Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
Home Blog Page 339

छानविनमाथि छानविन गर्ने हो भने प्रहरी काम गर्न डराउँछ : प्रदिप यादव

वीरगंज । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदिप यादवले एउटा अनुसन्धानमाथि अर्काे छानबिन उचित नभएको बताएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद यादवले सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को अनुसन्धान चलिरहँदा ओभरटेक गरेर छानबिन गर्नु र कमजोरी देखिएको भनेर कारवाही गर भन्नु अपरिपक्व कदम भएको बताए ।

पूर्वन्यायाधीश र पूर्वप्रहरी अधिकारी सम्मिलित जाँचबुझ आयोगको प्रतिवेदनले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा र सिआइबीको अनुसन्धानमा कैफियत देखाएपछि सरकारले महरालाई नियन्त्रणमा लिएर पुन अनुसन्धान थालेको छ भने सिआइबी प्रमुख परिवर्तन गरेको छ ।

सांसद यादवले भने एउटा छानबिन नसकिँदै त्यसमाथि अर्काे छानबिन गर्नु र कारवाही गर्नु उपयुक्त नभएको बताएका हुन् । ‘सुन प्रकरणमा प्रमाणको आधारमा सिआइबीले मुद्दा प्रक्रिया अगाडि बढाएको हो । नेपाल प्रहरीसँग नयाँ प्रविधि नहुँदा म्यानुअलबाट काम गरिरहेको छ । सीमित प्रविधिकै आधारमा काम गरिरहेको छ । तर पनि सफलता हासिल गरिरहेको छ,’ उनले भने ।

यादवले थपे, ‘तर, सरकार सुन तस्करीमा काम गरिरहेको र प्रतिवेदन बुझाएको सिआइबीमाथि जाँचबुझ आयोग बनाउँछ । वर्तमान प्रहरीमाथि पूर्वप्रहरीले छानविन गर्छ । अनुसन्धानमा खटिएको प्रहरी अधिकृतमाथि कारवाही गर्न सरकारलाई निर्देशित गर्छ । प्रतिवेदन कार्यान्वयनका निम्ति सरकार सिआइबीका अनुसन्धान अधिकृतलाई कारवाही गर्छ । यसरी छानविनमाथि छानविन गर्ने हो भने भोलिका दिनमा कोही पनि प्रहरी काम गर्न चाहँदैन । काम गर्न डराउँछ ।’

सांसद यादवले प्रहरीले लगेको मुद्दामा जिल्लाले छोडिदिने, उच्चले थुनामा पठाउने र सर्वाेच्चले छोडिदिने अभ्यास रहेको भन्दै छानबिनमाथि छानबिन नीतिअनुसार यसमा उच्चले जिल्लालाई र उच्चलाई सर्वाेच्चले कारवाही गर्ने हो भने यो प्रणालीका लागि राम्रो नहुने चेतावनी दिए ।

‘यदि छानबिनमा कुनै व्यक्तिले गल्ती गरेको छ भने कारवाही गरोस् । तर, संस्थालाई बदना गर्ने काम नगरोस्, यसरी मनोबल खस्छ,’ उनले भने ।

सांसद यादवले छानबिनमाथि छानबिनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न नसकेको बताए । ‘प्रहरीले अनुसन्धान गरी दोषी समातिसके पनि स्थानीयको आन्दोलन थेग्न नसकेको सरकारले छानविन समिति बनायो, त्यसले काम गर्न सकेन । अर्काे छानविन समिति बनायो, त्यसले पनि काम गर्न सकेन । र आजसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । त्यो पत्ता पनि लाग्न सक्दैन, किनकि हत्यारालाई आन्दोलनको दबाबमा त्यही बेला छोडिसकेको छ,’ उनले भने ।

सांसद यादवले छानबिन माथि छानबिन गर्नेभन्दा भइरहेको अनुसन्धानलाई प्रभावकारी बनाउनतिर लाग्नुपर्ने बताए । ‘त्यसकारण सरकार दबाबमा पर्ने होइन, न्यायोचित काम गर्न आफ्नो अनुसन्धान अधिकृतलाई खटाएर राम्रोसँग अनुसन्धान गरोस् । दोषी नउम्कियोस्, निर्दाेष नसफसोस्, त्यसमा सरकारको ध्यान जाओस्,’ उनले भने ।

पेट्रोलको भाउ लिटरमै ४ रुपैयाँ बढ्यो

वीरगंज । सरकारले पेट्रोलको मूल्य बढाएको छ । सोमबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको हो ।

निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार रूपैयाँ बढाएको जानकारी दिएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो ।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर चार रूपैयाँ ७६ पैसा बढाएर पठाएको छ । डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने घटाएर पठाएको छ । डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रूपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ।

तर निगमलाई ग्यासमा अझै पनि २९६ रूपैयाँ १५ पैसा घाटा भएकाले ग्यासको भाउ यथावत राखिएको जनाएको छ । डिजेल र मट्टीतेलको भाउ पनि यथावत छ ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १७२ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७४ रूपैयाँ प्रतिलिटर पर्नेछ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७५ रूपैयाँ प्रतिलिटर पर्नेछ।

चैत्र २४ बाट जीतपुरसिमरा गोल्डकप

सिमरा । जगदम्बा स्टिल जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करण आगामी चैत्र २४ देखि शुरु हुने भएको छ । आइतबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक नवजनजागृती युवा क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो ।

सिमरा रङ्गशालाको फ्लड लाइटमा आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन चर्च ब्वाईज युनाईटेड, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, फ्रेण्ड्स क्लब र मच्छिन्द्र क्लब गरी ‘ए’ डिभीजनका पाँच टिम सहभागि हुनेछन् ।

सशस्त्र प्रहरीको विभागीय क्लब एपिएफ, मकवानपुर ११ हेटौंडा, वीरगञ्ज युनाईटेड क्लब बीरगञ्ज, सिराहाको सहलेश युवा क्लब र आयोजक नवजनजागृती युवा क्लब सहित १० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले पाँचलाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान २५ हजार तथा स्थानीय उदयमान खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दि म्याचले रु. १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष लामाले जानकारी दिए ।

रात्रीकालीन फुटबलमा दर्शकको आकर्षण बढाउन गत बर्षबाट फुड फेस्टिभल समेत शुरु गरेको आयोजकले यस बर्षपनि होटल तथा पर्यटन व्यवसायी संघ बारासंगको सहकार्यमा फुटलब संगै फुड फेस्टिभललाई निरन्तरता दिने जनाएको छ ।

जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि आरक्षण सिट सहित निशुल्क प्रवेश तथा विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

समाजवादी मोर्चाले विचार गोष्ठी गर्दै

वीरगंज । समाजवादी मोर्चा, नेपालले विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।

नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकिकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी आवद्ध रहेको समाजवादी मोर्चाले चैत्र २० गते मङ्गलबार राष्ट्रिय सभा गृहमा विचार गोष्ठीको आयोजना गर्न लागेको हो । कार्यक्रम मध्यान्ह १२ सुरु हुने छ ।

उक्त कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने पार्टीका अध्यक्षलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपा प्रचार प्रसार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

प्रभु साहको प्रश्न : बागमतीमा १८ र मधेशमा ७१ विद्यार्थी बराबर १ शिक्षक कहिलेसम्म ?

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सरकारी विद्यालयमा भवन र शिक्षकको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘तराई मधेशका स्कुलहरूमा एउटा कक्षा कोठामा दुई सय जनासम्म विद्यार्थी कोचिएर पढिरहेका छन् । यसको जवाफ कसले दिन्छ ?’ आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले प्रश्न गरे, ‘५० जना विद्यार्थी बस्न सक्ने कोठामा दुई सय जना राख्नेलाई दण्डित गर्नुपर्छ कि पर्दैन ?’

बागमती प्रदेशमा १८ विद्यार्थी बराबर एक शिक्षक दरबन्दी रहेको र मधेश प्रदेशमा ७१ जना विद्यार्थी बराबर एक जना शिक्षक दरबन्दी रहेको पाइएको बताए ।

जिल्लाको हिसाबले यो तथ्यांक झन् असमान रहेको साहले बताए । ‘रौतहटमा ८० विद्यार्थी बराबर एक शिक्षक छन् । काठमाडौंमा १३ विद्यार्थीलाई एक शिक्षक,’ उनले शिक्षामन्त्रीलाई सम्बोधन गर्दै प्रश्न गरे, ‘यो विभेदपूर्ण वितरणको जवाफ कसले दिन्छ ? यसरी दरबन्दी वितरण गर्न मिल्छ ? विद्यार्थीको भविष्य बिगार्ने कुराको जवाफ कसले दिन्छ ?’

साहले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई देशभर शिक्षक दरबन्दीको अवस्थाबारे सदनलाई जानकारी गराउन समेत माग गरेका छन् । ‘यो संसद्‌मा शिक्षक दरबन्दीको कुरा शिक्षा मन्त्रीले सुनाइदिए हुन्थ्यो । म शिक्षा मन्त्रीलाई सोध्न चाहन्छु, ‘अहिलेको शिक्षाको स्थिति के छ ? भवनको अभावमा सयौं विद्यार्थी एउटै कक्षाकोठामा कोचिनुपर्ने, शिक्षक दरबन्दीको अभाव विद्यार्थीले बेहोर्नुपर्ने तर यसमा कुनै कानुन नलाग्ने, कोही जवाफदेही हुन नपर्ने ?’

विद्यार्थीको भविष्य बिगार्नु देशकै भविष्य बिगार्नु रहेको उनले बताए । यस्तो कार्यमा संलग्न रहेकाहरू दण्डित हुनुपर्ने साहको माग छ । ‘यो विद्यार्थीको जीवनसँग खेलवाड हो कि राज्यको जीवनसँगको खेलवाड हो ?’ उनी प्रश्न गर्छन्, ‘जसरी शिक्षकको दरबन्दी वितरणमा धाँधली भएको छ । यो सामान्य अपराध हो जस्तो मलाई लाग्दैन । यस्ता कूकर्म गर्ने अपराधीहरूलाई दण्डित गर्नुपर्छ कि पर्दैन ?’

सरकारले बनाएको मापदण्डअनुसार पहाडमा ४५ विद्यार्थी बराबर एक शिक्षक र तराईमा ५० विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने हुन्छ । यो आफैंमा विभेदपूर्ण रहेको तर पनि तय भएअनुसारको मापदण्ड लागू नभएको भन्दै उनले शिक्षामन्त्रीको ध्यानाकर्षण गरेका हुन् ।

यस सम्बन्धमा सिंगो सदनले समेत चासो राख्नुपर्ने उल्लेख गर्दै उनले थपे, ‘…दुई सय विद्यार्थी एउटै कक्षा कोठामा देख्दा के महसुस हुन्छ होला ? यसमा सभामुखको रुलिङको पनि अपेक्षा गर्दछु ।’

राज्यको फितलो नीति र वेवास्ताकै कारण नेपालमा गुणस्तरीय शिक्षाको सन्दर्भमा प्रश्न उठ्न थालेको साहको भनाइ छ । ‘नेपालमा गुणस्तरीय शिक्षा एउटा ठूलो चुनौती बनिरहेको छ । गुणस्तरीय शिक्षाकै अभावमा विद्यार्थीहरू विदेश जान विवश छन् । विद्यार्थी पढाउने नाममा खर्बौं रुपैयाँ हामीले विदेशीलाई बुझाइसक्यौं,’ उनले भने ।

अनलाइन मार्फत भारतिय नागरिक ठगी गर्ने चिनिया गिराेह पक्राउ

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १५ लक्ष्मणवामा कल सेन्टर संचालन गरेर गठी गर्ने गिराेहका ३ जना चिनिया नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको हुनान प्रान्तमा बस्‍ने ३३ वर्षीय लिउ गुइ चाइ, हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र हुबेई प्रान्तका ३६ वर्षीय सियाङ जियाओ रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

लक्ष्मणवामा रहेकाे नन्दु पटेलको घर भाडामा लिएर सञ्चालन गरिएको उक्त कल सेन्टरकाे कार्यालयबाट डेक्सटप कम्प्युटर १२० थान, मनिटर ११८ थान, ल्यापटप ४ थान, विभिन्न ब्राण्डका मोबाइल ३५ थान, भारतीय जियो मोबाइलको सिम १३ थान, प्रिन्टर १ थान, किबोर्ड २६ थान, इन्टरनेट स्वीच ५ थान, वाइफाइ राउटर २ थान,  इन्भर्टर २ थान, विभिन्न बैंकको एटिएम कार्ड तीन थान, मलेसियन मुद्रा ३७ रिंगिट, कम्बोडियन मुद्रा ३ हजार पाँच सय र नेपाली रुपैयाँ ४३ हजार तथा पक्राउ परेका तीनै जना चिनियाँ नागरिककको पासपोर्ट तीन थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) कुमाेध ढुंगेलले जानकारी दिए ।

