आनन्द पटेल /
परवानीपुर । “बगियासे फुलवा लोर के लियाएम, बाबा बैजु के चढाएम, बाबा फेर दिना भक्तनपर नजरिया अईनी रउवा दुवरीया ना” हम त गंगाजल लियाएम, बाबा बैजु के चरण पखारेम, बाबा फेर दिना भक्तनपर नजरिया, भिखरिया बनके अईनी रउवा दुवरिया ना । भिखरिया बनके अईनी रउवा दुवरिया ना”

यी शब्दहरु परवानीपुर गाउँपालीका वडा नं ५ बहुअरी बस्ने हिरमती देवी पासवानले यो साल गाएको तीज गीतका शब्दहरु हुन् । यसपाली हिरमती देवी पासवानको तीज अरुको भन्दा फरक भयो । हिरमति देवी मात्र होइन यो पटक निलम देवी पासवानको तीज पनि अरुको भन्दा र पहिलेको भन्दा फरक रह्यो ।
किनकि यसपाली निलम देवी पासवानले आफ्नै घरमा तीजको कार्यक्रमको आयोजना गरिन् जहाँ हिरमति देवीले यिनै शब्दहरुलाई आफ्नै भोजपुरी भाकामा लय हालिन् । उनीहरुलाई यस टोलका मैलासी देवी पटेल, सबरानी देवी पासवान, सिमिन्त्री देवी राम, आशा देवी पासवान, मनिसा देवी पासवान, शोभा देवी पटेल, सिया देवी पासवान, धनमती देवी राम, पूजा देवी पटेल, अन्तिमा देवी यादव लगायत सबै समुदायका महिलाहरुले साथ दिए ।
यसपालीको तीज उनीहरुले निलम देवी पासवानको घरमा एक साथ मिलेर गीतसंगीत र नाचगान गरेर मनाए ।
पछिल्लो केहि समय यता मधेशमा पनि तीज पर्वको रौनक बढ्दो छ र तीज मनाउनेहरुको संख्या बढ्दै गएको छ । हुन त नेपालभर तीजको रौनक त उत्तिकै थियो तर बहुअरीका महिलाहरुले यो पटक मनाएको तीज भने धार्मिक र सामाजिक सबै हिसाबमा फरक र उदाहरणीय थियो ।
यहाँ बिहानै उठेर नुहाई, धुवाई गरेर आफ्ना घर आँगन सफा गरिसकेपछि साँझ पख नयाँ लुगा लगाएर बहुअरी टोलका महिलाहरु शिव भगवानको कथा सुन्न सबै जना एक ठाउँमा जम्मा हुने चलन छ । यसको निरन्तरताको लागि पूजापाठ गर्न र भगवान शिवको कथा सुन्न व्यवस्था मिलाउने जिम्मा भने यो तीजमा निलम देवी पासवानको थियो ।
उनले यो व्यवस्था आफ्नै घरमा मिलाईन् । उनी भन्छिन् ‘एक हप्ता पहिला सेही हमरे घरमे पूजा करेके टोलके सब महिला लोग कहलासे अपने घरमे पूजापाठके ब्यवस्था मिलावल बतईली”। ‘उ खुशी होत कहली हमनीके दलित जाती लोग के घरमे बिगत २ वरिर्ष से तीज लगायत और भी पूजापाठ के कार्यक्रम सभी समुदायके लोग हमनी सबसे मीलकरके करत अईलासे हमनी दलित सब बहुते खुशी रहल दलित महिला निलम देवी बतईली’ ।
अन्त दलितले छोएको पानी नचल्ने, मन्दिर भित्र छिर्न नपाइने भनिरहँदा यहाँका महिलाहरुले भने अस्तित्वलाई स्वीकारेको यो उदाहरण यसपालिको तीजको सम्भवत सबै भन्दा सुन्दर उदाहरण मान्न सकिन्छ । को दलीत, को ठूला जाती, को धनी, को गरिब तीजको रमझममा पनि उनीहरुले कसैलाई विभेद गरेनन् ।
