वीरगंज । संविधानको संरक्षण र संघियताको सफल कार्यन्वयनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत दिने जनता समाजवादी पार्टी नेपाल (जसपा) का सांसद् प्रदीप यादवले बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले पेश गरेको विश्वासको मत प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद् यादवले देशको जर्जर अर्थतन्त्रलाई सही बाटोमा ल्याई जनतालाई सुशासनको प्रत्याभुती दिलाउनका निमित्त प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुपर्ने बताए ।
यसअघिको कार्यकालको अनुभवका आधारमा देश र जनताको लागि फरक र सक्रिय भूमिका निर्वाह गर्ने प्रचण्डको प्रतिबद्धतालाई सफल बनाउन सबैले सहयोग गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले जनतालाई सुशासन र परिवर्तनको आभाष दिलाउनेमा कुनै आशंका नगर्न आग्रह गर्दै यादवले जसपा विश्वासको मत दिने प्रस्तावको समर्थनमा रहेको जानकारी गराउँदै सम्पूर्ण प्रतिनिधिसभा सदस्यहरुलाई उनको पक्षमा मतदान गर्न अनुरोध गरे ।
पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका यादवले भने, ‘पुष्पकमल दाहालजी जस्तो साहसी प्रधानमन्त्री कमै पाउँछ । उहाँ एउटा खुल्ला किताब हुनुहुन्छ । उहाँको मनमा केही पनि रहँदैन । प्रष्ट बोल्ने र प्रष्ट कुरा राख्ने । अहिले मुलुकमा जुन प्रकारको सङ्कट परेको छ । मुकुलमा जुन प्रकारको अर्थतन्त्रमा तरलता आएको छ । यो अवस्थामा हामी सबै मिलेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज मतदान गरौँ । म अनुरोध गर्न चाहन्छु ।’
अर्थतन्त्रमा देखिएको तरलताप्रति चिन्ता व्यक्त गर्दै सांसद् यादवले परनिर्भर भएर देश विकास हुन नसक्ने बताए । कृषीप्रधान देशमै कृषक र कृषीको चिन्ताजनक अवस्था हुँदा देशको जिडिपीमा कृषिको योगदान एक तिहाईबाट घटेर २२ प्रतिशतमा पुगेको तथ्यांक यादवले प्रस्तुत गरे ।
कृषकलाई मलको अनुदान काटिएको, सिचाई, बिउ लगायतमा अनुदान नदिने जस्ता समस्याका सम्बन्धमा पनि यादवले सभामुखमार्फत सरकारलाई सचेत गराएका छन् । विकासमा योगदान कम हुने क्षेत्रमा लोन बढाउँदै जानुको औचित्य नभएको यादवको तर्क छ । कर्मचारी, पुलिस, सेनामा ५ अर्ब रुपैयाँ भत्तामा मात्रै जानु, सामाजिक सुरक्षा भत्तामै २ खर्ब खर्च हुनु जस्ता कारणले विकास निर्माणमा केही रुपमा प्रभाव परीरहेको उनले बताए ।
डलरको तुलनामा नेपाली मुद्रा कमजोर रहेको बताउँदै पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले ऋणको भार बढ्दै गएकोप्रति पनि चिन्ता व्यक्त गरे । अर्थतन्त्रलाई दिगो बनाउन सके मात्रै समृद्धिको यात्रातर्फ लम्किन सकिने उनको धारणा छ । सबै बैंकहरु स्थापित व्यवसायीक घरानाको दबदबामा रहेको टिप्पणी गर्दै यादवले राष्ट्र बैंकको मौद्रिक नीति नैतिक रुपमा स्वतन्त्र भएपनि व्यवस्थापनका हिसावले स्वतन्त्र नभएको बताए । व्यापारीले नाफा, सरकारले कर र जनताले राहत खोजीरहेको अवस्थामा सबैलाई सन्तुष्ट बनाउने किसिमको नीति निर्माण गर्नुपर्नेमा उनको जोड छ ।


