Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

रक्तदाता दिवसकाे अवसरमा सम्मान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । विश्व रक्तदाता दिवसकाे अवसरमा पर्सामा विभिन्न कार्यक्रम सम्पन्न भएकाे छ । दिवसकाे अवसरमा ब्लड डोनर्स एशोसिएशन पर्साकाे आयाेजनामा बुधबार सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राजेशमान सिंहले शरीरको रगत त्यत्तिकै खेर जाने भएकोले रक्तदान गर्न आग्रह गरे । उनले रक्तदान गर्नेहरुको स्वास्थ्य अवस्था सुदृढ हुने र आफुले पनि रक्तदान गर्दै आएको
बताए । उनले स्वस्थ अवस्थाका १८ वर्षमाथि र ६० वर्ष मुनिका सबैलाई रक्तदान गर्न आग्रह गरे ।

ब्लोदान पर्साका अध्यक्ष शत्रुघ्न नेपालको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुद्दीन ठकुराई, रेडियो वीरगंजका अध्यक्ष ध्रुव साह, नेगेटिभ रक्त समूहका निशान्त लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा २०७९ वैशाखदेखि चैतसम्म सय पिन्ट रक्तदान गर्ने २३ वटा संस्था, सोही अवधिमा दुई पटक वा सोभन्दा बढी रक्तदान गर्ने सङ्घ/संस्था, आकस्मिक रक्तदान गर्ने २९ जना रक्तदाता, २३ जना दुर्लभ रक्तदाता,
प्रत्येक तीन/तीन महीनामा रक्तदान गर्ने पाँचजना स्वयंसेवी रक्तदाता र रक्तदान कार्यक्रममा जूस सहयोग गर्ने डाबर नेपाल, आर्थिक तथा भौतिक सहयोग गर्ने सञ्जु साह, रामबाबू सिंहलगायतलाई सम्मान समेत गरिएको थियो ।

वीरगंजस्थित राणीसति अतिथि सदनमा भएकाे कार्यक्रममा ब्लोदानका सदस्य शिवजी गुप्ताले स्वागत र सचिव अरविन्द सिंहले सहजीकरण गरेका थिए ।

रक्तदान उत्प्रेणा कार्यक्रम सम्पन्न

यसैबीच नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले उपशाखाहरुको सहकार्यमा बहुदरमाई नगरपालिकाको  दुई स्थानमा विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।

नेरेसो भौराटारका अध्यक्ष काशी साह र गम्हरिया शाखाका अध्यक्ष मौलाद्दीन मियाँको अध्यक्षतामा भएको उत्प्रेरणा कार्यक्रममा नेरेसो पर्साका सभापति वीरेन्द्रराज कँडेल, रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डे र नेरेसो उपशाखा रेशमकोठीका लालबाबू सिंहले रक्तदान सम्बन्धी सहभागीहरुलाई तालीममार्फत सचेत गराएका थिए ।

रक्तदान कार्यक्रम सम्पन्न        

यसैगरी दिवसको अवसरमा पर्सा र बारामा तीनवटा संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । नेरेसो पर्सा शाखाले रक्तसञ्चार केन्द्र वीरगंजमा रक्तदान गरेको केन्द्रका प्राविधिक प्रमुख पाण्डेले बताए ।

नारायणी वयोधा मेडिसिटी अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा सात जना महिलासहित ४१ जनाले रक्तदान गरेको प्राविधिक धीरेन्द्र झाले बताए ।

बाराको छातापिपरामा सौरभ फूड कन्सर्नले आयोजना गरेको रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका
थिए ।

रक्तदातालाई धन्यावाद दिन मनाइने दिवस

हरेक वर्षको जुन १४ अर्थात असार ३१ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ ।

यस वर्ष ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइएकाे हाे । नाराले जीवनपर्यन्त रगत आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्वलाई दर्शाएको छ ।

यसले नियमितरूपमा रगत र प्लाज्माको दानमार्फत दिगो र सुरक्षित आपूर्तिको महत्वबारेसमेत चर्चा गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी र नुवाकोटको त्रिशूली क्षेत्रमा गत बुधबार गएको बाढीले ठूलो जनधनको पुर्‍याएकाले...

एमाले मधेश प्रदेश कमिटीमा पर्साका ८ जना मनोनित

वीरगंज । नेकपा एमाले मधेश प्रदेश सचिवालय बैठकले पर्साका आठ जनालाई प्रदेश कमिटी सदस्यमा मनोनित गरेको छ । आइतबार बर्दिबासमा बसेको बैठकले पार्टीको संगठनात्मक...

वीरगंजमा १०० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले १०० ग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय...