वीरगंज । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ। एमालेले आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षण गराएको हो।

यसैक्रममा नेकपा एमाले पर्सा जिल्ला कमिटीले पनि अध्यक्ष ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ। पर्सा जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्माको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी भोला दहाललाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो।
ज्ञापनपत्र बुझाउँदै अध्यक्ष शर्माले अध्यक्ष ओली र नेता लेखकलाई सूर्योदय अघि नै “प्रतिशोधपूर्ण ढंगले” पक्राउ गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले तत्काल रिहा गर्न माग गर्दै सरकारको कदमलाई “राजनीतिक पूर्वाग्रह र प्रतिशोधयुक्त” भएको आरोप लगाए। साथै उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गर्नुपर्ने माग पनि राखे।

कार्यक्रममा एमाले मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव, सचिव महेश दास, ओबीसीका राष्ट्रिय अध्यक्ष तेजप्रकाश निषाद, नेता शम्भु गुप्ता, रिमा यादव, मानदेव हजरा लगायत सयौं नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। ज्ञापनपत्र बुझाउनुअघि वीरगंजमा मोटरसाइकल र्यालीसमेत आयोजना गरिएको थियो।
गौरबहादुर कार्की आयोगले दोषी ठहर गरेको आधारमा अध्यक्ष ओलीलाई शनिबार निवासबाटै प्रहरीले पक्राउ गरेपछि एमाले सचिवालय बैठकले त्यसको विरोध गर्दै देशव्यापी रूपमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो।


