Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

म्याद सकिए पनि घडिअर्वा पोखरीदेखि स्विमिङ पुलसम्म ठेकेदारकै कब्जामा

वीरगंज महानगरलाई लाखौंको घाटा

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाअन्तर्गत रहेका घडिअर्वा पोखरी, स्विमिङ पुल, मिना बजार तथा पुरानो बसपार्कको ठेक्का सम्झौताको म्याद गत आर्थिक वर्षको असार मसान्तमै सकिए पनि सम्बन्धित ठेकेदारहरूले ती संरचना तथा स्थानहरू महानगरपालिकालाई हस्तान्तरण नगरेको पाइएको छ ।

म्याद सकिएको डेढ महिनाभन्दा बढी समय बितिसक्दा पनि कतिपय स्थानमा ठेकेदारले शुल्क असुली जारी राखेका छन् भने महानगरपालिकाले नयाँ ठेक्का प्रक्रिया समेत अघि बढाउन सकेको छैन ।

घडिअर्वा पोखरीको ठेक्का गणपति निर्माण सेवाले आर्थिक वर्ष २०७८/०७९ मा पाँच वर्षका लागि लिएको थियो । सम्झौताअनुसार उक्त ठेक्काको म्याद आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तमा समाप्त भइसकेको छ । तर, हालसम्म ठेकेदारले पोखरी महानगरपालिकालाई हस्तान्तरण गरेको छैन ।

ठेक्काको म्याद समाप्त भएको डेढ महिनाभन्दा बढी समय बितिसक्दा पनि घडिअर्वा पोखरी घुम्न आउने पर्यटक तथा सर्वसाधारणबाट शुल्क असुली भइरहेको छ । ठेक्दारले मिति नलेखि पर्यटकलाई रसिद दिने गरेकाे पाइएकाे हाे । पर्यटकलाई दिइएकाे पाेखरीका कर्मचारीले त्यहीँ पुन फिर्ता समेत लिने गरेका छन् ।

वीरगंज महानगरपालिकाको राजस्व शाखा प्रमुख मनोज कर्णका अनुसार घडिअर्वा पोखरीको ठेक्का वार्षिक १६ लाख १५ हजार रुपैयाँबाट सुरु गरी प्रत्येक वर्ष १० प्रतिशत वृद्धि हुने गरी पाँच वर्षका लागि सम्झौता गरिएको थियो । पाँच वर्षको अवधिमा ठेकेदारले महानगरपालिकालाई कुल ९८ लाख ५९ हजार ७ सय ३६ रुपैयाँ बुझाउनुपर्ने भए पनि बुझाउनुपर्ने रकममध्ये केही रकम अझै बाँकी नै रहेको उनले बताए।

यस विषयमा प्रतिक्रिया लिन गणपति निर्माण सेवाका सञ्चालक लखन गुप्तासँग फोन सम्पर्क गर्न खोज्दा फोन नउठेका कारण सम्पर्क हुन सकेन ।

त्यसैगरी वीरगंज महानगरपालिकामातहत रहेको स्विमिङ पुलको ठेक्का सम्झौताको म्याद पनि गत असार मसान्तमै सकिएको छ । सुरेश ठेक्का पट्टाले आर्थिक वर्ष २०७८/०७९ देखि पाँच वर्षका लागि स्विमिङ पुलको ठेक्का लिएको थियो । तर, सम्झौताको अवधि समाप्त भइसके पनि महानगरपालिकाले हालसम्म नयाँ ठेक्का प्रक्रिया अघि बढाउन सकेको छैन ।

महानगरपालिकाका अनुसार सुरेश ठेक्का पट्टाले वार्षिक ८ लाख २७ हजार ५ सय रुपैयाँबाट सुरु गरी प्रत्येक वर्ष १० प्रतिशत वृद्धि हुने गरी पाँच वर्षका लागि ठेक्का लिएको थियो । पाँच वर्षमा बुझाउनुपर्ने कुल ५० लाख ५३ हजार ५ सय रुपैयाँ ठेकेदारले भुक्तानी गरिसकेको बताइएको छ । तर, ठेक्काको म्याद सकिएपछि पनि स्विमिङ पुल महानगरपालिकालाई हस्तान्तरण गरिएको छैन ।

यस्तै, मिना बजारको ठेक्काको म्याद पनि गत आर्थिक वर्षको असार मसान्तमै समाप्त भएको छ । अरविन्द प्रसाद कलवारले आर्थिक वर्ष २०८०/०८१ देखि २०८२/०८३ सम्म तीन वर्षका लागि ४ करोड ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा मिना बजारको ठेक्का लिएका थिए ।

ठेक्काको अवधि समाप्त भए पनि हालसम्म ठेकेदारले मिना बजार महानगरपालिकालाई हस्तान्तरण नगरेको र नयाँ ठेक्का प्रक्रिया समेत अघि नबढेको बताइएको छ । तर ठेक्कदारले मिना बजारबाट रकम असुली रहेकाे छ ।

त्यस्तै, पुरानो बसपार्कको ठेक्काको म्याद पनि गत आर्थिक वर्षको असार मसान्तमै सकिएको छ । गणपति निर्माण सेवाले आर्थिक वर्ष २०७८/०७९ देखि पाँच वर्षका लागि ६२ लाख ६० हजार ७ सय ८० रुपैयाँमा पुरानो बसपार्कको ठेक्का लिएको थियो ।

पुरानो बसपार्कको ठेक्का विगतदेखि नै विवादित रहँदै आएकाले यसमा नयाँ ठेक्का नगर्ने महानगरपालिकाको योजना रहेको राजस्व शाखा प्रमुख कर्णले बताए ।

यसैबीच, गत आर्थिक वर्षको असार मसान्तमा म्याद सकिएको अर्को ठेक्का भने नयाँ सम्झौतासहित अघि बढाइएको महानगरपालिकाले जनाएको छ । राजस्व शाखा प्रमुख कर्णका अनुसार यसअघि ठेक्का लिएको एनके इन्टरनेशनलले नै पुनः नयाँ ठेक्का प्राप्त गरेको छ ।

उनका अनुसार यसअघि पाँच वर्षका लागि ७ करोड ६५ लाख रुपैयाँमा ठेक्का भएकोमा अहिले पुनः थप पाँच वर्षका लागि १० करोड ८० लाख १७ हजार ९ सय ९० रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ ।

तर, घडिअर्वा पोखरी, स्विमिङ पुल तथा मिना बजारलगायतका महत्वपूर्ण स्थानको ठेक्काको म्याद सकिएको डेढ महिनाभन्दा बढी समय बितिसक्दा पनि नयाँ ठेक्का प्रक्रिया सुरु हुन नसक्नुले महानगरपालिकाको राजस्वमा प्रत्यक्ष असर परेको देखिएको छ । नयाँ ठेक्का नलगाउँदा महानगरपालिकालाई प्रत्येक महिना लाखौं रुपैयाँ राजस्व घाटा भइरहेको स्थानीयको भनाइ छ ।

यस विषयमा प्रतिक्रिया लिन वीरगंज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलम तथा प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर बोहोरासँग समेत फोनमा सम्पर्क गर्न खोज्दा दुवैजनाको फोन नउठेका कारण प्रतिक्रिया लिन सकिएन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...