Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

जसपा मुलुकको समृद्धिका लागि सही मार्गमा अघि बढिरहेको छ : खानेपानी मन्त्री यादव

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी (जसपा) ले जनताको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताएका छन् ।

- Advertisement -

आइतबार पर्सा जिल्लाको पर्सागढी नगरपालिका – ८ हरपुरमा आयोजित कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्तासँग मुलुकको समसामयिक राजनीतिक परिस्थिति, पार्टीको नीति र आगामी लक्ष्यबारे छलफल गर्दै मन्त्री यादवले जसपाले जनताको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताएका हुन् ।

जसपाका उपमहासचिव समेत रहेका मन्त्री यादवले भने, “जसपाले मुलुकको समृद्धिका लागि सही नीति अवलम्बन गरेको छ । हाम्रो पार्टीले नीतिगत रूपमै जनताको हितमा काम गरिरहेको छ र मुलुकलाई सही मार्गमा लैजान सक्षम नीति र कार्यक्रम अघि सारेको छ ।”

जसपा नेपालसँग अल्गिएर जसपा गठन गर्नु पछाडिको कारण उपेन्द्र यादवको गलत नेतृत्व र हैकमवादी शैली भएको बताउँदै उनले थपे, “उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले जनताको वास्तविक समस्या समाधान गर्न असफल भएको थियो । उहाँको पार्टीले केवल नारामै सीमित रहेर जनतामा भ्रम उत्पन्न गरेको छ । मधेसको अधिकार दिलाउने नाममा पटक–पटक सत्तासँग सम्झौता गरेको छ ।”

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) समेत रहेका यादवले स्थानीय स्तरमा देखिएका विकास निर्माणका चुनौतीहरू, विशेष गरी खानेपानी र सरसफाइका समस्याहरू समाधान गर्न पार्टीका जनप्रतिनिधिहरूसँग पनि अन्तरक्रिया गरेका थिए । उनले पर्सामा देखिएका खानेपानीका समस्याहरू समाधान गर्न मन्त्रालयले दीर्घकालीन योजनाहरू कार्यान्वयन गर्न प्रतिबद्ध रहेको पनि बताए ।

कार्यक्रममा बोल्दै युवा नेता तबरेज अहमदले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको नकारात्मक नेतृत्व शैलीले आफू र अन्य नेताहरूले पार्टी छोड्न बाध्य भएको स्पष्ट पार्दै भने, “जसपा नेपालमा रहँदा जनताका समस्याहरूलाई प्राथमिकतामा राखेर काम भएको देखिनँ । पार्टीले जनअपेक्षा अनुसार प्रगति गर्न सकेन, त्यसैले मैले जसपा पार्टीमा प्रवेश गर्ने निर्णय गरेँ ।” 

अहमदले थपे “पार्टीभित्र लोकतान्त्रिक प्रक्रियाको अभाव, अध्यक्षको अराजक र असन्तुलित निर्णयले गर्दा हामी जसपा नेपालप्रति निराश भएका हौँ । उपेन्द्र यादवको नेतृत्वमा सङ्गठनको मूल सिद्धान्त र पार्टीका उद्देश्यसँग असङ्गत गतिविधिहरूले असन्तुष्टि पैदा गर्‍यो । त्यसैले, हामीले पार्टी परित्याग गर्ने निर्णय गर्‍यौँ ।”

कार्यक्रममा पर्सागढी – ६ का वडाध्यक्ष नवल किशोर साहले मन्त्री यादवलाई पर्सागढी नगरपालिकामा खानेपानीको अवस्थाबारे जानकारी गराउँदै स्थानीय स्तरमा खानेपानी तथा सरसफाइका समस्याहरू समाधान गर्न सरकारको सहयोगको अपेक्षा व्यक्त गरे । त्यस्तै पर्सागढी – ९ का वडाध्यक्ष रामबढाइ यादवले पार्टीलाई स्थानीय स्तरमा अझै सशक्त बनाउन यस प्रकारका छलफलहरू आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागी पर्सागढी नगरपालिकाका कार्यपालिका सदस्य एवम् जसपाका नेता असलम आलमले स्थानीय विकास निर्माण र सरसफाइका क्षेत्रमा पार्टीको भूमिका अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागी नेताहरूले पार्टीको सङ्गठनलाई बलियो बनाउन सबै एकजुट भएर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको अन्त्यमा मन्त्री यादवले पार्टी कार्यकर्ताहरूप्रति आभार व्यक्त गर्दै भने, “पार्टीको सङ्गठन सुदृढ पार्न र मुलुकको समृद्धिका लागि हामी सबैले एकजुट भएर अघि बढ्नुपर्छ । स्थानीय समस्याहरूलाई समाधान गर्दै जनताको अपेक्षालाई सम्बोधन गर्न हामी निरन्तर लागिपर्नेछौँ ।”

कार्यक्रममा वीरगञ्ज – १३ का पूर्व वडाध्यक्ष तुफान अन्सारी, नेता असलम अन्सारी, विद्यार्थी नेता एजाज बाबु राँकी, डा. आमिर आलम, आमिर मन्सुरी लगायतकाकाे सहभागिता रहेको थियो ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज सडक विस्तार : २४ घण्टामै १२ सय संरचना भत्काइयो, निर्माण सम्पन्न हुन दुई वर्ष लाग्ने

वीरगंज । वीरगंज महानगरपालिका क्षेत्रमा मुख्य सडकको दायाँबायाँ २५ मिटरभित्र रहेका अतिक्रमित संरचना हटाउने कार्य सम्पन्न भएको छ। आइतबार बिहानदेखि डोजर प्रयोग गरी सुरु गरिएको...

वीरगंजमा ६ केजीभन्दा बढी गाँजा सहित ४ भारतीय नागरिक पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध गाँजा सहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। साेमबार बिहान करिब ८:२० बजे वीरगंज महानगरपालिका वडा नं....

पर्सामा सशस्त्र प्रहरी बलको १९औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले १९औँ स्थापना दिवसकाे अवसरमा आयाेजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गणपति मोहन बहादुर...