त्यस्तै उक्त घरबाटै बीआर ०१ सिएक्स ५७९२ नम्बरको सेतो रंगको आई ट्वान्टी कार एक थान र प्र.२-०३-०११ प १३६७ नम्बरको एफजेड मोटरसाइकल १ थानसमेत बरामद गरिएको एसपी ढुंगेलले बताए । 

अनुसन्धानकाे क्रममा कल सेन्टर स्थापना गरि कर्मचारीहरू समेत राखि नेपाल, भारत, पाकिस्तान, लगायतका विभिन्न देशहरूमा रहेको व्यक्तिहरूसंग साेसल मिडिया तथा टेलीफोन मार्फत विभिन्न प्रलोभनमा पारी ठगी गर्ने गरेको देखिएको एसपी ढुंगेलले वताए ।पक्राउ परेकाहरु अन्य देशका विभिन्न स्थानमा विभिन्न व्यक्तिहरूलाई एजेन्ट बनाई ठगी गर्ने गरेको र ठगी गरेको रकम भारतीय विभिन्न बैंकहरू मार्फत कारोबार हुने गरेको देखिएको एसपी ढुंगेलले जानकारी गराए ।

पक्राउ परेका व्यक्तिहरू चिनिया नागरिकहरु विरुघद्ध हाल अभद्र व्यवहार मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेकाे र निजहरूको संवाद प्रायजसो चिनिया भाषामा रहेकोले सो सम्बन्धमा अनुसन्धान गर्न भाषाविदहरूलाई बोलाई थप प्रमाणहरु फेला पार्न कार्य भइरहेकाे उनले वताए ।

अनलाइन लट्री र अनलाइन सपिङ्ग जस्ता विभिन्न प्रकारको प्रलोभन देखाई नेपाली तथा विदेशीहरूबाट सर्वसाधारण नेपाली तथा बिदेशी व्यक्तिहरूलाई ठगी गर्ने गिरोह यस जिल्लामा समेत सक्रिय रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट एसपी ढुंगेलकाे नेतृत्वमा खटिएकाे प्रहरी टाेलीले लक्ष्मणवास्थित उक्त घरमा शनिबार छापामारी गरेकाे थियाे ।

जिराभवानीमा प्रजनन् स्वास्थ्य सम्बन्धी निःशुल्क शिविर सम्पन्न

वीरगंज । पर्साको जिराभवानी गाँउपालिकामा शनिबार निःशुल्क प्रजनन सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिराभवानी गाँउपालिकाकाे स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हाे । 

वडा अध्यक्ष राजेश्वर दास थारुकाे अध्यक्षतामा भएकाे शिविरको उद्घाटन जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले गरेका थिए ।

जिराभवानी गाँउपालिकाको वडा नं. ४ स्थित सुपाैली स्वास्थ्य चौकीमा भएको स्वास्थ्य शिविरमा नारायणी अस्पताल वीरगंजका चिकित्सक डा. मन्जु राम, स्वास्थ्यकर्मी खुश्बु मिश्रा, जिराभवानीका स्वास्थ्यकर्मीहरु अजय कुमार दास थारु, सरोज पंडित, ज्ञान किशोर महतो, राज किशोर यादव, सफिकुला अंसारी, मिथिलेश कुमार यादव, संतोष कुमारी चौधरी लगायतकाे टाेलीले स्वास्थ्य चेकजाँच गरेका थिए ।

सो शिविरमा पाठेघरको मुखको क्यान्सर ( भि.आई.ए.) सम्बन्धी परिक्षण, आंग खसेको विरामीहरुको परिक्षण, ब्यवस्थापन तथा उपचार परामर्श गरिएको उदय दास थारुले जानकारी दिए ।

मन्त्रीसँगको फोटो देखाएर लाखौँ ठग्ने सोनी पक्राउ

वीरगंज ।  देशको विभिन्न जिल्लामा पुगेर मन्त्री तथा भीआइपीहरूसँगको आफ्नो तस्बिर देखाएर लाखौँ रुपैयाँ ठगी गर्दै आएका राैतहटका एक जना युवक पक्राउ परेका छन् ।

त्रिवि शिक्षण अस्पताल काठमाडौँ स्थित बिए नर्सिङमा नामाङ्कन गराउने नाउँमा लाखौँ रुपैयाँ ठगी गरेका रौतहटको सदरमुकाम गौरका पवन कुमार सोनी पक्राउ परेका हुन् ।

