Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

spot_img
spot_img

धनुषा । कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाका रामप्रबोध पण्डितको हात रोकिएको थिएन । चाकामा राखिएको माटो घुमाउँदै उहाँले केही बेरमै एउटा सुन्दर माटाको भाँडो तयार पार्नुभयो । छेउमै तयार भएका भाँडाको थुप्रो बढ्दै थियो ।

“अरू बेला त फुर्सद नै हुन्छ । चौरचनलगायतका चाडपर्व आएपछि भने माटोले पनि बोलाउन थाल्छ”, उहाँले मुस्कुराउँदै भन्नुभयो, “जति बनाए पनि माग पूरा गर्न गाह्रो भइरहेको छ ।” पर्व नजिकिएसँगै धनुषाका कुम्हाले परिवारलाई यति बेला भ्याइनभ्याइ छ । वर्षभरि माटाका भाँडा बनाएर जीविका चलाउन कठिन हुँदै गए पनि चौरचनजस्ता पर्वले उनीहरूको पुरानो पेसालाई केही दिनका लागि भए पनि फेरि चलायमान बनाइदिएको छ । चौरचनका लागि माटाका भाँडाको विशेष महत्त्व छ । प्लास्टिक, स्टिल र अन्य आधुनिक सामग्रीको प्रयोग बढे पनि धार्मिक विधिमा प्रयोग हुने माटाका भाँडा भने अझै विस्थापित भएका छैनन् । त्यसैले पर्व नजिकिँदा कुम्हालेको चाकाले गति लिन्छ ।

“हामीले बनाएका भाँडा घरघरमा पुग्छन् । यही नै हाम्रो पेसा र पहिचान हो”, पण्डितले भन्नुभयो, “तर युवाहरू यो काम गर्न चाहँदैनन् । आम्दानी राम्रो नहुँदा अर्को पेसातिर जान्छन् ।” कुम्हालेको चाका घुमिरहँदा उता बजारमा भने चौरचन र हरितालिकाको तयारीले चहलपहल बढाएको छ । फलफूल, मिठाई, पूजा सामग्री, नयाँ कपडा तथा घरायसी सामग्री किनमेल गर्नेको सङ्ख्या बढ्न थालेको छ ।

क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयाकी अनिता यादवलाई यस वर्षको पर्वको तयारी केही फरक लागेको छ । चौरचन र हरितालिका तीज एकै दिन परेकाले उहाँको घरमा तयारी दोब्बर भएको छ । “तीजको व्रत बस्नुपर्ने, पूजा गर्नुपर्ने र चौरचनका लागि पनि प्रसाद तथा सामग्री तयार गर्नुपर्ने भएकाले काम धेरै छ”, उहाँले भन्नुभयो, “तर पर्व भनेको दुःख होइन, परिवार र आफन्तसँग खुसी बाँड्ने अवसर हो ।” अनिता जस्तै गाउँ–सहरका धेरै महिला अहिले तीजको तयारीमा छन् । हरितालिका तीजमा महिलाले व्रत बसेर भगवान् शिव र पार्वतीको पूजा–आराधना गर्ने परम्परा छ । पछिल्लो समय तीज धार्मिक अनुष्ठानसँगै महिला भेटघाट, गीत–संगीत र सामाजिक सम्बन्ध विस्तारको अवसरसमेत बनेको छ ।
मिथिला समाजमा भने चौरचनको आफ्नै विशिष्ट सांस्कृतिक महत्व छ । चौठचन्द्रका नामले समेत चिनिने यस पर्वमा चन्द्रमाको पूजा गरिन्छ ।

व्रत बसेका महिला साँझ चन्द्रमालाई विभिन्न फलफूल, परिकार तथा प्रसाद अर्पण गर्छन् । परिवारको सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्दै पर्व मनाउने परम्परा पुस्तौँदेखि चलिआएको छ चौरचनको तयारी केवल घरभित्र मात्र सीमित छैन । फलफूल बेच्ने व्यापारी, मिठाई पसले, पूजा सामग्री विक्रेता र कुम्हालेसम्म यसको प्रत्यक्ष प्रभाव परेको छ । महेन्द्रनगर धनुषाका स्थानीय बजारका एक व्यापारी दिनेश गुप्ताका अनुसार पर्व नजिकिँदै गएपछि फलफूल र पूजाका सामग्रीको माग बढेको छ । “पर्वको दुई–तीन दिन बजारमा निकै चहलपहल हुन्छ । ग्राहकको भीड बढेपछि व्यापार पनि बढ्छ”, उहाँले भन्नुभयो ।

दुई पर्व एकै दिन परेकाले मधेस प्रदेशका राजधानी जनकपुरधाम उपमहानगरपालिकासहित विभिन्न जिल्लाका केही स्थानीय तहले समेत स्थानीय बिदा दिने निर्णय गरेका छन् । पालिकाहरुले भदौ २९ गते सोमबार अत्यावश्यक सेवाबाहेक कार्यालय तथा मातहतका निकायमा स्थानीय बिदा दिने निर्णय गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहका अनुसार धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका पर्वमा सर्वसाधारणलाई सहज रूपमा सहभागी हुन वातावरण बनाउने उद्देश्यले बिदा दिने निर्णय गरिएको हो । चौरचनका लागि बनाइएका माटाका भाँडा घाममा सुकिरहेका छन् । बजारमा फलफूल र पूजा सामग्रीको थुप्रो लाग्न थालेको छ । घरका आँगनमा तीज र चौरचनका लागि आवश्यक सामग्री जुटाइँदैछ । आधुनिकताको तीव्र विस्तारबीच पनि यस्ता पर्वले मिथिलाको पुरानो सांस्कृतिक अभ्यासलाई जीवित राखेको छ ।

चौरचनले कुम्हालेको चाका घुमाएको छ, तीजले महिलाको सांस्कृतिक सम्बन्धलाई जोडेको छ र बजारले त्यसको आर्थिक गतिविधिलाई साथ दिएको छ । रामप्रबोधको चाका फेरि घुमिरहेको छ । उहाँका हातमा माटोले आकार लिइरहेको छ । “यो भाँडो बेचेर केही पैसा आउँछ”, उहाँले चाका रोक्दै भन्नुभयो, “तर त्योभन्दा ठूलो कुरा हाम्रो परम्परा पनि त यही भाँडासँगै बाँचेको छ ।” मिथिलाको पर्वमा यही माटो, यही आस्था र यही परम्पराले हरेक वर्ष नयाँ रौनक थप्दै आएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...