वीरगञ्ज । रुकुम पश्चिम र रुपन्देहीमा भएको घटनाको सत्य तथ्य छानविन गरी दोष्लिाई कारवाहीको माग गर्दै राष्ट्रिय दलित पत्रकार संघ पर्सा, नेपाल पासवान संघ पर्सा र मधेशी दलित गैर सरकारी महासंघ पर्साले जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा न. ८ सोतीको सामुहिक हत्याकाण्डले देशैभर रहेको ६० लाख बढी दलितहरुले दैनिक रुपमा सामना गरिरहेको जातिय विभेदलाई उजागर गरेको भन्दै निर्दाेष नफस्ने र दोषि नउम्किने गरी छानविन गर्न ज्ञापन पत्रमार्फत माग गरिएको छ ।
ज्ञापन पत्रमा अहिलेको विज्ञान र प्रविधिको युगमा पनि यस्तो किसिमको अमानविय घटना हुनुले जातिय विभेदले कुन हदसम्म जडा गाडेको छ भन्ने स्पष्ट पारेको छ ।
जातिय उत्पीडन र विभेदीकरणकै कारण ६ परिवारले आफ्ना सन्तान गुमाउनका साथै देशले उर्जाशिल युवाहरु गुमाउनु अत्यन्तै नरसंहार घटना भएको छ । संसारकै चेतशिल प्राणी मानिसको चेतनामा अहिले सम्म पनि परम्परागत र रुढीबादी परम्पराका कारण दलितहरु अँझै पनि हेपाहा बनेर जिवन निर्वाह गर्न विवश भएको हुँदा यस्तो घटनाले अँझै जिवित तुल्याएको उल्लेख गरिएकाे छ ।
त्यस्तै रुपन्देहीको देवदहमा गत शुक्रबार साँझ १३ वर्षीया स्थानीय दलित बालिकालाई बलात्कार गरेर हत्या गरेको घटनाको पनि सत्यतथ्य छानविन गरी दोषिलाई कारवाहीको दायरमा ल्याउन ज्ञापन पत्रमार्फत माग गरिएको छ ।
जातीय छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ आएको नौं वर्षमा १० जेठ ०६८ मा संसद्ले जातीय विभेदलाई सजाय गर्ने कानुन बनेको ९ वर्षमा १७ नागरिकले दलित भएकै कारण ज्यान गुमाएका छन् । जसमा बलात्कृत छोरीहरू पनि छन् । तर राजनीतिक पहुँचका कारण पिडकहरु उम्किदै आएका छन् ।
तसर्थ यस हत्याकाण्डलाई सामान्य रुपमा लिने, पक्राउ परेकाहरुलाई मुक्त गर्ने र अनुसन्धानलाई फितलो बनाउने कार्य कतैबाट भएमा न्यायका लागि देशव्यापी आन्दोलनबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार स्वयं सरकार हुने कुराको समेत ज्ञापनपत्र मार्फत अवगत गराइएकाे छ ।
त्यसैले हत्याकाण्डमा संलग्न भएका सबैलाई पक्राउ गर्न, वेपत्ताहरुको यथाशिघ्र खोजी कार्यलाई तिब्रता दिन, घट्नाको सत्यतथ्य छनवीन गर्न, पिडितलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन र हत्यारालाई हदैसम्मको कानूनी कार्वाही गर्नुका साथै अब उप्रान्त यस्ता घट्ना नघटाउन र दलित समुदायमाथिको सामाजिक न्याय प्रदान गर्न संघीय संसदबाट संसदीय अनुगमन समिति गठन गर्न जोडदार माग समेत गरिएको छ ।
यस पासविक अमानवीय हत्याकाण्डको छानवीनका लागि सम्पूर्ण राजनीतिक दल, मानवअधिकार आन्दोलन, नागरिक आन्दोलन, संचारकर्मी र न्यायप्रेमी सबैमा आव्हान गर्दछौं । साथै ज्ञापन पत्रमा नेपालको सम्पूर्ण राजनीतिक संगठन, दलित नागरिक समाज, पेशागत संगठनहरुलाई यस हत्या काण्डको विरोधमा आफ्नो आफ्नो स्थानबाट सक्रीय हुन आव्हान पनि गरिएको छ ।
दलित पत्रकार संघका पर्साका अध्यक्ष श्याम पासवान, नेपाल पासवान संघ पर्साका सहसचिब शम्भु पासवाान र मधेशी दलित गैर सरकारी महासंघ पर्साका अध्यक्ष इश्क कुमार पासवानद्वारा हस्ताक्षरित ज्ञापन पत्र पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीलाई इमेल मार्फत बुझाइएकाे हाे ।