बहालवाला तथा पूर्व मन्त्रीहरू तथा अन्य भिआइपीसँग आफ्नो फोटो देखाएर भिआइपी कोटामा बिए नर्सिङमा नामाङ्कन गराउने नाउँमा लाखौँ ठगेका स्थानीय दुर्गा भगवती गाउँपालिका – ६ घर भएर गौर – ५ बस्ने राम एकवाल साह सोनारका छोरा ३० वर्षीय पवन कुमार सोनी पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) एलिजा गिरीले बताइन ।

सोनीले शिक्षण अस्पतालको बिए नर्सिङमा नामाङ्कन गराउने भनेर डोटी जिल्ला शिखर नगरपालिका – ११ का जोगबहादुर बोहराको छोरी विमला बोहरासँग आठ लाख १० हजार ३७५ रुपैयाँ ठगेको उजुरीको आधारमा पक्राउ गरिएको डिएसपी गिरीले जानकारी दिइन ।

सोनीलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिलगढी डोटी पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बारामा बलात्कार गरेकाे आराेपमा एक जना पक्राउ

वीरगंज । बारामा १४ वर्षीया सुस्त मनस्थिति भएकी बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । कोल्बी नगरपालिका–८ नयाँ बस्तिका ३० वर्षीय प्रकाश कार्कीलाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालयले काेल्बीले जनाएकाे छ ।

पीडितलाई आरोपितले चैत ८ गते राती अपहरण गरी दुई दिनसम्म बलात्कार गरेको भन्दै बालिकाको बुबाले चैत १२ गते आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय कोल्बीमा उजुरी दिएका थिए ।

पीडित पक्षले दिएको उजुरिको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धानको लागि चैत १२ गते जिल्ला प्रहरी कार्यालय कलैयालाई बुझाएको इलाका प्रहरी कार्यालय काेल्बीले जनाएकाे छ । आरोपित विरुद्ध मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानले जानकारी दिए ।

पीडितको स्वास्थ्य परीक्षण चैत १२ गते जिल्ला अस्पताल कलैयामा भएको जिल्ला प्रहरी कार्यालय अन्तर्गतका महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी निरिक्षक बिमला कुमारी कठायतले जानकारी दिइन ।

वीरगंजमा कल सेन्टर संचालन गरेर अवैध धन्दा गर्ने दुई चिनियाँ पक्राउ

वीरगंज । वीरगंजमा कल सेन्टर संचालन गरेर अवैध धन्धा गर्ने दुई चिनिया नागरिक पक्राउ परेका छन् ।

विशेष सूचनाकाे आधारमा पर्सा प्रहरीले शनिबार सांझ वीरगंज महानगरपालिकाकाे वडा नं. १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी अवैध धन्दा चलाउने चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएकाे हाे ।

कल सेन्टर संचालन गरेर अवैध काराेबार संचालन गर्ने दुई चिनिया नागरिकलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए । साे घरबाट दर्जनाैं संख्यामा अवैध कम्प्युट लगायतका इलेक्ट्राँनिक्स सामानहरु समेत बरामद भएकाे वताउँदै डिएसपी थापाले थप अनुसन्धान भइरहेकाे जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक (एपसपी) कुमाेध ढुंगेल नेतृत्वमा नै खटिएकाे प्रहरी टाेलीले साे घरमा छापामारी गरेकाे थियाे । प्रहरीका अनुसार चिनिया गिरोहले भाडामा घर लिएर कल सेन्टर संचालन गरेर अवैध रूपमा काराेबार गर्दै आएका थिए ।

प्राप्त जानकारी अनुसार नन्दु राउत कुर्मीकाे घरमा दुई महिना पहिला हेटाैंकाे एक महिलाले घर भाडा लिएकी ‍थिइन । साेही घरमा चिनिया नागरिकले संचालन गर्दै आएकाे अवैध धन्दाकाे गिरोहमा थप व्यक्ति पनि रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीले पक्राउ गरेकाहरुकाे नाम अहिले खुलाएकाे छैन् । भाेली (आइतबार) पक्राउ परेका र बरामद सामानहरु बारे बिस्तृत रुपमा जानकारी गराइनले पर्सा प्रहरी प्रवक्ता थापाले वताए ।