वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा पिपुल इन निड (PIN), अकाउन्टेबिलिटी ल्याब नेपाल, नेपाल अपांग महिला संघ, राष्ट्रिय शिक्षा अभियान नेपाल (NCE Nepal) र दिव्य विकास स्रोत केन्द्र, पर्साको संयुक्त साझेदारीमा सञ्चालित पहुँच परियोजनाअन्तर्गत सञ्जाल गठन गरिएको हो।
विद्यालयमा आयोजित कार्यक्रममा अकाउन्टेबिलिटी ल्याब नेपालका प्रतिनिधि अकलेश साह तथा दिव्य विकास स्रोत केन्द्र, पर्साका अमित कुमार राउतले बालिका तथा समावेशी शिक्षा सञ्जाल र गुनासो सुनुवाइ संयन्त्रको आवश्यकता, उद्देश्य, भूमिका तथा जिम्मेवारीबारे अनुशिक्षण दिएका थिए। अनुशिक्षणका क्रममा विद्यालयमा सबै बालबालिकाका लागि समान, सुरक्षित, भेदभावरहित तथा समावेशी शैक्षिक वातावरण निर्माण गर्न आवश्यक पहलका विषयमा छलफल गरिएको थियो।
अनुशिक्षणपछि अशोक प्रसाद महतोको संयोजकत्वमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको हो। सञ्जालले बालिका, अपाङ्गता भएका बालबालिका, विपन्न तथा सीमान्तकृत समुदायका बालबालिकासहित सबै विद्यार्थीको समान सहभागिता र शैक्षिक पहुँच सुनिश्चित गर्न सहजीकरण गर्नेछ। विद्यालयमा हुने लैङ्गिक तथा सामाजिक विभेद न्यूनीकरण गर्दै बालमैत्री र समावेशी सिकाइ वातावरण निर्माणमा सञ्जालले भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
यसैगरी, विद्यार्थी, अभिभावक, शिक्षक तथा अन्य सरोकारवालाबाट प्राप्त गुनासो, समस्या र सुझावलाई व्यवस्थित रूपमा संकलन, सुनुवाइ तथा सम्बोधन गर्न विद्यालयको गुनासो सुनुवाइ संयन्त्रसमेत पुनर्गठन गरिएको छ। उक्त संयन्त्रले विद्यालयमा उत्पन्न हुने समस्या तथा गुनासोलाई समयमै सम्बोधन गर्दै विद्यार्थीको अधिकार संरक्षण, पारदर्शिता र जवाफदेहिता अभिवृद्धिमा सहयोग पुर्याउने विश्वास गरिएको छ।
कार्यक्रममा सहभागीहरूले बालिका तथा समावेशी शिक्षा सञ्जाल र गुनासो सुनुवाइ संयन्त्रको गठनले विद्यालयमा सबै बालबालिकाका लागि समान अवसर, सुरक्षित वातावरण र सम्मानजनक सहभागिता सुनिश्चित गर्न महत्वपूर्ण आधार तयार भएको बताएका थिए।
यी संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्न सके विद्यालय व्यवस्थापन, शिक्षक, विद्यार्थी, अभिभावक तथा समुदायबीचको समन्वय र सहकार्य थप मजबुत हुने तथा शिक्षाबाट वञ्चित वा जोखिममा रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।








