Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026

अर्काकाे नाममा कम्पनी दर्ता गराएर ढेड अर्ब राजश्व चुहावट

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. ३१ बेलवाका दुई दर्जन भन्दा बढि गरिब, विपन्न परिवारका युवाहरु अहिले राजस्व चुहावट मुद्दाको चपेटामा परेका छन् । विगत ९ वर्ष अघि जागिरको प्रलोभनमा परि काठमाडौं स्थित कम्पनी रजिष्टार कार्यालय एवं राजस्व कार्यालयमा पुगी आफै सही छाप लगाएर फर्केका युवाहरु अहिले राजस्व चुहावट मुद्दाको चपेटामा परेका हुन् ।

- Advertisement -

उनीहरुले कुन कागजातमा सही छाप लगाए ? केही जानकारी छैन । सही छाप लगाए वापत ५ हजार रुपैया बुझेको मात्रै जानकारी छ । तर उनीहरुकाे नामले दर्ता भएकाे कम्पनीले डेढ अरब राजश्व चुहावट गरेकाे आराेप छ । करिब २ दर्जनभन्दा बढि अशिक्षित, गरिब, विपन्न दलित, मुसहर समुदायका युवाहरु ५ हजार रुपैयाँको प्रलोभनमा परेर जथाभावी सही छाप लगाएको परिणाम अहिले राजस्व चुहावटको मुद्दामा परेका हुन् ।

उच्च अदालत पाटनले ति युवाहरुलाई राजस्व चुहावट गरेको आरोपमा २० लाखदेखि डेढ करोडसम्म रुपैयासम्म जरिवानाको फैसला गरेको छ । २४ जना प्रतिवादीहरुलाई राजस्व छलिको कसुरमा करिब डेढ अर्ब जरिवानाको फैसला गरेको छ ।

काठमाडौं जिल्ला अदालतमा उठाइएको राजस्व चुहावटको मुद्दा त्यहाँ टुँगो नलागेपछि उच्च अदालत पाटनमा पुगेको राजस्व चुहावट सम्बन्धि मुद्दामा छुट्टाछुट्टै फैसला सुनाएको छ । जिल्ला अदालत काठमााडैंले २४ जनालाई प्रतिवादी बनाई राजस्व चुहावटको मुद्दा चलाएको छ, र त्यहाँबाट मुद्दाको टुँगो नलागेपछि उच्च अदालत पाटनले प्रत्येक युवाहरुको छुट्टाछुट्टै फैसला सुनाएको छ ।

राजस्व चुहावट मुद्दाको चपेटामा पर्नेहरुमा बेलवाका अबुलेश अन्सारी, सद्दाम हुसेन, रिजवान अन्सारी, मनिर अन्सारी, रुस्तम अन्सारी, रुस्तम देवान, शोयब अन्सारी, ओहाव मियाँ अन्सारी, नविकरिम अन्सारी, जविउल्लाह देवान, लालु अन्सारी, आजाद अन्सारी, समसुल अन्सारी, सद्दाम हुसेन अन्सारी, कलिम अन्सारी, चन्दन माझी, रामचन्द्र झाझी, भरत माझी र रामअवतार माझी छन् ।

यसैगरि यही मुद्दामा बारा जिल्ला रामपुर टोल वडा नं. ६ निवासी नरेन्द्र कुमार महतो, वीरगंज महानगरपालिका वडा नं. १३ का चन्दन प्रसाद साह कानु, पर्सा जिल्ला सिर्सिया खलवा वडा नं. ७ निवासी सुनिल साह तुरहा, बारा जिल्ला साविक उमजन गाविस वडा नं. ६ हाल करैयामाई गाउँपालिका वडा नं. ७ निवासी गोपाल प्रसाद यादव, सोही ठाउँ निवासी सोनालाल यादव, वीरगंज महानगरपालिका – १७ निवासी हरिनारायण साह तुरहा पनि मुछिएका छन् ।

नाम उल्लेख गरिएका सबै युवाहरु रोगजारको खोजीमा भौतारिने, जहाँ ज्यालादारीमा काम पाए त्यही काम गर्ने, दिनभरि कमाउने साँझ परिवारको एकछाक टार्ने परिवारका सदस्यहरु छन् । यिनीहरुलाई बेलवाकै जलिल मियाँको छोरा तेजामुल अन्सारीले जागिर लगाईदिने प्रलोभनमा पारी काठमाडौंमा जयकिशोर साँहसँग चिनजान गराई यिनीहरुको नाममा कम्पनी दर्ता गराई अर्बोको राजस्व छलेको सुईको पनि छैन ।

जयकिशोर साह सिरहा जिल्ला राजपुर वडा नं. ५ स्थायी ठेगाना भई हाल महालक्ष्मी नगरपालिका वडा नं. १, इमाडोल ललितपुर बसोबास गरि निजी फर्महरुको लेखापरीक्षणको काम गर्ने व्यक्ति हुन् ।

जयकिशोर साहले ति युवाहरुलाई ५/१० हजार रुपैयाँ दिई कम्पनी रजिष्टारको कार्यालयमा लगि विभिन्न नामको कम्पनी दर्ता गराएर अर्बौको राजस्व छलेको जिल्ला अदालत एवं उच्च अदालतको मिसिलमा उल्लेख गरिएको छ ।

अदालतले फैसला सुनाएपछि स्थायी घर भएका जिल्ला अदालतबाट गाउँमा पत्र आएपछि मात्रै ति युवाहरुलाई आफ्नो नाममा कम्पनी दर्ता भई करोडौंको राजस्व छलि भएको पत्ता लाग्यो । अहिले आरोपित सबैंको परिवारमा बज्रपात भएको छ । ९ वर्ष अघि ५ हजार रुपैयाँको लागि कागजात नै नपढि सही छाप लगाएको नतिजा सुनेपछि रुखको हाँगाबाट खसेझै गाउँ नै चिन्तामा परेको छ ।

दैनिक ३ देखि ५ सय रुपैया कमाउने परिवारले लाखौं करोडौं राजस्व छलिको जरिवाना कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ । बस्ने घर छैन, खाने ठेगान छैन, दिनमा काम गरिएन भने साँझ भोकै सुत्नुपर्छ, बालबच्चाहरुलाई लगाउनको लागि लुगा छैन, सुत्नको लागि खाँट छैन, घरको अगाडिबाट कुकुर प्रवेश गर्छ, पछाडिबाट निस्किन्छन्, यस्ता परिवारका सदस्यमाथि करोडौं राजस्व छलि आरोपमा मुद्दा चलेको छ ।

यस घटनाका पीडितहरुको एउटै भनाई छ, आफूलाई केही जानकारी छैन । भोकै बस्नुभन्दा दुई पैसा कमाएर परिवारलाई पाल्नु उनीहरुको सोचलाई पनि गलत भन्न सकिँदैन । तर त्यस्ता व्यक्तिलाई गुमराहमा पारि अपराध गर्ने ति अपराधीहरुलाई सम्बन्धित निकायले कठालो समातेर ल्याउन सक्नुपर्छ ।

खानमा धौ धौ परेका बखत परिवारलाई पालन पोषण गर्नका लागि जागिरको प्रलोभन देखाई काठमाडौं लगिएका बेलवा निवासी अबुलेश अन्सारी आफूले नगरेको गल्तीको सजाय भोगि रहेका छन् । उनीमाथि राजस्व चुहावटको मुद्दा चलि रहेको छ भने उच्च अदालत पाटनले राजस्व चुहावट गरेको अभियोगमा २० लाख ५९ हजार ७७८ रुपैया जरिवानाको फैसला गरेको छ ।

६ वर्ष अगाडि काठमाडौं गएको बखत गाउँकै तेजामुलसँग सापटी पैसा माग्दा तेजामुल र परमेश्वर आफ्नो नागरिकता लिएर केही कागजातमा सही छाप गराएको पिडित अबुलेश अंसारीले बताए । उनले एकदिन कम्पनी रजिष्टारको कार्यालयमा, दोश्रो दिन आन्तरिक राजस्व कार्याल तथा तेश्रो दिन बैंकमा लगेर सही छाप गराएको बताए ।

शंका लागेपछि ३ महिना पश्चात बुझ्न जाँदा त्यहाँ आफ्नो नाममा कम्पनी दर्ता रहेको पाएपछि त्यही बेलादेखि यस घटनालाई उजागर गर्न चाहेको तर असफल रहेको उनको भनाई छ । यस घटनामा आफ्नो गाउँको २७ जना युवाहरु फसेको उनको भनाई छ ।

सोही ठाउँका भरत माझी पनि आफूले नगरेको गल्तीको सजाय भोगि रहेका छन् । उनीमाथि राजस्व चुहावटको आरोपमा उच्च अदालत पाटनले जरिवानाको फैसला सुनाएको छ । उनले पनि विगत ५ वर्ष अगाडि अपरिचित व्यक्तिको प्रलोभनमा परि काठमाडौंमा गई केही कागजातहरुमा सही छाप लगाएर ३ हजार रुपैया लिएर फर्केको दिन स्मरण गरे । यसरी फसिन्छ भन्ने आफूलाई अनुमान समेत नरहेको भन्दै माझीले आफ्नो गरिब, मजबुरी तथा बेरोजगारीको फाइदा लिई आफूले गर्दै नगरेको काममा फसाइएको बताए ।

