Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026

चौथो पटक सांसदमा निर्वाचित रमेश रिजाल बने उद्याेग मन्त्री

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य रमेश रिजाल सङ्घ सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा रिजाल नेपाली कांग्रेसको तर्फबाट उद्योग मन्त्रीमा नियुक्त भएका हुन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका रिजालले शुक्रबार मन्त्रीको शपथ समेत ग्रहण गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

शपथग्रहण गर्नेहरूमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा रमेश रिजाल र सहरी विकासमन्त्रीका रुपमा सीता गुरुङ रहेका छन् ।

यस्तै, नेकपा (माओवादी केन्द्र)का शक्ति बहादुर बस्नेतले पनि पद तथा गोपनियताको शपथ लिएका हुन् । उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट कृषि तथा पशुपन्क्षी विकासमन्त्रीमा वेदुराम भुसाल र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीका रुपमा प्रकाश जवालाले शथप लिएका हुन् ।

जनता समाजवादी पार्टी नेपालका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा अशोक राईले पद तथा गोपनियताको शपथ लिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीकातर्फबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका हुन् ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ लिनुभएको छ । यसैगरी, नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको रुपमा शपथ लिएका हुन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री एवं मन्त्रीहरूलाई शपथ गराएका थिए ।

सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, संवैधानिक निकायका प्रमुख, वरिष्ठ सञ्चारकर्मीलगायतको सहभागिता रहेकाे थियो ।

काे हुन् नवनियुक्त मन्त्री रिजाल ?

नवनियुक्त उद्योग मन्त्री रमेश रिजाल पर्सा जिल्लाका पुराना कांग्रेसी नेता हुन् । ६ दशक लामो राजनीतिक संघर्ष गरेका उनी यसबीचमा २०७९ सालकाे निर्वाचनमा चाैथाे पटक पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

पर्साको जगरनाथपुर गाउँपालिका–५, धर्मपुर मसिहानीमा जन्मिएका रिजाल १४ वर्षकै उमेरमा म्याट्रिक (एसएलसी) गरेर वीरगंजकाे ठाकुरराम बहुमुखी क्याम्पसबाट वाणिज्यशास्त्रमा स्नातक भए ।

उनका बुवा मेघनाथ उपाध्याय ०१५ सालमा भएको पहिलो आम निर्वाचनमा नै नेपाली कांग्रेसबाट उम्मेदवार थिए । रमेश पनि होस सम्हालेदेखि नै आफ्ना पिताको राजनीतिक बाटोमा लागेका थिए । उनी विद्यार्थी जीवनमा नेविसंघको राजनीतिमा सक्रिय बने । २०२६–०४६ को अवधिमा पटक–पटक गरी ३ वर्ष जेल जीवन बिताए ।

पर्सा कांग्रेसको सचिवको जिम्मेवारीबाट पार्टी राजनीतिमा आएका रिजालले २०५९ सालमा प्रजातान्त्रिक कांग्रेस गठन हुँदा शेरबहादुर देउवालाई साथ दिए । त्यसयता लगातार देउवा क्याम्पमा रहे उनी । यसबीचमा उनी पार्टीमा अनुशासन समिति संयोजक, कार्य सम्पादन समिति सदस्य र मधेश प्रदेश संयोजक रहे ।

प्रतिनिधिसभा निर्वाचनबाट चौथो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित रिजालले यसपाली भने मन्त्री बन्ने अवसर पाएका छन् । गत ४ मंसिरको निर्वाचनमा उनले नेकपा एमालेका जालिम मियाँ मन्सुरीलाई पराजित गरेका थिए । रिजालले ३१ हजार १४२ र मन्सुरीले २५ हजार ६१२ मत पाएका थिए ।

उद्योग र व्यापार क्षेत्रकाे आर्थिक संकट समाधान गर्छु : उद्योग मन्त्री रिजाल

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आर्थिक संकटबाट गुज्रिएको उद्योग र व्यापारिक क्षेत्रलाई माथि उठाउने बताएका छन् । शुक्रबार राष्ट्रपतिबाट मन्त्री पदकाे शपथ लिएपछि सन्चारकर्मीहरुसंग कुरा गर्दै रिजालले हालको आर्थिक संकट आफ्नो कार्यकालमा समाधान गर्ने दाबी गरे ।

‘उद्योग, वाणिज्य र आपूर्तिका क्षेत्रमा आर्थिक संकटका कारण समस्याहरु छन्,’ मन्त्री रिजालले भने, ‘यसलाई मेरो पालामा समाधान गर्छु । उद्योग र व्यापारिक क्षेत्रलाई संकटबाट माथि उठाउँछु ।’

निजी क्षेत्रलाई विश्वासमा लिएर मुलुकको औद्योगीकरण र व्यावसायिक वातावरण र आपूर्ति व्यवस्था सहज बनाउन आफ्नो प्रमुख भूमिका हुने मन्त्री रिजालले बताए । विश्वको मञ्चमा तीब्र आर्थिक विकास गरिरहेका नेपालका दुई छिमेकी मुलुक भारत र चीनको आर्थिक समृद्धिबाट नेपाललाई लाभ हुनेगरी पहल गर्ने पनि उनले बताए ।

दुई ठूला मुलुकहरुबाट लाभ लिन सक्नेगरी नेपालमा लगानी भित्र्याउन पनि मैले पहल गर्नेछु,’ मन्त्री रिजालले भने, ‘यसका लागि प्रधानमन्त्रीलाई पनि विश्वासमा लिनेछु ।’ मन्त्रालयमा आफूले धेरै कुरा सिक्न बाँकी रहेको भन्दै उनले कर्मचारी र सम्पूर्ण संस्थान तथा कार्यालयहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरेको पनि उनले बताए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रोहिणी नक्षत्रसँगै पर्सामा धानको बीउ राख्न सुरु, किसान अझै भारतीय बीउमै निर्भर

सेढवा । रोहिणी नक्षत्र सुरु भएसँगै पर्साका ग्रामीण भेगका किसानहरूले वर्षे धानबालीको तयारी तीव्र बनाएका छन् । किसानहरूले भदई तथा अगहनी धानअन्तर्गत सोना सारो,...

हरवाचरवा समुदायको पुनर्स्थापनाका लागि बजेट छुट्याउन सरकारलाई दबाब

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवा समुदायको सवाल समेटेकोमा स्वागत गर्दै मुक्त हरवाचरवा अधिकार मञ्चले यसको...

जगरनाथपुर गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, लक्षित बालबालिकाको...