वीरगञ्ज । सुन्तलाको भन्सार प्रज्ञापनपत्र बनाएर प्रतिबन्धित केरा नेपाल भित्र्याइएको घटना सार्वजनिक भएपछि वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रणाली र भौतिक परीक्षण प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ।
वीरगञ्ज भन्सार कार्यालयबाट जाँचपास भएर काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ट्रकलाई काठमाडौँको जडीबुटीस्थित प्रहरी टोलीले नियन्त्रणमा लिएपछि अवैध आयातको घटना बाहिर आएको हो।
वीरगञ्ज महानगरपालिका–२५ श्रीसियास्थित आरोही इन्टरप्राइजेजका नाममा जाँचपास भएको भारतीय ट्रक नम्बर UP 25 FT 3659 लाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ।
ट्रकको भौतिक जाँच गर्दा बाहिरी भागमा सुन्तलाका क्यारेट राखिएको र भित्री भागमा केरा लुकाइएको अवस्थामा फेला परेको बताइएको छ। भन्सार कागजातमा ७.६ मेट्रिक टन अर्थात् ४०० क्यारेट सुन्तला उल्लेख भए पनि ट्रकभित्र थप २०० क्यारेट केरा फेला परेको थियो। उक्त केराको परिमाण करिब एक हजार ८०० दर्जन रहेको जनाइएको छ।
पहिलो ट्रक नियन्त्रणमा परेको खबर सार्वजनिक भएपछि सोही आरोही इन्टरप्राइजेजका नाममा भन्सार प्रक्रिया पूरा गरी गेटपाससमेत प्राप्त गरिसकेका थप दुई भारतीय ट्रक वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) परिसरको पार्किङमा छाडिएको बताइएको छ। MH30CE0083 र UK04CC2831 नम्बरका ती ट्रकका चालक तथा प्रतिनिधि गाडी छाडेर फरार भएको स्रोतको दाबी छ।
घटनापछि आईसीपीले ती ट्रकलाई निगरानीमा राख्दै पुनः जाँच, नापजाँच तथा तौल यकिन गर्ने तयारी गरेको जनाइएको छ। ती ट्रकमा के सामान र कति परिमाणमा लोड गरिएको छ भन्नेबारे भने स्पष्ट विवरण सार्वजनिक भएको छैन।
नियन्त्रणमा लिइएको ट्रकका चालक भारतको उत्तर प्रदेश निवासी धनिराम राजपुतलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ। बरामद फलफूलको लिलामी प्रक्रिया अगाडि बढाउने तयारीसमेत भइरहेको बताइएको छ।
यस घटनाले भन्सार कागजातमा उल्लेख भएको वस्तु र ट्रकमा वास्तविक रूपमा रहेको सामानबीचको फरक कसरी पत्ता लागेन भन्ने प्रश्न उठाएको छ। विशेषगरी भौतिक जाँच गर्ने कर्मचारीले सामानको प्रकृति र परिमाण यकिन नगरी कसरी जाँचपास गरे भन्ने विषय अनुसन्धानको दायरामा आउनुपर्ने देखिएको छ।
त्यस्तै, एउटै आयातकर्ताका नाममा जाँचपास भइसकेका थप दुई ट्रकको वास्तविक अवस्थाबारे पनि छानबिन आवश्यक देखिएको छ। घटनामा कुनै कर्मचारी वा अन्य व्यक्तिको संलग्नता रहेको भए त्यसको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग उठ्न थालेको छ।
केवल चालकलाई नियन्त्रणमा लिएर वा बरामद फलफूल लिलामी गरेर मात्र यस्तो घटना टुंग्याउनु पर्याप्त नहुने सरोकारवालाहरूको भनाइ छ। भन्सार जाँचपासदेखि गेटपास जारी गर्ने प्रक्रियासम्मको छानबिन गरी सम्भावित राजस्व चुहावट र संगठित अवैध आयातको सञ्जाल पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।