हुन त तीजमा आफ्नो श्रीमान् र परिवारको सुस्वास्थ्य र समृद्धिको लागि व्रत बस्ने पौराणिक कारणहरु भए पनि यो ठाउँका महिलाहरुले भने खासगरी यो चाडमा जातिय विभेदको खराब प्रवृत्तिलाई अन्त्य गर्ने व्यवहारिक उदाहरण दिएका छन् ।
उनीहरु भन्छन ‘यस पालीको तीजमा यहाँ कुनै पनि किसिमको जातीय विभेद, छुवाछुत, भेदभाव लगायतका क्रियाकलापहरु भएन । ‘परवानीपुरको बहुअरीका महिलाहरुको यो सामाजीक एकताले नेपाली समाजमा एउटा नयाँ विश्वासको भावना जागेको स्थानीय पानमती देवी बताउँछिन् ।
उनले यो ठाउँको महिलाहरुको यो एकताले समाजमा जातीय विभेद अब बिस्तारै घट्दै जानेमा आशा पलाएको पनि बताईन् । पछिल्लो दिनको भन्दा अहिलेको दिनहरुमा खासगरी यस समुदायका मानिसहरुमा एकताको विकास भएको र एक अर्का प्रतिको विश्वासको वातावरण अझ बढ्दै गएको उनीहरुको यो क्रियाकलापले देखाएको छ ।
तीजको बहानामा उनीहरु सबैसँगै हाँसे, रमाए, गाए र नाचे । उनीहरुको त्यो हाँसोमा परिवर्तनको उत्साह थियो जसको उमंगमा उनीहरुले मिलेर रमाए, विभेदका अनेक रङ्गहरुलाई चुनौती दिँदै के पासवान, के पटेल, के यादव एकै स्वरमा गाए, एकै तालमा नाचे ।
सम्भवतः यस्तो दृश्य बारा जिल्ला त के नेपाल मै पनि कमै देख्न पाईन्छ । किनकि उहिले देखि चलि आएको जातीय विभेद हटाएर यसरी सबै एकै ठाउँमा आउन धेरैलाई हम्मे हम्मे पर्ने समाज हो नेपाली समाज । तर परवानिपुरको यो उदाहरण एउटा सुन्दर सुरुवात हो समुदायबाटै जातीय विभेदको अन्त्य र व्यावहारिक रुपमा समानता स्वीकार्नको लागि । उसै पनि हाम्रा चाडबाडहरुले सामाजीक एकता र एक आपसमा मिलेर बस्ने भन्ने संदेश पनिदिने गर्दछ ।
जातीय विभेद नेपाली समाजको उहिलेदेखि चलिआएको एउटा ठूलो समस्या हो । आजसम्म मधेश प्रदेशमा पनि जातीय विभेद र विशेष छुवाछुत कायम नै छ । यहाँ जातीय विभेदका थुप्रै घटनाहरु दिनहुँ घटिरहेको हुन्छन् । प्रायः दलितहरु माथि नै बोक्सीको आरोप लाग्ने, दलितहरुले दिएका खाने कुराहरु खान नमान्ने, उनीहरुले छोएका पानी नखाने, सँगै बस्न, खेल्न, पूजापाठ गर्न, घुम्न हुन्न भन्ने, भोज भतेरमा नबोलाउने र उनीहरुकोमा पनि नजाने, सामूहिक सभा, बैठकहरुमा दलितहरुलाई समावेश नगराउने लगायतका थुप्रै घटनाहरु दिनहुँ जसो हामीले समाचारहरुमा सुन्ने अथवा पढ्ने गरेका छौं ।
यती मात्र होईन विद्यालयमा समेत दलितका छोराछोरीहरुले अवहेलना र दुःख पाउने अनेकन घटनाहरु समाचारहरुमा आईरहन्छ । तर यस्ता घटनाहरुका बावजुद पनि यी महिलाहरुले गरेका सामूहिक तीज कार्यक्रमले सामाजीक एकता र एक आपसबीचको माया र प्रेमलाई समुदाय स्तरमै थप बलियो बनाएको छ ।
