वीरगंज । पर्सा प्रहरीले लागु औषध सहित दुई जनालाई नियन्त्रणमा लिएकाे छ । प्रहरी चौकी सुवर्णपुर र प्रहरी चौकी महादेवपट्टी, पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ्ग टोलीले एक १६ बर्षिय किशाेरसहित दुई जनालाई नियन्त्रणमा लिएकाे हाे ।
प्रहरीले पर्साकाे ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुर वर्णमाला स्कुल नजिक सडक खण्डबाट शुक्रबार दिउसाे १२:१५ बजेको समयमा ठोरी गाउँपालिका कै वडा नं. ३ निवासी १९ बर्षिय सचिन लामालाई नियन्त्रण लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।
प्रहरी चेकिङ्ग टोलीले चेकजाँच गर्ने क्रममा शंकाष्पद रुपमा भारतबाट नेपालको सुवर्णपुर बजार तर्फ आउदै गरेका किशाेर र लामाले बोकेको कपडाको झोलाबाट प्रतिबन्धित लागू औषध लाइट्राभेट १० लेखिएको नाइट्राजेपाम टयाब्लेट २० पत्तामा प्रति पत्ता १५ का दरले ३ सय र १ पत्तामा १४ गरी जम्मा ३१४ पिस ट्याव्लेट फेला परेको प्रवक्ता गिरीले वताए ।
यसका साथै किशोरले लगाएको लेदर जस्तो देखिने कालो ज्याकेटको दाहिने गोजीमा कालो प्लाष्टिकको पोकामा बेरिएको अवस्थामा अन्दाजी ५० ग्रांम लागू औषध गाँजा समेत फेला परेको प्रहरीले जनाएकाे छ ।
पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भैरहेको प्रवक्ता गिरीले जानकारी गराए ।


