वीरगंज । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा बिहीबार आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले २७४ जना सांसदलाई शपथ गराएका हुन्।

यसअघि ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित पर्साका चार जना प्रतिनिधिसभा सदस्यमध्ये तीन जनाले भोजपुरी भाषामा र एक जनाले नेपाली भाषामा शपथ लिएका छन्।
पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित बुद्धिप्रसाद (हरि) पन्त, क्षेत्र नम्बर २ का सुशील कुमार कानु र क्षेत्र नम्बर ४ का टेक बहादुर शाक्यले भोजपुरी भाषामा शपथ लिए। भने, क्षेत्र नम्बर ३ बाट निर्वाचित रामाकान्त प्रसाद चौरसियाले नेपाली भाषामा शपथ लिएका छन्।
पन्तले आफ्नो मातृभाषा नेपाली भए पनि आफू निर्वाचित क्षेत्रको भाषिक पहिचानलाई सम्मान गर्दै भोजपुरीमा शपथ लिएको बताएका छन्। “मेरो मातृभाषा नेपाली भए पनि मेरो कर्मभूमिको आत्मा भोजपुरीमा बसेको छ,” उनले भने।
सुशील कुमार कानुले आफ्नो मातृभाषा नै भोजपुरी भएकाले यसलाई आफ्नो पहिचानसँग जोड्दै तराई–मधेसको भाषालाई राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यले भोजपुरीमा शपथ लिएको बताए।
त्यस्तै, टेक बहादुर शाक्यले पनि भोजपुरी बाहुल्य क्षेत्रबाट निर्वाचित भएकाले समर्थकहरूको सल्लाहमा उक्त भाषा रोजेका हुन्।
यता, रामाकान्त प्रसाद चौरसियाको मातृभाषा भोजपुरी भए पनि उनले नेपाली भाषामा शपथ लिएका छन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जितेको छ भने नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट प्राप्त गरेका छन्।


