Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

भरत तालमा पर्यटकको घुँइचो

spot_img
spot_img

सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी(भरत ताल) मा आन्तरीक पर्यटकको घुँइचो लागेको छ ।

सङ्घीय भूउपयोग नीतिअनुसार खेर गएको बागतमी नदीको उकास जमिनलाई आन्तरिक आयसग जोडेर २०७५ सालबाट निर्माण सुरु भएको सो तालमा आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको तालका व्यवस्थापक सन्तोष गदालले बताउनुभयो । हालसम्म डिपिआरको करिब २५ प्रतिशत काम सकिएको छ । ताल पूरा बन्दा रु दुई अर्ब लाग्नेछ । ताल बनाउन रु ७५ करोड खर्च भइसकेको छ ।

मानव निर्मित तालमा निर्माणकै चरणमा ३१ साना र एउटा ठूलो डुङ्गा सञ्चालनमा रहेको बागमती नगरपालिका १२ का वडाध्यक्ष ओमबहादुर श्रेष्ठले जानकारी दिनुभयो । एक सय एक बिघामा पानी र २० बिघामा रोड, नेपालको चित्र, बगैँचाका साथै रिसोर्ट गरी एक सय २१ बिघामा फैलिएको ताल निर्माणकै क्रममा आन्तरिक पर्यटकले अवलोकन गर्ने क्रम बढेको छ ।

नगरको विकासको गौरवको रुपमा निर्माण सुरु भएको तालबाट निस्केको पदार्थ ताल वरिपरि सडक, बगैँचा बनाउन र नगरभित्रका सार्वजनिक तथा सामाजिक काममा खर्च गरिएको –४ का वडाध्यक्ष कृष्णकुमार लामाले बताउनुभयो । नगरपालिकाको आन्तरिक आयस्रोत र स्थानीयलाई रोजगारी सिर्जना गर्ने योजनाले ताल निर्माणको काम भएको हो ।

“तालमा पानी भरेलगत्तै दैनिक पाँच सय आन्तरिक पर्यटक आउने अपेक्षा गरिएको भए पनि निर्माणाधीन अवस्थामै पनि आकर्षण धेरै बढ्यो । सोचेभन्दा धेरै पर्यटक आउन थाल्नुभयो”, वडाध्यक्ष लामा भन्नुहुन्छ ।

“सुरूमा सर्लाही र रौतहटको जनसङ्ख्या हेरेर वार्षिक १६ लाख पर्यटक लक्षित गर्दा पनि आयोजना सफल हुन्छ भन्ने थियो । भारतको बिहारबाट निकै पर्यटक आउन थाले”, नगरपालिकाका प्रमुख भरतकुमार थापाले भन्नुभयो ।

एक हजार चार सय मिटर लम्बाइको तालको हालसम्म सात सय मिटरमा पानी जम्मा भएको छ । बाँकी पानी जमाउने योजना छ । तालमा अहिले करिब १८ लाख घनमिटर पानी छ ।

सोली आकारमा बनाइएको तालको बीच भाग ७० फिट गहिरो छ । वरपर बाटोसहित एक सय २१ बिघामा ताल हुने नगर उपप्रमुख लिलाकुमारी मोक्तानले बताउनुभयो । ताल वरपर मिनी क्यासिनोसहितको होटल, बगैँचा, पिकनिक र छायाङ्कन स्थल तथा सुमेरी पर्वत बनाउने योजना रहेको उहाँको भनाइ छ ।

तालको वरपर धार्मिक तथा पर्यटकीयस्थल विकास गर्ने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोख्रेलले बताउनुभयो । पर्यटकलाई दुई दिन अड्याउने गरी ताल वरपर पूर्वाधार बनाइने छ । नजिकै जङ्गल सफारीसहितको चिडियाखानाको डिपिआर, महादेव र पार्वतीको मूर्तिसहित धाम निर्माणको योजना छ ।

“पशुपतिबाट बगेर आएको पानी भएकाले बागमती नदीलाई महत्वका रूपमा हिन्दूले लिन्छन् । पशुपति पुग्न नसक्ने यहीँ आउँदा पशुपति पुगेको महसुस हुने गरी पूर्वाधार विकास गर्दैछौँ”, नगर प्रमुख थापाले बताउनुभयो ।

तालले संस्कृति जगेर्ना, पर्यटन प्रवद्र्धन र सिँचाइमा सघाउ पुग्नेछ । “पानीमा हुने डल्फिलनसहितका जीव यहाँ राख्ने सोचमा छौँ”, नगर प्रमुख थापाले बताउनुभयो । पार्किङस्थल, पिकनिकका सामग्री र डिजेसहित संगीतको व्यवस्था गरिनेछ । “आफैँ सामान ल्याउन पनि पाइनेछ”, नगर प्रमुख थापाले बताउनुभयो ।

भारतबाट ४२ किलोमिटर र पूर्वपश्चिम राजमार्गबाट दुई किलोमिटरभित्र यो ठाउँ प्रयोगविहीन थियो । नगरपालिकाभित्र वन, खेतीयोग्य जमिन, नागरिक( सम्पन्न, विपन्न र सुकुम्बासी) र नगरपालिकाभित्र प्रयोगविहीन जमिन कहाँ कति छ भन्ने अध्ययन सुरू गरेर सङ्घीय भूउपभोग नीतिअनुसार नदी उकास जमिनलाई माछा पोखरीको रुपमा निर्माण सुरु गरिएको जनाइएको छ । तालको बीचमा पहिलै गहिरो रहेको थियो ।

यहाँ २०२८ सालमा बागमती बग्थ्यो । पछि बगर बन्यो । दायाँबायाँको जग्गा २०६२÷०६३ ताका अतिक्रमण भयो । त्यहाँका सुकुम्बासी र भूमिहीनको पहिचान गरेर सात हजार तीन सय घरधुरी सुकुम्बासी र भूमिहीनको व्यवस्थापन गरियो । उनीहरूलाई प्रतिव्यक्ति तीनदेखि पाँच कट्ठासम्म जग्गा वितरण गरियो ।

जग्गा भएकालाई फिर्ता पठाएर करिब अढाइ सय बिघा जमिन नगरपालिकाको स्वामित्वमा राखियो । त्यही जमिनको सदुपयोग गर्नेक्रममा ताल बन्यो । तालमा गत वर्षादेखि पानी जम्न थालेको हो । रासस

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...