रामचन्द्र माझीले पनि सोही कुरालाई दोहर्‍याए । ५ हजार रुपैयाको प्रलोभन देखाई काठमाडौं लगि केही कागजातहरु सही छाप गराएर पठाएको बताए । कारोना महामारीको बखत एक रुपैया कमाउन धौ धौ परि रहेको अवस्थामा २ दिनको लागि ५ हजार रुपैया दिने प्रलोभन देखाई नागरिकता लिएको र केही कागजातहरुमा सही छाप गराई पठाएको बताए । कुन कार्यालयमा र के कागजातमा सही छाप गराए आफूलाई केही जानकारी नभएको बताए ।

सोही ठाउँ निवासी चन्दन माझीले एकदुई दिनमा चिनजान भएको वीरगंजका एक व्यक्तिले काठमाडौं लगि २ दिन राखी घुमाउने बहानामा केही कागजातहरुमा सही छाप लगाएको बताए । आफूलाई थाहा नभएको कार्यालयमा लगि १८ पटक, अर्को कार्यालयमा २० पटक, अर्को कार्यालयमा ३२ पटक, पुनः अर्को ठाउँमा ३२ पटक सही छाप गराएर ५ हजार रुपैयाँ दिएर वेपत्ता भएको र त्यस पश्चात आफूले गाडी समातेर वीरगंज फर्केको स्मरण गराए । आफूलाई केही जानकारी नभएको र दुई छाक भोक टार्नको लागि कागजात नै नबुझी हस्ताक्षर गरेकोले यस्तो अवस्था सृजना भएको बताए ।

यो उदाहारण मात्रै हुन्, एकै गाउँका यस्ता तीन दर्जन भन्दा बढि युवाहरु राजस्व छलि मुद्दाको चपेटामा परेका छन् । यसरी बेरोजगार, अशिक्षित, गरिबी तथा असहाय युवाहरुलाई प्रयोग गरि दर्जनौं नक्कली फर्म दर्ता गरी अर्बौको राजस्व छलि गर्ने गरेको घटनाहरु बाहिरिन थालेको छ । यस्ता कामहरु विगत ९ वर्षअघि देखि नै शुरु भएपनि हाल आएर करोडौं राजस्व छलि भएपछि मुद्दा दर्ता, फैसला भएपछि मात्रै सार्वजनिक हुन थालेको छ ।

बस्ने घर छैन, खाने ठेगान छैन, दिनमा काम गरिएन भने साँझ भोकै सुत्नुपर्छ, बालबच्चाहरुको जीउमा कपडा छैन, सुत्नको लागि खाँट छैन, एकदिन काम नगरे खाना पाउँछ कि पाउँदैन ग्यारेन्टी छैन तर यस्ता परिवारका सदस्यमाथि अर्बौै राजस्व छलिको आरोपमा मुद्दा चल्दैछ ।

उनको नाममा अर्बोको कारोबार भएको छ । अदालतले कागजमा कारोबार भएको देखेर फैसला सुनाई कसुरदार प्रमाणित गरेको छ, जरिवाना पनि ठोक्यो तर तिर्ने कसले ? जसको नाममा त्यत्रो कारोबार भएको छ, यसलाई त सुईको पनि छैन । गर्नेले अर्बो राजस्व छलेर गरिबको टाउकोमा थुपार्यो । कागजमा उ अब्बल छ, तर जागिरको प्रलोभनमा परेकोहरुको जीवन नै दाउमा छ ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

८ वर्षदेखि सडक निर्माण अलपत्र: निर्माण कार्य तत्काल सम्पन्न गर्न र दोषीमाथि कारबाही गर्न माग

वीरगंज । वीरगंज महानगरपालिका–२० हरपतगञ्जका स्थानीयवासीहरूले ठेकेदारको लापरवाहीका कारण ८ वर्षदेखि सडक निर्माण कार्य अलपत्र परेको भन्दै तीव्र आक्रोश व्यक्त गरेका छन्। स्थानीयका अनुसार ८...

छिपहरमाई गाउँपालिकाका कर्मचारीद्वारा दोस्रो दिन पनि धर्ना

वीरगंज । तलबको माग गर्दै पर्साको छिपहरमाई गाउँपालिकामा कार्यरत कर्मचारीहरूले मंगलबार दोस्रो दिन पनि गाउँपालिका कार्यालयमा धर्ना दिएका छन्। गाउँपालिका तथा वडा कार्यालयहरूमा कार्यरत करारका...

वीरगंज उद्योग वाणिज्य संघद्वारा अनिवार्य एमआरपी व्यवस्था खारेज गर्न सरकारसँग माग

वीरगंज । वीरगंज उद्योग वाणिज्य संघले विदेशबाट आयात गरिने तथा नेपालबाट विदेशमा निर्यात गरिने सामानमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने सरकारी...