वीरगंज । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३, पर्साले विजया दशमीको अवसरमा आयोजना गर्न लागेको शुभकामना आदान–प्रदान कार्यक्रम स्थगित गरेको छ ।
एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा बुधबार पर्साको पकाहामैनपुर गाउँपालिका–२, मानिकपुरमा आयोजना हुने तय भएको कार्यक्रम स्थगित गरिएको हो ।
एमाले नेता रुपेश पाण्डेका अनुसार कम्युनिष्ट नेता विजय पौडेलको मंगलबार भएको दुःखद् निधनप्रति शोक व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले कार्यक्रम स्थगित गरिएको हो ।
नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३, पर्साले मंगलबार सूचना जारी गर्दै कार्यक्रममा आमन्त्रित सम्पूर्ण नेता, कार्यकर्ता तथा अन्य महानुभावहरूलाई कार्यक्रम स्थगित भएको जानकारी गराएको छ । कार्यक्रम स्थगित गर्नुपरेकोमा आयोजकले क्षमायाचना समेत गरेको छ ।








