक्त रकमबाट पुनर्निर्माणको काम सुरु गरिए पनि रकम अभावले दुई वर्षदेखि त्यो काम रोकिएर अलपत्र अवस्थामा छ ।

आइतबार वीरगंजवासीले मन्त्री श्रेष्ठलाई बुझाएको ज्ञापन पत्रमा अलपत्र रहेको रङ्गशाला पुनर्निर्माणको काम पुन: सुरु गर्नका लागि आवश्यक रकम सरकारको आगामी आर्थिक वर्षको बजेटमा विनियोजन गरिदिन आग्रह गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै मन्त्री श्रेष्ठले यसका लागि आफूले स्थानीय सरकारसँग छलफल गरेर आगामी बजेटमा नारायणी रङ्गशालाको पुनर्निर्माणका लागि आवश्यक रकम विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

रङ्गशालाको स्थलगत निरीक्षणमा मन्त्री श्रेष्ठसँगै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य तथा सांसद मनिष झा, रास्वपाका नेताहरू मुर्ली जलान, महादेव कुर्मी, दिपराज पटेल, मुकेश पटेल लगायतको पनि सहभागिता थियो ।

रङ्गशालाको अनुगमनपछि आइतबार नै वीरगंज महानगरपालिकाको कार्यालयमा स्वागत ग्रहण गर्न पुगेका मन्त्री श्रेष्ठलाई मेयर राजेशमान सिंहले पनि नारायणी रङ्गशालाको जीर्णोद्धार र पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गरिदिन आग्रह गरे । आफ्नो कार्यकक्षमा मन्त्री श्रेष्ठलाई स्वागत गर्दै मेयर सिंहले बजेटको अभावमा रङ्गशालाको पुनर्निर्माणको काम दुई वर्षदेखि अलपत्र परेको जानकारी गराए ।

राखेपले तयार पारेको डिपीआर २ अर्ब ६४ करोड रुपैयाँ लाग्ने भनिए पनि दुई वर्ष अघि सरकारले ७ करोड मात्र रकम दिएको र उक्त रकम सकिएपछि काम रोकिएको मेयर सिंहले मन्त्री श्रेष्ठलाई अवगत गराए । मेयर सिंहले रङ्गशालाको पुन निर्माणसँगै त्यहाँ छुट्टै क्रिकेट रङ्गशाला निर्माणका लागि पनि बजेटको व्यवस्थापन गरिदिन मन्त्री श्रेष्ठसँग आग्रह गरे ।

जवाफमा मन्त्री श्रेष्ठले नारायणी रङ्गशालाको पुनर्निर्माणलाई विशेष प्राथमिकतामा राखेर बजेट व्यवस्थापनका लागि आफूले पहल गर्ने आश्वासन दिए ।

काठमाडौँको दशरथ रङ्गशालापछिको ठूलो वीरगंजकाे नारायणी रङ्गशाला जीर्णोद्धारको पर्खाइमा बसेको वर्षौँ बितिसक्यो । चार दशक पहिले निर्माण भएको नारायणी रङ्गशाला वर्षौँदेखि जीर्ण अवस्थामा पुग्दा पनि मर्मत सम्भारका लागि सङ्घ र प्रदेश सरकारले चासो नदिएको वीरगंजबासीकाे गुनासो छ ।

तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा २०३८ सालमा १७ बिघा १० कट्ठा जग्गा फुटबल, क्रिकेट र कवर्ड हल निर्माणका लागि खरिद र अधिग्रहण गरिएको थियो । २०४२ सालमा निर्माण भएको नारायणी रङ्गशालामा तत्कालीन राजा वीरेन्द्रले उद्घाटन मात्र गरेनन् तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितासमेत गराएका थिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...

खड्का र बस्नेतसहित पर्सा प्रहरीका आधा दर्जन प्रहरी निरीक्षकको सरुवा

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी इकाइमा कार्यरत आधा दर्जन प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय...