काठमाडौँ । नेपालमा कोरोना भाइरस (काेभिड १९)बाट संक्रमित हुनेको संख्या ५ सय ४८ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ४८ पुगेको हो ।
शनिबार संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही, चितवन र काठमाडौंका रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए ।
शनिबार कपिलवस्तुको वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, र ४२ वर्षका पुरुष तथा २७ वर्षीया महिला गरी ८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ७७ पुग्यो ।
त्यस्तै सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षका १३ जना पुरुषमा पनि संक्रमण देखिएको छ । सर्लाहीमा शनिबार बिहानसम्म संक्रमितको संख्या ३३ पुगेको छ ।
त्यसैगरी रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३०, ५५ वर्ष उमेरका ८ जना पुरुषमा पनि शनिबार संक्रमण पुष्टि भएको छ । शनिबार बिहानसम्म रुपन्देहीमा ३७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी बाराको करैयामाई नगरपालिकाका ३७ वर्षीय पुरुष, काठमाडौंका ३५ वर्षीय पुरुष र चितवनको भरतपुर महानगरपालिका-६ का ५२ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।
अहिलेसम्म नेपालका ४० जिल्लामा संक्रमण देखिएको छ । सबैभन्दा बढी बाँकेमा ११५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुमध्ये हालसम्म ७० जना निको भएका छन् । बाँके, सिन्धुपाल्चोक र गुल्मीका एक/एक गरी अहिलेसम्म ३ जना व्यक्तिको नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएको छ ।