वीरगंज । बाराकाे सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसहित ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर भएकाे छ ।
अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानु, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी, इन्जिनियर सुरेश कुमार यादव, सव-इन्जिनियर उपेन्द्र कुशवाहा, रानीवास खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष सोनालाल प्रसाद यादव, सचिव नन्द किशोर साह कानु र कोषाध्यक्ष गीता कुमारी साह विरुद्ध आराेप पत्र दायर गरेकाे हाे ।
सिम्रौनगढ नगरपालिकाले मधेश प्रदेश सरकारको अनुदानबाट आ.व. २०७७/०७८ मा संचालित योजनाहरुमा रकम निकासा गरी योजना संचालन एवं सम्पन्न नै नगराई रकम हिनामिना गरेको भन्ने समेतको संसदीय अनुगमन विशेष समिति मधेश प्रदेशको प्रतिवेदन उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा दाेषी देखिएकाेले आराेप पत्र दायर गरिएकाे अख्तियारले जनाएकाे छ ।
सिम्रौनगढ नगरपालिका, वडा नं. २ स्थित रानीवास खेल मैदान निर्माण कार्यमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे/नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई, झुट्टा बिल भरपाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार गरी भए गरेको भन्दा बढी मूल्याङ्कन गरी गराई रु. एक लाख ५ सय ६८ रुपैया ७५ पैसा बढी रकम भुक्तानी दिने कार्य गरीएकाे अख्तियारकाे अनुसन्धानबाट खुलेकाे छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) वमोजिम कसुर गरेको देखिन आएकोले तत्कालिन निमित प्रमुख प्रशासकिय अधिकृत कानु, लेखा अधिकृत चौधरी, इन्जिनियर यादव र सब इन्जिनियर कुशवाहालाई बढी भुक्तानी दिएको एक लाख ५ सय ६८ रुपैयाँ ७५ पैसा बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन अनुसार जरिवाना गरी बिगो रकम असुल उपर माग गरिएकाे छ ।
साथै प्रतिवादीहरु यादव र कुशवाहाले उक्त संग्रहालय भवन निर्माण कार्यको गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम गलत प्रतिवेदन दिने कसुर गरेको देखिन आएकोले सोही ऐनको दफा १९ को उपदफा (२) वमोजिम कैद र जरिवाना हुन मागदाबी गरिएकाे छ ।
सिम्रौनगढ नगरपालिका, वडा नं. २ स्थित रानीवास खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष यादव, सचिव कानु र कोषाध्यक्ष साहले नगरपालिकासँग भएको सम्झौताबमोजिमको शर्त पालना नगरी, लागत अनुमान बमोजिम गर्नुपर्ने सबै कामहरु नगरी कार्य सम्पन्न भएको भनी नभए नगरेको कार्यसमेत भए गरेको भनी भए गरेको भन्दा बढी मूल्याङ्कन गरी गराई रु. एक लाख ५ सय ६८ रुपैयाँ ७५ पैसाको बिल नगरपालिकाको कार्यालयमा पेश गरेकाे अख्तियारद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
बढी भुक्तानी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) वमोजिम कसुर गरेको देखिन आएकोले निजहरु सोनालाल प्रसाद यादव, नन्द किशोर साह कानु र गीता कुमारी साहलाई एक लाख ५ सय ६८ रुपैयाँ ७५ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन वमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा मंगलबार आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता भाेला दहालले जानकारी दिए ।








