Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

रुपेशलाई गोली हान्ने समुहले यस अघि पनि बारा मै गरेका थिए अर्काे हत्या

spot_img
spot_img

वीरगंज । बाराकाे कलैयास्थित बाल एकता स्कूलका प्रधानाध्यापक रुपेश स्वर्णकारको गोली हानेर हत्या गर्ने सुटर समूहको यसअघि बारामा भएका अन्य गोली प्रहार घटनामा समेत संलग्नता देखिएको छ ।

रुपेशमाथि गोली प्रहार गर्ने सुटरहरूमध्ये भारत विहार राज्यको मोतिहारी जिल्लास्थित दर्पा थाना–१ सुक्लहिया गाउँका सुजीत कुमार सिंह, सोही स्थान बस्ने चञ्चल पाण्डे, मनिष कुमार सहनी र कामेश्वर सहनीले यसअघि पनि बाराको विभिन्न स्थानमा गोली प्रहार गरी हत्या गरेको देखिएको हो ।

सोमबार दिउँसो रुपेशमाथि गोली प्रहार गर्ने सुजीत, चञ्चल, मनिष र कामेश्वरले नै ३५ दिन अगाडि असोज ९ गतेका दिन बारा जिल्लाकै पचरौता नगरपालिका – ६ लक्ष्मनियास्थित पोखरी नजिकै भारतीय नागरिक अजित कुमार सिंहको गोली प्रहार गरी हत्या गरेका थिए । अजितको हत्या गरेर फरार रहँदै आएका उनीहरूले नै रुपेशको हत्या गरेको प्रहरीले जनाएको छ । सुजीत उक्त आपराधिक समूहका लिडर हुन् ।

बुधवार रुपेशको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जनालाई सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालय बाराले आयोजना गरेको पत्रकार सम्मेलनमा बारा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्लेले स्वयम् रुपेशको हत्या पनि सुजीत, चञ्चल, मनिष र कामेश्वरको संलग्न रहेको बताए ।

एसपी काफ्लेले बुधवार सार्वजनिक गरेको पाँच जनामध्ये कलैया – ६ मदर्शा टोल निवासी २२ वर्षीय राधा गुप्ता रुपेश हत्याको मुख्य योजनाकार भएको दाबी गरेको छ । प्रहरी अनुसन्धानका अनुसार राधाले आफ्ना अर्का प्रेमी भारतीय नागरिक मनोज गुप्तासँग योजना बनाएर रुपेशको हत्या गर्न लगाएको एसपी काफ्लेको भनाई थियो । मनोजले सुजीत समूहलाई सुपारी दिएर रुपेशलाई मार्ने लगाएको उनले बताए ।

अजित हत्याकाण्डमा समेत प्रहरीले प्रेम सम्बन्धका कारण हत्या भएको बताएको थियो । उक्त घटनामा पक्राउ परेकी भारत मोतिहारी जिल्ला दर्पा थाना – १ सुक्लहिया बस्ने वर्ष २३ को सोनम सहनी सिंहले सुजीतसँगको प्रेम सम्बन्धका कारण उनीसँग मिलेर आफ्ना पती अजितको हत्या गर्न लगाएको प्रहरीले जनाएको थियाे । 

दुवै गोली काण्डमा संलग्न रहेका सुटरहरूलाई प्रहरीले हालसम्म पनि नियन्त्रणमा लिन सकेको छैन । उनीहरू भारत भागेको प्रहरीको भनाई छ । 

सुजीत समूहले एक वर्ष अगाडि बारामा अर्का एक जनाको पनि गोली हानेर हत्या गरेको थियो । २०७९ पुस ८ मा भारतीय नागरिक  ४४ वर्षीय शिवपुजन यादवलाई पनि सुजीतको समूहले नै गढीमाई नगरपालिका–२ स्थित भुतही पुलमा गोली चलाएर मारेको थियो । शिवपुजनसँगै मोटरसाइकलमा आएका सुजीतले गोली प्रहार गरी उनको हत्या गरेर फरार भएका थिए ।

त्यस्तै समूहले २०२२ मा भारतको मोतिहारी जिल्ला दार्पा थाना ग्राम पञ्चायत–१४ का उपप्रमुखको समेत हत्या गरेको थियो  ।

भारतसँग जोडिएको सिमाबाट करिब सात सय मिटर भित्र प्रवेश गरेर यसअघि हत्या गरेको सुजीत समूहले यसपटक जिल्लाको सदरमुकाम कलैयामै पुगेर दिनदहाडै रुपेशको हत्या गरेको छ । प्रहरीकै अनुसार उनीहरू दुई वटा मोटरसाइकलमा हतियारसहित भारतबाट नेपाल प्रवेश गरेका थिए । रुपेशमाथि गोली चलाएपछि उनीहरू पुन: भारत फिर्ता गएको एसपी काफ्लेले बताएका छन् ।

सिमानाकामा नेपाल प्रहरी र साश्स्त्र प्रहरीलगायतका सुरक्षा निकायको बाक्लो उपस्थिति हुँदा समेत प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सुटरहरूले सहजै हतियारसहित नेपाल प्रवेश गरेर दिनदहाडै गोली चलाएर हत्या गर्नुले बारा प्रहरीको सुरक्षा चुनाैती बढेकाे देखिन्छ ।

प्रहरीको फितलो सुरक्षा व्यवस्थाका कारण अपराधीहरू सहजै नेपाल प्रवेश गरेर घटना घटाई पुन: भारत फर्कने गरेको स्थानीयहरूको गुनासो छ । 

कलैया – ६ मदर्शा टोलस्थित बाल एकता स्कूलका प्रधानाध्यापक ३६ वर्षीय रुपेशको गत सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा सवार भई आएका चार जना बन्दुकधारीले चार राउन्ड गोली हानी हत्या गरेका थिए । उनको केही समय पछि उपचारका क्रममा मृत्यु भएको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...