बारा । बाराको कलैया उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाका अनुसार असोज ८ गते बिहीबार र ९ गते शुक्रबार विद्यालयमा पठनपाठन बन्द रहनेछ। मौसम पूर्वानुमानअनुसार असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी तथा चट्याङको सम्भावना रहेकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।
शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै स्थानीय तहसँग समन्वय गरी आवश्यकताअनुसार विद्यालयमा बिदा दिन आग्रह गरेको थियो।
सोही आधारमा कलैया उपमहानगरपालिकाको शिक्षा शाखाले दुई दिन विद्यालय बन्द रहने जानकारी दिएको हो।
उपमहानगरपालिकाले अभिभावकलाई आफ्ना बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम रहेका स्थानमा नजान दिन समेत आग्रह गरेको छ।








