Date
शुक्र, असार १२, २०८३
Fri, June 26, 2026

नगवामा खानेपानी ट्याङ्कीको शिलान्यास

spot_img
spot_img

वीरगंज । नेपाल खानेपानी संस्थानले वीरगंजमा निर्माण गर्न लागेको साढे ४ लाख लिटर क्षमताको पानी ट्याङ्की (डीप बोरिङ) को आज एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदिप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले संयुक्त रुपमा शनिबार खानेपानी पानी ट्याङ्की (डीप बोरिङ) को शिलन्यास गरेका हुन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित नगवामा निर्माण हुनलागेको पानी ट्याङ्कीले वडा नम्बर १५ र १६ का लगभग ४५ हजार घरधुरी लाभान्वित हुने बताइएको छ ।

खानेपानी टंकीको शिलान्यास गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका प्रदीप यादव पानी ट्याङ्की निर्माणले वडावासीले भोगिरहेको खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गरे । पछिल्लो समय जलवायु परिवर्तन र बढ्दै गएको तापक्रमका कारण जमिनमुनीको पानीको तह घट्दै जाँदा चापाकलमा समेत पानी आउन छोडेपछि वर्तमान मागलाई सम्बोधन गर्न पानी ट्याङ्की निर्माणको काम सुरु गरिएको उनले बताए ।

‘अहिलेको माग र भविष्यमा हुनसक्ने सम्भावित मागलाई समेत पूर्ति गर्ने दीर्घकालिन उद्देश्यका साथ पानी ट्याङ्की निर्माण गरिँदै छ,’ उनले भने ।

अहिले महत्व नबुझे एकदिन एकएक थोपा पानीका लागि छट्पटाउनु पर्ने अवस्था आउन सक्ने बताउँदै पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवले भने, ‘हामीले पानीको महत्व बुझिरहेका छैनौँ, जति मन लग्यो त्यती पानी खर्च गर्छौं । तर, पानी सिमित छ भन्ने कुरा बुझ्न जरुरी छ, हामीले अनावश्यक पानी बर्बाद गर्नुहुँदैन ।’

जलवायू परिवर्तन र विभिन्न कारणले जमिनमुनि रहेको पानीको सतह तल झर्दै गइरहेको उल्लेख गर्दै उनले थपे, ‘रुख रोप्ने र घरघरमै वाटर रिचार्जको उपाय अपनाउन थाल्न हामीले ढिलाइ गर्नुहुँदैन ।’

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले तराई-मधेशका क्षेत्रहरुमा देखिएको पानीको समस्या गम्भीर भएको बताए । पानी उपयोगमा सचेत हुनुपर्ने सुझाव दिँदै उनले भने, ‘हामीलाई अनावश्यक ढङ्गले पानी खर्चिने बानी छ, यो गलत हो । पानीको महत्व हामीले नबुझे एकदिन हाकाहारको सामना गर्नुपर्छ ।’ आवश्यकता भन्दाबढी पानी खर्च गर्ने बनी त्याग्न उनले आग्रह गरे ।

मेयर सिंहले पानीको समस्या समाधानका लागि नेपाल खानेपानी संस्थानसँग मिलेर महानगरका विभिन्न वडामा ४ हजार धारा निःशुल्क रुपमा जडान गर्न लागिएको जानकारी गराए । वीरगञ्जमा देखिएको खानेपानीको समस्यालाई समाधान गर्न थप रुख रोप्नुपर्ने आवश्यकता औल्याउँदै उनले थपे, ‘हामीले हरियालीको महत्व पनि बुझेका छैनौँ । जेमा पनि कंक्रीट मन पराउँछौँ । यो गलत हो, आफ्नो घर, आँगन, मूलद्वार अगाडि रुख रोपौँ । रुख रोप्दा पनि धेरै हदसम्म पानी आभावको समास्या समाधान हुन्छ ।’ वीरगञ्जलाई हराभारा बनाउन महानगरले हरेक सम्भव प्रयास गरिरहेको उनले बताए ।

एक फरक प्रसङ्गमा बोल्दै उनले सङ्घ र प्रदेश सरकारबाट वीरगञ्ज हेपिएको टिप्पणी गरे । देशकै प्रमुख व्यापारिक केन्द्र भएतापनि वीरगञ्जले सरकारबाट पर्याप्त बजेट नपाएको गुनासो गर्दै उनले आगामी बजेट र नीति तथा कार्यक्रम मार्फत विशेष बजेटको व्यवस्था गर्न माग गरे ।

सङ्घ सरकारको बजेटबाट नेपाल खाने पानी संस्थानले निर्माण गर्न लागेको वीरगञ्ज जलापूर्ति परियोजनाको कूल लागत ५३ करोड ३२ लाख २४ हजार २२० रुपैयाँ ५८ पैसा रहेको छ । परियोजना दुई वर्षमा सम्पन्न हुने लक्ष्य लिइएको छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हैजा पूर्वतयारी सुदृढीकरणसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

वीरगंज । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सञ्चालित ‘हैजा पूर्वतयारी सुदृढीकरण : सिकाइ र...

रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित, मनिष झा पराजित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित भएका छन् । रास्वपाकाे प्रथम महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि सम्पन्न निर्वाचनमा...

एनवाईईएफ वीरगंज च्याप्टरको छैटौँ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा चन्दन सिंह

वीरगंज । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको नेपालिज यंग इन्टरप्रेनर्स फोरम (NYEF) वीरगंज च्याप्टरको छैटौँ वार्षिक साधारणसभा (6th Annual General Meeting–AGM) शुक्रबार वीरगंजस्थित होटल सिद्धार्थ...