जुन समुदायसँग मान्छेले घृणा गर्थे आज त्यही समुदायका व्यक्तिहरुसँगै बसेर पूजापाठ गर्नु साँच्चीकै अब हाम्रो समाज नयाँ दिशातिर गईरहेको हो कि भन्नेमा समाजसेवी प्रमोद यादव आशावादी छन् । यी महिलाहरुले तीज पर्व सँगै मनाएर समाजमा जातपातमा गलत सोच राख्ने मानिसहरुको सोँच र विचारलाई बदल्न मजबुर गर्ने कुरामा उनी विश्वाश गर्छन् ।
तीजमा मात्र होईन केही दिन अगाडि कृष्ण अष्टमीको अवसरमा पनि यो टोलका सबै युवाहरु मिलेर सात दिसम्म दिनरात पूजापाठ गरेर कृष्ण अष्टमी मनाएका थिए ।
कृष्ण अष्टमी पूजाको स्मरण गर्दै स्थानीय उमेश पटेलले भने ‘कृष्ण अष्टमी मनाउनका लागि हामी यस टोलका सबै युवाहरु एक ठाउँमा जम्मा भई आपसमा समन्वय गरेर धुमधामका साथ यो पर्व मनायौं । यस पूजामा दलीत समुदायका अगुवा महन्थ हजरा, यूवाहरु मुकेश पासवान, फुलमती देवी राम, सागरित राम, उदेश पासवान, रबी पासवान, प्रकाश पासवान, बिकास पासवान लगायतको पनि विशेष सहयोग रह्यो ।
‘महिलाहरु मात्र होइन यहाँ युवाहरु पनि यस्तो कुराहरुमा सकारात्मक रहेछन् भन्ने यो कृष्ण अष्टमीको पूजा उदाहरण हो ।
‘केही वर्ष अगाडि यही समाजमा हामी दलितहरुसँग ठूला जातका मानिसहरु बस्न नचाहने, हामीले दिएको खानेकुरा नखाने, हामीले छोएको पानी समेत अशुभ मान्ने, आफ्ना बालबच्चाहरुसँग हाम्रा बालबच्चाहरु खेलाउन नचाहने, गाउँमा यज्ञ वा महायज्ञ हुँदा हामी दलीतहरुलाई पूजापाठमा समावेश नै नगराउने चलन थियो’, स्थानीय निलम देवी पासवानले आफूहरुले पहिला पहिला भोगेको सामाजीक दुःखेसो पोखिन् ।
विभेदका घटनाहरु सम्झदा उनको मन अझै पनि भारी भएर आउँछ । उनले थपिन्, ‘यती मात्र होईन पठन पाठनमा समेत हाम्रो छोराछोरीहरुसँग पढ्न नबस्ने, खेल्न नचाहने लगायतका थुप्रै तीतो घटनाहरु हामीहरुसँग घटेको छ । तर लामो समयपछि देशमा नयाँ संविधान आईसकेपछि हामी दलीतहरुले पनि राजनीतिक रुपमा सहभागिता जनाउन थालेपछि हामीसँग ठूला जातका मानिसहरुले गर्ने व्यवहारमा अहिले त बिस्तारै भए पनि परिर्वतन आउन थालेको छ ।
पहिलाको व्यवहार र अहिलेको व्यवहारमा त निकै फरक छ नि । समाज आखिर हाम्रै त हो । ढिलै भए पनि सबैले सबैलाई सम्मान गर्दा राम्रो लाग्छ ।‘
देशमा नयाँ संविधान आईसकेपछि अहिले तीन तहको सरकारमा दलितहरुको पहुँच पनि बिस्तारै राजनीतिमा बढ्न थालेपछि दलितहरुसँग गर्ने विभेदमा कमी आएको सिया देवी पासवानको भनाई छ । ‘खासगरी स्थानीय निर्वाचनमा दलीतबाट एकजना जनप्रतिनिधी अनिवार्य निर्वाचित हुने संविधानमै व्यवस्था भएपछि हामी दलीतहरुको मनोबल बढेको र ठूलाजातकाहरुले आफूहरुसँग गर्ने व्यवहारमा ठूलो परिर्वतन ल्याएको’ सिया देवी पासवान बताउछिन् ।
‘कुनै समयमा हामी दलीतहरुलाई कुनै पनि कार्यक्रम वा सामाजीक बैठकमा बोलाउदैन थिए, तर अब हाम्रो समुदायबाट पनि जनप्रतिनिधि हुनुपर्ने व्यवस्थाले हाम्रो आत्मसम्मान पनि बढ्न थालेको छ ।‘ यो व्यवस्थाले पनि धेरै कुराहरु परिवर्तन भएको स्थानीय धनमती देवी रामको भनाई छ ।
त्यसैको उदारण हो यो तीजको व्रत
दलित समुदाय त यो समाजको आफूहरु प्रतिको परिवर्तित व्यवहारबाट खुशी छन् । दलित समुदाय प्रतिको हेराई र व्यवहारमा परिवर्तन गर्दा अर्को समुदायकाहरुले चाहिँ कस्तो महसुश गर्दै छन् त भनेर हामीले मैलासी देवी पटेलसँग कुरा गरेका थियौं ।
उनको विचारमा ‘हामी मानिस सामाजीक प्राणी हौँ, जसरी हामी खाना खान्छौं त्यसरी दलीतहरु पनि खान्छन् । हाम्रो रहन सहन र उनीहरुको रहन सहनमा कुनै पनि किसिमको फरक नै छैन भने उनीहरुसँग हामी किन भेदभाव गर्ने, जातीय छुवाछुत किन मान्ने ? हामी तीज व्रत मात्र होईन, सादी विवाहमा पनि एक अर्काको साथ र सहयोग गर्छौं, सँगै खाना खान्छौं, काम गर्छौं, पूजापाठ गर्छौं ।
अहिले हामी बीचमा कुनै पनि किसिमको छुवाछुत वा जातीय विभेद छैन । यती मात्र होइन खेत, खलिहान या कुनै पनि सामाजीक कार्यमा हामी सबै महिलाहरुसँगै मिलेर काम गर्छौं ।‘
यस्तै आशा देवीको अनुसार यसपाली तीजको दिन उनीहरुको टोलमा महिलाहरुको मनोरन्जनको लागि सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । जसमा अधिकांश दलीतहरुकै छोराछोरिहरुले भाग लिएका थिए ।
यसैगरी शोभा देवी पटेल भन्छिन‘ यस टोलका हामी सबै महिलाहरु मिलेर एउटा पैसा जम्मा गर्ने समूह बनाएका छौं । जसमा हामी भन्दा दलित समुदायकै महिला, दिदिबहिनीहरुको संख्या बढी छ । हामी समूहमा दुई पैसा जम्मा गरेर कसैलाई कुनै आवश्यक काम पर्यो जस्तै कसैको घरमा सादी विवाह पर्यो, कसैका छोराछोरी नै बिरामी परे या कुनै साना किराना पसल नै खोल्नु पर्यो भने हामी जम्मा गरेको पैसाबाट नै सापटी दिएर एक अर्कालाइ सहयोग गर्ने गर्छौं ।
यसबाट हामी महिलाहरुलाई आर्थिक भार पनि कम पर्छ र समयमै सहयोग पाईन्छ ।‘ बहुअरीका महिलाहरु उनीहरुले सुरु गरेको यो सामाजिक एकताबाट प्रशन्न छन् ।
यसै सन्दर्भमा स्वच्छ समाज यूवा क्लबका अध्यक्ष भुपेन्द्र पटेलसँग कुराकानी गर्दा उनी भन्छन्, ‘यस बहुअरी टोलमा जातीय विभेद वा दलीतहरुसँग गरिने व्यवहारमा कुनै पनि किसिमको भेदवाभ छैन । हामी सबै समुदायका मान्छेहरु मिलेर बसेका छौं । बारा जील्लामै यो टोल सब भन्दा शिक्षित गाउँको रुपमा परिचित रहेको र यो गाउँमा दलीत समुदायका छोराछोरीहरु समेतले उच्च शिक्षा हासिल गरिरहेको हुनाले यहाँ एक अर्कासँग घृणा गर्ने खालका घटनाहरु एकदम कमै हुने गरेको छ ।‘
करिब चार सय जति दलीत बस्ती रहेको यो टोलमा जातीय छुवाछुतका घटना निकै कम हुने गरेको र भएका घटनाहरु समाजमै बसेर समाधान समेत भएको समाजसेवी सरोज यादव बताउनु हुन्छ ।
‘मेरो श्रीमान सरकारी जागिरको कारण प्राय बाहिर नै बस्नु हुन्छ । मेरो घरमा अहिले म र दुईजना छोरीहरु मात्र छौं । एक त म महिला त्यसमा पनि दलीत । घर चाहिँ कसरी चलाउने भन्ने प्रश्न मनमा बारम्बार उठ्थ्यो तर यही समाजका अरु ठूला जातका महिला दिदीबहिनीहरुले मलाई साथ र सहयोग गरेपछि म हौसिएँ । घर चलाउनमा अहिले कुनै किसिमको समस्या छैन’ , सबरानी देवी पासवान बताउँछिन् ।
उनी थप्छिन् ‘यती मात्र होईन कुनै बेला घरमा ग्यास सकिन्छ, कुनै बेला बच्चाहरु नै बिरामी पर्छन्, कुनै बेला आफूलाई नै बजारमा आवश्यक काम पर्छ । यी सबै मेरा समस्याहरु टोलका दाजुभाई र दिदीबहिनीहरुले गर्दा नै सजीलै तरिकाले समाधान भईरहेको छ । मलाई महसुस नै हुँदैन कि म एक दलीत महिला हुँ भनेर । किनकी हामी साना जातकाको ठूला जातका सबै समाजमा एक आपसमा मिलेर बस्छौं । हामी शान्त र एक आपसमा मिलेर कसरी बस्न सकिन्छ भन्ने बारेमा प्रायः छलफल गरिरहन्छौं ।‘
सबरानी देवी पासवानलाई मात्र होइन यसै टोलका हरिन्द्र पासवानलाई पनि अप्ठ्यारो परेको बेला अन्य जातका छिमेकीहरुले सहयोग गरेका छन् । उनी एउटा दुखद घटना सम्झन्छन् ‘एकदिन म गाडी दुर्घटनामा परें । सुरुमा त सानो चोटपटक मात्र त हो भनेर औषधी पसलबाट मैले औषधी किनेर ल्याएँ । खाना खाईसकेपछि त्यो औषधी खाएर सुतें । त्यतीबेला मेरो श्रीमती माईती गएकी थिईन् । घरमा दुईजना छोरीहरु, सानो छोरा र म मात्र थिएँ ।
त्यो दिन रातको १२ बजे एक्कासी मेरो पेट जोडले दुख्न थाल्यो । पेटको दुखाईले म छटपटाउन थालें ठीक त्यही समयमा मेरो एकजना छिमेकी धरमेन्द्र पटेल र भोला पटेल मलाई के भयो भनेर हेर्न आए र मेरो त्यो हालत देखेर उनीहरु दुवै जना मिलेर मलाई मोटरसाईकलमा बसाएर अस्पतालमा पुर्याए र रातभरी म सँगै बसे । बल्ल पछि मेरो घरका सदस्यहरुले यो घटनाको बारेमा थाहा पाए ।
त्यो बेला जब म दुःखको घडीमा थिएँ त्यही अन्य जातका दुईजना भाईहरुले मेरो ज्यान बचाए । चाहेको भए उनीहरुले मलाई यो दलित हो, यसलाई हामी किन सहयोग गर्ने भनेर छोड्न पनि सक्थे तर उनीहरुले त्यसो गरेनन् र मेरो ज्यान बाच्यो ।‘
यती मात्र होईन गत वर्ष हरिन्द्र पासवानले आफ्ना छोरीको बिहे पनि धुमधामले गरे । त्यसमा पनि यही समुदायका छिमेकीहरुले उनलाई परेको सहयोग गरेका थिए । ‘अरुको नजरमा जातीय छुवाछुत होला तर हाम्रो टोलमा छुवाछुत के हो, हामीलाई कुनै फरक पर्दैन’, उनी भन्छन् ।
यस्तै आशा देवी पनि आफ्नो ठूला जातका छिमेकीहरुले लगाएको गुण कहिल्यै बिर्सिदिनन् । उनी सम्झिन्छिन् ‘दुई महिना अगाडि मधेशमा पानीको हाहाकार थियो । हाम्रो पनि धारा सुकेर सार्है गाह्रो भएको थियो । हामी छिमेकीको घरमै पुगेर पानी ल्याउथ्यौं । उहाँहरुले कहिले हामीसँग छुवाछुतको भेदभाव गर्नु भएन ।‘
बहुअरीमा यस्ता थुप्रै कथाहरु छन जुसले दलित र अन्य समुदायहरुबिच एकता, सद्भाव कायम गरिरहेको सुन्दर उदाहरणहरु झल्काउँछ ।
यसै सन्दर्भमा पूर्व प्रध्यापीका शान्ती देवी भन्छिन्,‘अबको यूग वैज्ञानीक हिसाबले निकै अगाडि बढिसकेको र समाजमा एकता र मिलेर काम गर्ने वातावरण भएन भने अब बाँच्न गाह्रो हुने छ ।‘ हामी सामाजीक प्राणी भएको हुनाले समाजमा जहिले पनि सबैसँग सरल व्यवहार गर्नुपर्छ भन्ने उनको बुझाई छ ।
२०७९ को स्थानीय निर्वाचनमा दलित समुदायबाट वडा सदस्यमा निर्वाचित भएकी उषा देवी रामसँग पनि हामीले यो बारेमा कुरा गर्यौं । उनी भन्छिन् ‘यो गाउँमा हामी दलीतहरुको संख्या चार सय जतीको हराहारीमा छ , म स्थानिय निर्वाचनमा भाग लिँदा मलाई आठ सय जति भोटको आवश्यकता थियो र मलाई यही गाउँका अरु समुदायका मतदाताहरुले अधिक मत दिएर जीताए ।
निर्वाचिन भएपछि आज म यस गाउँको हरेक बैठक, सभा, गोष्ठी आदिमा निरन्तर सहभागिता जनाउँदै आएकी छु ।‘ यसै विषयमा वडा नं ५ का वडा अध्यक्ष रामेश्वर साह कलवार भन्छन ‘हामीबीच अहिले कुनै किसिमको जातीय भेदभाव छैन । यो गाउँ पहिलेको तुलनामा अब चाहिँ धेरै सुधार भएको र समाजमा एक किसिमको एकताको प्रभावहरु देखा पर्न थालेको छ । चाहे त्यो जातीय हिसाबमा होस्, या धार्मिक हिसाबमा ।
मुस्लीमहरुको पर्व ईद, बकरिद या कुनै दलित समुदायका मानिसको घरमा भोज भतेर नै किन नहोस् हामी जनप्रतिनिधी देखि लिएर अरु समुदायका मानिसहरु समेतले उत्साह पूर्वक सहभागिता जनाउदै आएका छौं ।‘
यति मात्र होइन मुस्लीम समुदायका मानिसहरु पनि हिन्दुका घरमा जाने गरेको पाईएको छ । जस्तैः दशै, तिहार, छठ, होली आदि पर्वमा हरेक समुदायका मानिसहरु एक अर्काको घरमा जाने गरेको र एक अर्कालाई साथ र सहयोग गर्दै आएको यूवा नेता सन्जु साहको भनाई छ ।
जातीय विभेद र छुवाछुतको सम्बन्धमा कानुनमा चाहिँ के छ त भनेर अधिवक्ता त्रिलोक प्रताप सिंहसँग बुझेका थियौं । उनको अनुसार जातीय छुवाछुत, भेदभाव तथा अन्य अपमान जन्य व्यवहार सम्बन्धी दण्ड र सजायको व्याख्या नेपालको संविधानमै गरिएको छ ।
