Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

मनोकामना पूरा हुने विश्वासमा सूर्यदेवको पूजा आराधना गरिने छठ पर्व

spot_img
spot_img

पूर्णप्रसाद मिश्र/रासस
काठमाडौँ । नदी, छठी माता र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने चारदिने छठ पर्व आजदेखि सुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म नदी, छठी माता र सूर्यदेवको पूजा आराधना गरी मनाइने छठ पर्व राजधानीलगायत मधेस प्रदेशका जिल्लामा हर्षोल्लासपूर्वक मनाइन्छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्वको पहिलो दिन चतुर्थीका दिन स्नान गरी चोखो खाएर बसिन्छ । यसलाई ‘नहाय खाय’ भनिन्छ । आजदेखि छठ पर्व नसकिएसम्म ब्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि राजसी र तामसी खाद्य पदार्थ नखाने विधि छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा पनि भनिन्छ ।

मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर ब्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी जिल्लामा पनि मनाउन थालिएको छ । यस क्षेत्रका मानिसले पनि कुनै न कुनै रुपमा सूर्यदेवको पूजा, आराधना गर्ने गरेकाले कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्मको विशेष अवधिमा पनि सूर्यदेवको पूजा, आराधना गर्न थालेका हुन् ।

विसं २०४६ देखि नै सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिन थालेको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, पशुपति क्षेत्रस्थित गुह्येश्वरीबाट गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ यो पर्व मनाउन थालियो ।

रानीपोखरीमा भूकम्पपछिको पुनःनिर्माण सकिएदेखि हाल छठ मनाइँदैन । यसअघिदेखि नै बागमती र विष्णुमती नदीकिनारमा छठ मनाउने संस्कृति सुरु भएको थियो । राजधानीका नागपोखरी, गहनापोखरीलगायत जलाशयमा पनि छठ मनाउने गरिएको छ । कार्तिक शुक्ल पञ्चमीका दिनमा निर्जल उपवास बस्ने गरिन्छ ।

यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाइन्छ । यसलाई ‘खरना’ भन्ने गरिएको दुई दशक अघिदेखि काठमाडौँमा छठ मनाउँदै आउनुभएका नरेन्द्र यादवले बताउनुभयो । “षष्ठीका दिन ब्रतालुले ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवं छठी मातालाई चढाउने गरिन्छ, रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ”, उहाँले भन्नुभयो ।

षष्ठीका दिन पक्वान्न, फलफूल, उखु र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यही रात बिताइन्छ ।

सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ः०० बजेदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई ‘भिन्सरघाट’ भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिइ सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको अञ्जिता शर्माले बताउनुभयो ।

“पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको हो”, उहाँले भन्नुभयो । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ््ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताउनुभयो ।

सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट सुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ । सूर्य पूजा र दर्शन गरी विवाहिता महिला, पुरुषले पति, पत्नीको दीर्घायु एवं अविवाहित केटा, केटीले सुयोग्य वर बधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ ।

यो पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीकोसमेत सहभागिता रहने गरेको विसं २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आउनुभएका राजेन्द्र सिंहले बताउनुभयो । सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा गुप्तबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डव विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको एकथरी मत छ ।

सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल शौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको अर्काथरीको भनाइ छ ।

राजधानीमा गुह्येश्वरीबाट गौरीघाटको वाग्मती किनारमा छठ घाट निर्माण भइरहेको छ । यसैगरी कमलपोखरीमा पनि छठको तयारी भइरहेको छ । दुवै स्थानमा कात्तिक १० गते बेलुकी राष्ट्रपति रामचन्द्र पौडेलले विशेष पूजा एवं छठ पर्व अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

यस वर्ष कात्तिक १० गते सोमबार बेलुकी अस्ताउँदो र कात्तिक ११ गते मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइने कार्यक्रम रहेको गुह्येश्वरी छठ पूजा समितिले जनाएको छ । छठ ब्रतालु भने कार्तिक शुक्ल षष्ठीको रातभर नदी किनारमै बस्छन् ।

spot_img
spot_img

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...