Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026

‘जनकपुरधाममा सामाजिक सद्भाव कायम गरौँ’

spot_img
spot_img

जनकपुरधाम । हिन्दू–मुस्लिम धर्मका अगुवा तथा सरोकारवाला सामाजिक सद्भाव कायम गर्दै एकसाथ अगाडि बढ्न सहमत हुनुभएको छ । जिल्ला प्रशासन कार्यालय धनुुषामा आइतबार भएको द्विपक्षीय छलफलपछि दुवै धर्मका अगुवाहरु आपसी मतभेद र असहमति समाधान गर्न मिलेर अगाडि बढ्न सहमत हुनुभएको हो ।

जनकपुरधाममा केही समयदेखि बढिरहेको अविश्वासलाई विश्वासमा परिणत गर्दै वर्षौदेखि चलिआएको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकता कायम गर्दै अगाडि बढ्न सबै पक्ष सहमत भएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिनुभयो । उहाँले विवाद समाधान र समन्वयका लागि पहल गर्न हिन्दू, मुस्लिम समुदायका अगुवा, स्थानीय तहका प्रमुख तथा सुरक्षा निकायका प्रतिनिधि रहने गरी एउटा समिति निर्माण गर्ने सहमति पनि भएको जानकारी दिनुभयो ।

“राम नवमी (चैत १६) का दिन जनकपुरधाममा भएको विवाद र त्यसपछि उत्पन्न अविश्वासलाई समाधान गर्न आयोजित छलफलमा दुवै पक्षका अगुवा तथा सरोकारवालाले अब उपरान्त सामाजिक सद्भावमा खलल् पु¥याउने गतिविधि नगर्ने सहमति दुवै पक्षले गर्नुभएको छ”, प्रमुख जिल्ला अधिकारी दाहालले भन्नुभयो, “त्यस समितिले विगतका विवाद र आगामी दिनमा मिलेर अगाडि बढ्न र कुनै पनि समस्या देखिएमा तत्काल संवादको माध्यमबाट समाधान गर्ने भूमिका खेल्ने छ । जसले जनकपुरधाममा हुने कुनै पनि धार्मिक गतिविधि, त्यसले एकअर्का धर्मावलम्बी र समाजमा पर्ने प्रभावका बारेमा अध्ययन र छलफलको माध्यमबाट निष्कर्ष दिन योगदान पु¥याउने अपेक्षा छ ।”

छलफलमा जानकी मन्दिरका महन्त रामतपेश्वर दासले परापूर्वकालदेखि दुई धर्मकाबीच चलिआएको सद्भाव, सामुहिक भावना, एकता र सहिष्णुता संरक्षणका लागि दुबै पक्षले इमान्दारितापूर्वक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । “म २०२३ सालदेखि जानकी मन्दिरमा शिष्य बनेर आउँदा र पछि मूल महन्थको रुपमा भूमिका निर्वाह गर्दै गर्दा दुवै धर्मावलम्बीमा आपसी प्रेम, सद्भाव र अदभूत एकता थियो, हरेक चाडपर्व दुवै पक्ष मिलेर मनाउने चलन थियो”, महन्थ दासले भन्नुभयो, “एकै आगनमा मिलेर रमाउने, एकै ठाउँमा सद्भावका साथ आफ्ना सामाजिक संस्कार मनाउने चलन कमजोर हुँदा समाजमा अविश्वास पैदा भएको छ । यसलाई चिरेर फेरि पुरानै सहिष्णुता र सद्भाव कायम गर्न म सबै पक्षलाई आग्रह गर्दछु ।”

जनकपुरधाम उपमहानगरपालिकाका पूर्वउपप्रमुख एवं मुस्लिम धर्मावलम्बीका अगुवा मोहम्मद अस्गर अलीले जानकी मन्दिरले नै जनकपुरमा मुस्लिम धर्मावलम्बीलाई बसालेको स्मरण गर्दै मन्दिरले बसालेको सहरलाई दुबै पक्षले उजाड बन्नबाट रोक्नुपर्ने बताउनुभयो । उहाँले हिन्दु मुस्लिम दुबै मिलेर यहाँका मठ, मन्दिर र मस्जिद निर्माण गर्न योगदान गरिरहेकामा पछिल्लो समय समस्या उत्पन्न भइरहेकोले त्यसको समीक्षा गरेर समाधानमा लाग्नुपर्ने बताउनुभयो । “हामी हिजोदेखि मिलेर बसेका हौँ । एकअर्काप्रति आदर र सद्भाव छ । मुस्लिमहरुलाई त जानकी मन्दिरले नै बसालेको विगत छ । दुवै धर्मका हरेक गतिविधिमा हामी जोडिन्छौ । जानकी मन्दिरसँगै मस्जित छ । मन्दिरको प्राङ्गणमा हामीलाई बोलाएर खेल्न लगाउने र सम्मान गर्ने परम्परा थियो । पछिल्लो समय दुबै पक्षबाट भएका कमजोरीले समस्याको रुप लिँदै छन् । त्यसको समाधानमा लागौ, यसैमा हामी सबैको हित छ”, उहाँले भन्नुभयो ।

छलफलमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले आपसी विवाद र असमझदारीले दुवै धर्म तथा जनकपुरधाम क्षेत्रको प्रतिष्ठामा असर पु¥याइरहेकाले सामाजिक सद्भाव खलबल्याउने गतिविधि नगर्न आग्रह गर्नुभयो । उहाँले गलत व्यक्ति र गलत क्रियाकलापलाई लिएर सिङ्गो धर्मकै मान्छेहरु धार्मिक सहिष्णुतामा खलल पु¥याउने गरी धु्रबीकृत हुनु दुःखद् भएको भन्दै सचेत रहनुपर्ने बताउनुभयो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले राम नवमीको दिन हिन्दू युवाहरुले निकालेको ¥यालीका क्रममा उत्पन्न विवादलाई धार्मिक, साम्प्रदायिक रङ्ग दिने गरी सामाजिक सञ्जालले भूमिका खेलकाले त्यस्तो गतिविधिमा लाग्नेको निगरानी भइरहेको बताउनुभयो । उहाँले धर्म, संस्कृति, परम्परा तथा धर्मनिरपेक्षताको मर्मअनुसार व्यवहार हुन जरुरी रहेको भन्दै त्यसमा सहयोगका लागि सबैलाई आग्रह गर्नुभयो । “राम नवमीका दिन र त्यसपछि भएका घटनाको हामीले सुक्ष्म अध्ययन गरिरहेका छौँ । अहिले उत्पन्न अविश्वासलाई मध्यनजर गर्दै प्रहरीले संयमता अपनाइरहेको छ । म अपिल गर्न चाहन्छु यहाँहरु त्यस्ता गतिविधिमा नलाग्नुस्, कोही लागिरहेको छ भने सचेत गराउनुस् अन्यथा प्रहरी प्रशासनले कानुनी बाटो लिनुपर्ने हुन्छ”, प्रहरी उपरीक्षक खड्काको भनाइ थियो ।

दुवै धर्मका अगुवाहरुले रामनवमीको दिन हिन्दू सम्राट सेनाले निकालेको ¥याली मस्जिदको क्षेत्रमा पुग्दा दुवै समुदायबीच उत्पन्न समस्याले सामाजिक सदभाव तथा शान्ति–सुरक्षामा खलल पुग्ने चिन्ता बढेको र विगतमा पनि संयमता नअपनाउँदा सामान्य घटनाले साप्रदायिक रुप लिएको तर्फ सचेत गराउँदै जिम्मेवार भएर प्रस्तुत हुन सबैमा अपिल गर्नुभएको छ । उहाँहरु आगामी दिनमा धार्मिक क्रियाकलाप गर्दा अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालय, नजिकको सुरक्षा निकाय र स्थानीय तहलाई जानकारी गराउन तथा त्यस्ता क्रियाकलाप गर्दा सामाजिक सद्भाव कायम राख्न आआफ्नोतर्फबाट योगदान दिनसमेत तयार हुनुभएको छ । रासस

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कालिकामाईमा नेत्रज्योति संघद्वारा निःशुल्क आँखा शिविर

वीरगंज । नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा पर्साको कालिकामाई गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कट्टीबलुवामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ...

कोल्भी–८ नयाँबस्तीमा प्रभु हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २०० जनाले पाए सेवा

कोल्भी । “घरदैलोमा डाक्टर” कार्यक्रमअन्तर्गत प्रभु हस्पिटल, वीरगञ्जले बाराको कोल्भी नगरपालिका–८ नयाँबस्तीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा वरिष्ठ हाडजोर्नी तथा नसा रोग...

जिल्ला अधिवेशन विवाद: वीरगंजमा रास्वपा कार्यकर्ताबीच कुटाकुट, ३ जना घाइते

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनअघि प्रतिनिधि छनोटको विषयलाई लिएर पार्टीभित्रको विवाद चर्किँदा कार्यकर्ताबीच हानाहान भएको छ । घटनापछि अधिवेशनको निर्वाचन...