छुवाछुत तथा भेदभाव विरुद्दको हकः कुनै पनि व्यक्तिलाई नीजको उत्पति, जात, जाती, समुदाय, पेशा, व्यवसाय वा शारिरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन । यस धाराको प्रतिकुल हुनेगरी भएका सबै प्रकारका छुवाछुत तथा भेदभाव जन्य कार्य गम्भीर सामाजिक अपराधका रुपमा कानुन बमोजिम क्षतिपूर्ती पाउने हक हुनेछ ।
भेदभावपूर्ण व्यवहार गर्न नहुनेः कानुनमा अन्यथा व्यवस्था भएको बाहेक कानुन बमोजीम अधिकार प्रयोग गर्ने अधिकारिले त्यस्तो अधिकार वा सामान्य कानुनको प्रयोग गर्दा उत्पति, धर्म, वर्ण, जात, जाती, लिङ्ग, शारिरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिती, वैवाहिक स्थिती, आर्थीक अवस्था, वैचारिक अवस्था वा यस्तै अन्य कुनै आधारमा कुनै पनि नागरिक माथि जानीजानी भेदभावपूर्ण व्यवहार गर्नु हुँदैन । उपदफा (१) बमोजीम कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजारसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
अधिवक्ता सिंहको अनुसार राज्यको सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धन्तको आधारमा सहभागी हुने हक हुनेछ । सार्वजनिक सेवा लगायत रोजगारीका अन्य क्षेत्रमा दलित समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका लागि कानुन बमोजीम विशेष व्यवस्था गरिने छ ।
दलित हुँ, सानो जातीको हुँ भन्दैमा कसैसँग डराउनुपर्ने, लाज मान्नु पर्ने,आफूलाई कोश्ने, आदि आफ्नो आत्म सम्मानमा ठेस पुर्याउने कुनै पनि किसिमको काम कसैले पनि गर्नु हुँदैन भन्ने विचार स्थानीय अच्छेलाल रामको छ ।
उनी भन्छन् ‘हामी दलितको घरमा जन्मीदा के यो पाप हो ? के हामी दलितलाई यो संसारमा सम्मान पूर्वक बाँच्ने अधिकार नै छैन र ? पक्कै छ । अहिले त नेपालको संविधानले पनि सबैलाई सम्मान पूर्वक बाँच्न पाउने अधिकार दिईसकेको छ ।
आखिर हामी को हौँ र यो नमान्ने ? यही छिमेकी देश भारतमा एक जना दलीत महिला देशकै सर्वोच्च पदमा बसेर ईतिहास रचेकी छिन् । उहाँहरुको यो कथाबाट हाम्रो समाज पनि बदल्न जरुरि छ । आज विश्वको प्राय देशमा दलितहरु उच्च पदमा बसेर काम गरिरहेका छन् र दलितका छोराछोरीहरु पनि सरकारी जागिरमा नाम निकालेर अब्बल ठाउँमा पुग्न थालेका छन् ।
एक दिन यो पनि आउँछ कि एक जना दलितका छोराछोरीले यो देशको प्रधानमन्त्री बनेर देश चलाउने छन् । ज्ञान, प्रगति जातले होइन अवसरले मापन गर्ने हो । अब कुनै पनि नाममा विभेदका कुराहरु हट्नुपर्छ नत्र अगाडि धेरै पुस्ताले फेरि अझैँ विभिन्न बहानामा पछि पारिनेछन । अब यो देशमा छुवाछुत र विभेद होईन बरु विकास र समृद्धिको बारेमा बहस हुन जरुरी छ ।‘


