वीरगन्ज । नेकपा एमालेका नेता एवं जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका दुई छोरा कर्तव्य ज्यान तथा जबरजस्ती करणीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
पर्सा जिल्ला अदालतले शुक्रबार नसिर अहम्मद मन्सुरी र जाफिर अहम्मदलाई मुद्दाको अन्तिम फैसला नहुँदासम्म थुनामा राख्न आदेश दिएको हो । जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले दुवै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको पर्सा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्र मल्लका अनुसार अदालतको आदेशपछि दुवै जनालाई कारागार चलान गरिएको हो ।
जगरनाथपुर गाउँपालिका–५ निवासी दुवै जनामाथि जाफिरकी सालीको हत्या घटनामा संलग्न रहेको आरोप छ । २०७८ असोज २१ गते जाफिरकी अविवाहित सालीको शव प्रहरीलाई जानकारी नदिई वीरगंज–१३ मुर्लीस्थित कब्रिस्तानमा गाड्ने क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । शव गाड्ने कार्यमा नसिर, जाफिरलगायतका व्यक्तिहरू संलग्न रहेको आरोप लागेको थियो ।
प्रहरीका अनुसार ती युवतीमाथि जबरजस्ती करणी भएपछि अत्यधिक रक्तश्रावका कारण सिकिस्त भएकी थिइन् । गाउँकै एक क्लिनिकमा उपचारका क्रममा उनको मृत्यु भएको र त्यसपछि शव वीरगंज ल्याएर गुपचुप रूपमा गाड्ने प्रयास गरिएको आरोप छ ।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले करिब पाँच वर्षपछि नसिर र जाफिरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । घटनामा राजनीतिक पहुँचका कारण विगतमा अनुसन्धान अघि नबढाइएको आरोपसमेत लाग्दै आएको थियो ।
प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोप लागेका अन्य व्यक्तिहरू अझै फरार छन् । उनीहरूको खोजी भइरहेको छ ।

अदालतको आदेशसँगै नसिर र जाफिर मुद्दाको अन्तिम फैसला नहुँदासम्म कारागारमै रहनेछन् । उनीहरूमाथि लागेको आरोप अदालतबाट प्रमाणित भइसकेको छैन ।








