Date
बुध, जेष्ठ २७, २०८३
Wed, June 10, 2026

प्रहरी कार्यालयमा पीडित भएर आउने अवस्था कम हुने समाज बनाऔं : आईजीपी कार्की

spot_img
spot_img

वीरगंज । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले प्रहरी कार्यालयमा पीडित भएर आउने नागरिकको संख्या कम हुने खालको समाज निर्माण गर्न सबैलाई आग्रह गरेका छन् ।

वीरगंजमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले नागरिकलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेका हुन् ।

उनले जीवनमा तीन ठाउँमा जान नपरोस् भन्ने चेतना विकास गर्नुपर्ने उल्लेख गर्दै लफडामा परेर प्रहरी कार्यालय, मापसे वा लापसेका कारण दुर्घटनापछि अस्पताल तथा मुद्दा मामिलामा परेर अदालत जान नपर्ने अवस्था सिर्जना गर्न सबै सचेत हुनुपर्ने बताए ।

“यस्तो परिकल्पना गरौं र यसलाई सार्थक बनाउन वीरगंजबाटै शुरुआत गरौं । सभ्यता निर्माणको शुरुआत वीरगंजबाटै होस्,” उनले भने ।

आईजीपी कार्कीले प्रहरी कार्यालयमा विभिन्न मुद्दामा पञ्चायतीको नाममा हुने अनावश्यक भेला रोक्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन समेत दिए । उनले पक्ष र विपक्ष बाहेकका व्यक्तिलाई प्रहरी कार्यालयमा प्रवेशमा रोक लगाउन देशभरका प्रहरी कार्यालयलाई निर्देशन दिएको जानकारी दिए ।

उनले केही व्यक्तिहरू कानूनको जानकार बनेर पक्ष वा विपक्षको तर्फबाट प्रहरी तथा अन्य कार्यालयमा अनावश्यक भीडभाड गर्ने प्रवृत्ति बढेकाले त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, मादक पदार्थ तथा लागूऔषध सेवनका कारण घरेलु हिंसालगायतका मुद्दा बढ्दै गएको उल्लेख गर्दै यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरीले सक्रिय रूपमा काम गरिरहेको बताए ।

आईजीपी कार्कीले सहायक तथा चोरबाटो प्रयोग गरी हुने तस्करी र राजस्व छलि नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिँदै भन्सारका मुख्य नाकाबाट राजस्व वृद्धि हुने गरी काम गर्न सुझाव दिए ।

उनले प्रहरी कर्मचारीलाई कानूनबमोजिम निडर भएर काम गर्न, न्याय सम्पादनमा निष्पक्षता कायम राख्न तथा संगठनको मनोबल उच्च बनाउन पनि निर्देशन दिए ।

सेवाग्राहीलाई पहिलो प्राथमिकतामा राखेर भाषागत शुद्धता, व्यवहारिकता तथा क्षेत्रगत जिम्मेवारीलाई ध्यानमा राखी सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए ।

आईजीपी कार्कीले राम्रो शहर, चिल्ला गाडी र आकर्षक घर मात्र समृद्धिको मापदण्ड नभएको उल्लेख गर्दै भाषा, बोली, व्यवहार र सामाजिक संस्कार पनि उत्तिकै महत्वपूर्ण हुने बताए ।

उनले सामाजिक सद्भाव कायम राख्नु आजको आवश्यकता भएको उल्लेख गर्दै वीरगंजलाई विशाल हृदय भएका मानिसहरूको शहरको रूपमा चिनाउन सबैलाई आग्रह गरे ।

प्रहरी समाजकै अंग भएको उल्लेख गर्दै उनले प्रहरीलाई पनि सहानुभूति आवश्यक रहेको बताए । प्रभावकारी सेवा प्रवाहका लागि भाषागत शुद्धता, आफ्नो क्षेत्राधिकारको ख्याल र समयमै काम सम्पन्न गर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशनसमेत दिएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सगरमाथा एकेडेमीमा विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन

वीरगंज । वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा एकेडेमी बोर्डिङ स्कुलमा विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास तथा लोकतान्त्रिक संस्कारको प्रवर्द्धन गर्ने उद्देश्यले हेड ब्वाय, हेड गर्ल, हाउस...

जगरनाथपुरकाे मसिहानीमा छठघाटकाे गाउँपालिका अध्यक्ष यादवद्वारा शिलान्यास

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ५ मसिहानीस्थित छठघाट निर्माण कार्यको मंगलबार गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा बोल्दै...

अनलाइनमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक गतिविधि (इलीगल इस्कर्ट) सञ्चालन गर्ने गिरोहमा संलग्न १६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ...