Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

असुरक्षित रूपमा हुने गर्भपतनलाई न्यूनीकरण गर्नु पर्ने सुझाव

spot_img
spot_img

वीरगंज ।  असुरक्षित रूपमा हुने गर्भपतनलाई न्यूनीकरण गर्नुपर्ने वीरगंजमा शनिवार भएको एक छलफलले निष्कर्ष निकालेको छ ।

अन्तर्राष्ट्रिय सुरक्षित गर्भपतन दिवसका अवसरमा ‘युवा’ नामक एक संस्थाले वीरगंजमा आयोजना गरेको प्यानल छलफलका वक्ताहरूले सुरक्षित रूपमा गर्भपतन गर्न प्रेरित गर्नुपर्नेमा जोड दिए । 

वीरगंज ओम हस्पिटलका निर्देशक स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जगतदीप पटेलले वीरगंजका ४ वटा स्वास्थ्य संस्थाले मात्रै सुरक्षित गर्भपतनका लागि कानुनी मान्यता प्राप्त गरेको बताए । यद्यपि करिब ६५ वटा ठाउँबाट असुरक्षित गर्भपतन भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

वीरगंज महानगरपालिकाकी नर्सिङ अधिकृत इन्दिरा लोहनीले सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउने क्षेत्रमा महानगरले पनि काम गरिरहेको जानकारी गराइन् । सचेतना जगाउनेदेखि महानगर मातहतका स्वास्थ्य चौकीमा आउनेहरूलाई अनुमति प्राप्त ठाउँमा जान सल्लाह दिने गरेको उनले बताइन् ।

मेरी स्टोप्स वीरगंजका इन्चार्ज सुरेश ठाकुरले असुरक्षित रूपमा गर्भपतन भइरहेको स्वीकार गर्दै सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या पनि बढ्दै गएकोप्रति खुसी व्यक्त गरे । पछिल्लो समय मेरी स्टोप्स सेन्टरमा आउने सेवाग्राहीको चाप बढ्नुले बिस्तारै नागरिक सचेत हुँदै गएको स्पष्ट हुने उनको भनाई छ ।

गर्भपतन अझै पनि खुलेर चर्चा गर्ने विषयको रूपमा तराई मधेसमा स्वीकार भई नसक्नु चुनौती देखिएको सामाजिक अभियन्ता पल्लवी हरलालकाको बुझाई छ । उनका अनुसार सामाजिक सचेतना अझै पनि अपर्याप्त छ । त्यसका लागि नागरिक समाज, समाजसेवी एवम् गर्भपतनका क्षेत्रमा काम गर्ने सङ्घसंस्था सबैको संयुक्त प्रयास आवश्यकता उनले औँल्याइन् ।

असुरक्षित गर्भपतनलाई सामान्य रूपमा लिएर बेवास्ता गरिए पनि यसले गर्दा विकराल समस्या निम्तिन सक्ने युवा अभियन्ता सुवास ठाकुरले सङ्केत गरे । सुरक्षित गर्भपतनको दायराभित्र सबैलाई ल्याउनुपर्नेमा जोड दिँदै ‘युवा’ का सदस्यसमेत रहेका ठाकुरले युवाहरू अग्रसर भएर समाजलाई जागरूक बनाउनुपर्ने धारणा राखे ।

सुरक्षित गर्भपतनको वर्तमान अवस्थासँगै यसका चुनौतीसँगै यसमा युवाको संलग्नता र आवश्यकता बारे पनि छलफलमा चर्चा चलेको थियो । सो अवसरमा सहभागीहरूले पनि वक्ताहरूलाई सुरक्षित गर्भपतनका विविध आयामका बारेमा जिज्ञासा राखेका थिए ।

सुरक्षित गर्भपतनको सेवा र जानकारीलाई प्रवर्धन गर्दै सर्वसाधारणका निम्ति उक्त सेवालाई थप पहुँच योग्य बनाउने उद्देश्यले छलफलको आयोजना गरिएको ’युवा’ संस्थाकी ’यूथ च्याम्पियन’ भूमिका साहले बताइन् । छलफलमा सुप्रिया साहले सहजकर्ताको भूमिका निर्वाह गरेकी थिइन् ।

युवाले यसअघि आयोजना गरेको अन्तर स्कुल निबन्ध प्रतियोगिताका विजेताहरूलाई पनि कार्यक्रममा पुरस्कृत गरिएको थियो । सुरक्षित गर्भपतनको विषयमा आयोजित निबन्ध प्रतियोगितामा प्रथम भएका ममता विद्या मन्दिर स्कुलका अनिल यादव, दुतिय भएकी मिनिल्यान्ड स्कुलकी एलिजा कुमारी र तृतीय भएकी ममता विद्या मन्दिर स्कुलकी दक्षता चौधरीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा कञ्चनजङ्घा स्कुलका विद्यार्थीले असुरक्षित गर्भपतन गर्दा हुनसक्ने खतरा र त्यसले ल्याउन सक्ने कानुनी जटिलताको विषयलाई समेटेर तयार पारिएको नाटक पनि प्रस्तुत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा १०० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले १०० ग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय...

जगरनाथपुर गाउँपालिकाले बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने

वीरगंज । रसुवा र नुवाकोटमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, व्यवस्थापन तथा पुनर्निर्माणका लागि पर्साको जगरनाथपुर गाउँपालिकाले १५ लाख रुपैयाँ आर्थिक सहयोग...

‘८४ मा महिला पहिला’ विषयमा प्यानल छलफल गर्दै मध्य नेपालकाे ११औँ वार्षिकोत्सव सम्पन्न

वीरगंज । वीरगंजबाट प्रकाशित मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आफ्नो ११औँ वार्षिकोत्सवका अवसरमा ‘२०८४ को निर्वाचनमा महिला पहिला’ विषयक प्यानल छलफल कार्यक्रम सम्पन्न गरेको...