31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

चिकित्सा क्षेत्र सुधार गर्न मेरो उम्मेदवारी : डा. सिंह

नेपाली चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक संघले यो माघमा नयाँ नेतृत्वसहितको नयाँ टिम पाउँदै छ । यो साझा संस्थाले देशभरका चिकित्सकका समस्यालाई साझा समस्याको रुपमा लिँदै समस्या समाधान गर्न लाग्नु जरुरी छ । र त्यसैका लागि म यो संघको सहसचिवका लागि उम्मेदवार बनेको छु ।

चिकित्सकहरुको साझा मुद्धालाई उठाएर चिकित्सकका समस्या निराकरण गरी सशक्त रुपमा उभ्याउन सँधै मेरो भूमिका रहन्छ । चाहे त्यसका लागि आफू नै मेटिन किन नपरोस । यो साझा संस्थामा मैले सहसचिवका लागि उम्मेदवारी दिँदै गर्दा मेरो उम्मेदवारी किन भन्ने प्रश्न उठ्नु स्वभाविक हो ।

मैले मेरो कार्यकालमा निम्न कुरालाई मुख्य प्राथमिकतामा राखेको छु ।
 नेपालका सबैजसो दलका राजनीतिज्ञहरुले चिकित्सकलाई बधुवा मजदुर जस्तै गरी हेर्ने गरेको मैले अनुभव गरेको छु । यो मेरो मात्रै अनुभव नभई समग्र देशै भरका चिकित्सकहरुको अनुभव हो भन्ने ठानेको छु । अब यसलाई परिवर्तन गर्नु जरुरी भइसकेको छ । चिकित्सा क्षेत्रमा एमबीबीएस -MBBS_ अर्थात स्नातक -Bachelor Level_ पूरा गर्न ५ वर्षको समय लाग्छ । तर यो क्षेत्रभन्दा भिन्न क्षेत्रको स्नातक -Bachelor Level_ भने ३ वर्षमै सम्पन्न हुने गरेको तपाई हामीलाई जानकारी भएकै विषय हो ।

एउटै लेभलको पढाईमा किन समयान्तर फरक ? यो मात्रै होइन । एमबीबीएस -MBBS_ अध्ययन सकेर काम गर्ने समयमा पनि रात्रिकालिन ड्युटीको बोझ अझ भनि साध्य छैन । एउटा निजामती कर्मचारीसँगै तुलना गर्ने हो भने पनि उसले दिउँसोको ड्युटीमात्रै गर्छ तर चिकित्सक जहिल्यै पनि तत्पर रहनु पर्छ । चाहे रात, चाहे दिन । यस्तै एमबीबीएस -MBBS_ अर्थात चिकित्सा क्षेत्रको स्नातक तहको अध्ययनका लागि लाग्ने खर्च अन्य क्षेत्रको भन्दा कयाैं गुणा बढी छ ।

एउटै तहको शिक्षाका लागि यस्तो फरक आर्थिक भार किन ?
मेडिकल शिक्षाको लागि सरकारले महंगो शुल्क नै निर्धारण गरिदिएको छ । पढाउँदा महंगो (मुनाफामुखी) तर काम गराउँदा भने सेवामुखी (तलब भत्ता र अन्य सुविधा न्यून) गराइनु उपयुक्त छैन । चिकित्सकलाई सरकारले नै न्यून पारिश्रमिक दिने गरेको छ । सरकारले नै न्यून पारिश्रमिक दिँदा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सस्थाहरुले पनि चिकित्सकहरुलाई त्यसै गरी न्यून पारिश्रमिकमा नै काम लगाउने गरेका छन् ।

चिकित्सकलाई रात्रि सेवामा काम गराउँदा वा विदाको दिन काम गराउँदा अन्तर्राष्ट्रिय क्षेत्रमा छुट्टै सेवा सुविधा उपलब्ध गराइने गरिएको छ । तर नेपालमा भने चिकित्सकहरु यस्तो सेवा सुविधाबाट बञ्चित छन् । विश्वका अधिकांस देशले चिकित्सकहरुको कार्यअवधि अनुसार सहुलिय दिने गरेको छ । यस्तो सहुलियत हामीले कहिल्यै पाएका छैनौँ ।
 ड्युटीमा रहेको चिकित्सकको सुरक्षा गर्नु राज्यको मुख्य दायित्व हो । ड्युटीमा रहेको चिकित्सक र सीमा सुरक्षार्थ खटिएका सैनिक एक हुन् । त्यसैले चिकित्सकलाई राज्य संयन्त्रले उचित सुरक्षा प्रवन्ध गराउनु पर्छ । चिकित्सकमाथिको हातपात तथा स्वास्थ्य सस्थामाथिको तोडफोडको तथ्यांक हेर्ने हो भने नेपाल दक्षिण एशियाकै अग्रपंतिमा पर्छ । यसको मतलब भनेकै चिकित्सा क्षेत्रमा राज्यले दिनु पर्ने सुरक्षा फितलो हुनु हो । चिकित्सक आफैँ असुरक्षित बनेर सेवा दिनु पर्दा गुणस्तर कस्तो होला आफैँ अनुमान गर्न सकिन्छ । यस तर्फ हामीले निरन्तर आवाज उठाउँदै आएको भए पनि राज्यले उपेक्षा गरिरहँदा चिकित्सा क्षेत्र नै धरासायी बन्दै गइरहेको छ ।
 अहिले सरकारले आधुनिक चिकित्सा पद्धतीबाट सेवा प्रदान गर्न धेरै गर्नै पर्दैन । भएका पुराना सरकारी अस्पतालहरुलाई नै पोष्ट ग्राजुएट इन्स्टिच्युट -post graduate institute_ मा परिवर्तन गर्नु जरुरी छ । यो हुन सके सेवा पनि आधुनिक हुने र गरिब जनताहरुले पनि निजी स्वास्थ्य संस्थामा गएर महंगो उपचार सेवा लिन पर्ने बाध्यता अन्त्य गर्न सकिन्छ ।

