वीरगञ्ज । आसन्न दीपावली (तिहार) तथा छठ पर्वलाई सुरक्षित, शान्तिपूर्ण र मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय पर्साले विभिन्न गतिविधिमा प्रतिबन्ध लगाउँदै सुरक्षा सतर्कता बढाएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै देउसी–भैलो राति ९ बजेसम्म मात्र खेल्न, पटका तथा आतिशबाजी प्रयोग नगर्न र जुवातासलगायतका गैरकानुनी गतिविधिमा संलग्न नहुन जिल्लावासीलाई आग्रह गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद चापागाईंले जारी गरेको सूचनामा चाडपर्वका नाममा अन्य व्यक्ति, छिमेकी तथा सार्वजनिक जनजीवनमा असर पर्ने गतिविधि नगर्न अनुरोध गरिएको छ।
प्रशासनले जनस्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै पटका, भुइँचम्पा तथा आतिशबाजीजस्ता विस्फोटक र प्रज्वलनशील पदार्थको भण्डारण, बिक्रीवितरण, ओसारपसार तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ। दीपावलीका क्रममा दीप प्रज्वलन र विद्युतीय उपकरणको प्रयोग बढ्ने भएकाले सर्टसर्किट तथा आगलागीबाट जोगिन पनि प्रशासनले सचेत गराएको छ।
त्यसैगरी, कानुनले निषेध गरेका जुवा, तास, कौडा, लड्डुबुर्जा तथा सट्टेबाजीजस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिइएको छ। यस्ता गतिविधिमा संलग्न भएको पाइएमा कडा कानुनी कारबाही गरिने सूचनामा उल्लेख छ।
सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने तथा सामाजिक सद्भाव र शान्ति खलल पार्ने गतिविधि नगर्न पनि प्रशासनले आग्रह गरेको छ।

चाडपर्वको समयमा बजारमा अखाद्य तथा म्याद गुज्रिएका वस्तु बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि तथा कालोबजारी गर्ने कार्यमाथि निगरानी बढाइने प्रशासनले जनाएको छ।
यात्रुवाहक सवारीसाधनलाई क्षमताभन्दा बढी यात्रु नराख्न, तोकिएकोभन्दा बढी भाडा नलिन तथा जोखिमपूर्ण यात्रा नगर्नसमेत निर्देशन दिइएको छ।
प्रशासनले शान्ति सुरक्षामा असर पर्ने शंकास्पद गतिविधि वा घटना देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल रुमको १०० नम्बरमा जानकारी गराउन जिल्लावासीलाई अनुरोध गरेको छ।
जारी सूचनाको उल्लंघन गरी निषेधित गतिविधि सञ्चालन गरेको वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी चापागाईंले स्पष्ट पारेका छन्।