यस्तै सरकारी स्वास्थ्य संस्थाहरुमा पोष्ट ग्राजुएट इन्स्टिच्युट -post graduate institute_ खोल्दा हाम्रा जुनियर चिकित्सकहरुले सस्तोमा गुणस्तरीय पीजी लेभलको शिक्षा प्राप्त गर्ने अवसर पनि प्राप्त हुन्छ । अहिले देशैभर रहेका सरकारी स्वास्थ्य सस्थाहरु कोशी अस्पताल, भरतपुर अस्पताल, नारायणी अस्पताल, जनकपुर अस्पताल, नेपालगंज अस्पताल, लुुम्बिनी अस्पताल र अरु धेरै यस्ता अस्पतालहरुमा दैनिक हजारौँ ओपीडी बिरामीहरु उपचारका लागि आउने गर्छन । ती सस्थाहरुलाई पोष्ट ग्राजुएट इन्स्टिच्युट-post graduate institute_ मा परिवर्तन गर्दा बिरामीहरुले पनि सुपथ मूल्यमा उपचार पाउने र जुनियर चिकित्सकहरुले पनि देशमै पढ्ने मौका पाउने थिए । यसबाट उच्च शिक्षाका लागि विदेश बाहिरिने ठूलो रकम बच्ने थियो ।
 निजी स्वास्थ्य संस्थालाई सरकारले हेल्थ टुरिजमको अवधारणा अनुरुप प्रवद्धन गर्नु उचित देखिन्छ । अहिले सरकारले नै भ्रमण वर्ष २०२० भब्य रुपमा मनाईरहँदा टुरिजम हेल्थको रुपमा निजी स्वास्थ्य सस्थालाई अघि बढाउन सके विश्वका अरु देशका बिरामीहरुलाई उपचारका लागि भित्र्याएर देशले आर्थिक लाभ लिन सक्छ ।
 नेपाली चिकित्सकको बेथा आफ्नै छन् । चिकित्सक स्वंम बिरामी पर्दा आफ्नै उपचारका लागि लाग्ने खर्च पनि व्यवस्था गर्न नसक्ने अवस्था छ । खर्च जुटाउन नसक्दा चिकित्सक आफैँले ज्यान गुमाउनु परेको छ । चिकित्सक आफैँ आफ्नो उपचार गराउन खर्च व्यवस्थापन गर्न सक्ने अवस्था नरहँदा त्यसका लागि अब नेपालका सबै स्वास्थ्य सस्थाले चिकित्सकको उपचार निशुल्क गराउने व्यवस्था गर्नु पर्छ । अन्त्यमा, चुनावी मैदानमा उत्रँदा परिणाम जे पनि आउन सक्छ । चाहे म विजय या पराजय जे भए पनि माथि उल्लेखित मुद्धाहरु समग्र नेपाली चिकित्सकको साझा मुद्धा हो र हुनु पर्छ । चिकित्सकको यो साझा मुद्धा समाधानमा मेरो सँधै अडान रहिरन्छ । यो म एक्लैको मुद्धा नभई सबैले साझा मुद्धा बनाएर अघि बढे मात्रै समग्र चिकित्सकको भलाई हुने छ भन्ने मलाई लाग्छ ।

डा.निरज सिंहसँग गरिएको कुराकानीमा आधारित ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वंगलादेशको म्यासेज

कालिका टाईम्स

ममता र मानवताकाे महापर्व छठ पुजा

कालिका टाईम्स

हाम्रो पत्रकारिताः भित्तेपत्रिका हुँदै डिजिटल पत्रकारितासम्म

कालिका टाईम्स
SQL requests:217. Generation time:3.966 sec. Memory consumption:81.75 mb