Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

जनमतकाे उग्र प्रदर्शन : दर्जनाैं सरकारी गाडीमा तोडफोड र आक्रमण

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार राष्ट्रिय सभा निर्वाचनका दिन डा. सीके राउत नेतृत्वको  जनमत पार्टीका नेता-कार्यकर्ताहरूले सरकारी गाडीमा तोडफोड गरेका छन् । राष्ट्रियसभाको निर्वाचनमा सहभागी हुन आउने क्रममा जनमतका कार्यकर्ताले प्रदेश सभा सदस्य, पालिका प्रमुख र उप प्रमुखका गाडी ताेडफाेड गरेका हुन् ।

उनीहरुले राष्ट्रिय सभाका लागि मतदान गर्न आउँदै गरेका जसपा मधेश प्रदेशका सांसद अशोक यादव, सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई र उप मेयर रेणुका पाैडेल सवार गाडीसहित दर्जनाैं सरकारी गाडीमा तोडफोड गरेका हुन् ।

तोडफोडका क्रममा सांसद यादवसहित आधा दर्जन घाइते भएका छन् । 

जनमतका कार्यकर्ताको प्रदर्शनले राष्ट्रियसभा मतदान स्थल महेन्द्रनारायण निधि प्रतिष्ठान वरपरको अवस्था तनावग्रस्त बनेको थियाे ।जनमत पार्टीका कार्यकर्ताहरुले जनप्रतिनिधि सवार गाडीलाई निशाना बनाएका थिए । 

जसपा नेतृ एवम् संघीय मन्त्री रेणु यादवले गौरमा सीके राउतको नाम लिँदै अर्को नरसंहार मच्चाउने बताएयता जनमत पार्टीका नेता कार्यकर्ता झनै आक्रमक भएका छन् । 

जनमतका नेता कार्यकर्ताहरु ‘पहिला किसानलाई मल देऊ, त्यसपछि मतदान गर’ सहितका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए ।उनीहरु लाठी र भाटासहित मतदानस्थलमा प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप समेत भएको थियाे । 

मतदान स्थल महेन्द्रनारायण निधि प्रतिष्ठान वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियाे । 

जनमतका कार्यकर्ताहरुले मतदान गर्न प्रदेशका आठ जिल्लाबाट आउने प्रदेशसभा सदस्य, पालिका प्रमुख र उपप्रमुखको गाडीलाई लक्षित गरेर आक्रमण गरिरहेका थिए । जनकपुरको विभिन्न चोकहरुमा प्रदर्शनमा उत्रेका जनमतका कार्यकर्ताले मतदानस्थलसम्म पुग्न नदिन सरकारी सवारीसाधन तोडफोड र आक्रमक थालेका थिए । 

उग्र प्रदर्शनका कारण मतदाताहरूलाई जनकपुरधामस्थित मतदानस्थलमा लैजान प्रहरी तैनाथ गरिएको थियाे । जनमतका कार्यकर्ताहरूको समूह मतदानस्थलमै प्रवेश गरेपछि प्रहरीले बल प्रयोग गरेर रोकेको थियो । 

स्वतन्त्र मधेशको मुद्दासहित तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीमाझ आत्मसमर्पण गरेर मूलधारको राजनीतिमा आएका डा. सिके राउत पछिल्लो समय मधेशमा आन्दोलन चर्काइरहेका छन् । कहिले भ्रष्टाचारी भन्दै जनकारवाही त कहिले किसान आन्दोलनको नाममा आगजनी, तोडफोड जस्ता उग्र गतिविधिसहितका क्रियाकलाप जारी राखेका छन् । 

जनमत पार्टी नेकपा एमाले र लोकतान्त्रिक समाजवादीप्रति नरम देखिएको छ । तर जनमतका कार्यकर्ता जनता समाजवादीसहित पाँच दलीय गठबन्धन दलप्रति आक्रमक छन् । खास गरी जनता समाजवादी पार्टी जसपा सांसदलाई लक्षित गरी आन्दोलन गरिरहेका छन् । 

गत माघ ५ गते रौतहटको गौरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई कार्यक्रम स्थलमा जान अवरोध गरेको थियो । 

त्यसपछि सुरक्षा घेरामा कार्यक्रममा पुगेकी मन्त्री यादवले आक्रोशमा सिके राउतप्रति लक्षित गर्दै पुनः गौर नरसंहार दोहोर्‍याउने र सिके राउतको हत्या गर्ने चेतावनी दिएकी थिइन् । त्यसयता उनी पनि विवादमा तानिकी छन् ।

डाक्टरमाथि पनि आक्रमण

केही समयदेखि मधेश प्रदेशमा उग्र प्रदर्शन गर्दै आएका डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बुधबार जनकपुरमा एकजना डाक्टरमाथि पनि आक्रमण गरेका छन् ।

राष्ट्रिय सभाको निर्वाचन भइरहँदा जनकपुरधामस्थित पिडारी चोकमा जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश साहमाथि आक्रमण गरेका हुन् । जनकपुरबाट कामको सिलसिलामा बर्दिबासतर्फ जाने क्रममा लाठी र भाटासहित प्रदर्शनमा उत्रिएका जनमतका कार्यकर्ताले साहमाथि आक्रमण गरेका थिए ।

जनमतका कार्यकर्ताको आक्रमणबाट डा. साहको मुखमा आठवटा टाँका लगाउनुपरेको छ । जनमतका कार्यकर्ताले उनी सवार सरकारी गाडीमा पनि तोडफोड गरेर क्षति पुर्‍याएका छन् । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताको उग्र प्रदर्शनका कारण मधेश प्रदेशमा बुधबार भएको राष्ट्रियसभा निर्वाचनका क्रममा पटक पटक तनाव भएको थियाे ।

मधेश सरकारले छानबिन गर्ने

मधेश प्रदेश सरकारले बुधबार जनकपुरधाममा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताद्वारा गरिएको तोडफोड एवम् हिंसात्मक प्रदर्शनको छानबिन गर्ने भएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले विज्ञप्ति प्रकाशित गरी घटनाको छानबिन र पीडितलाई क्षतिपुर्ति एवम् दोषीलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

जनकपुरधाममा राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मतदानमा सहभागी हुन आएका जनप्रतिनिधिहरुको सवारी साधनमा जनमत पार्टीका कार्यकर्ताहरूले तोडफोड गर्नुका साथै आक्रमणसमेत गरेका थिए । 

‘पूर्व घोषित विरोधका कार्यक्रमहरु नरहेको अवस्थामा पनि प्रदेश सभा सदस्य माननीय अशोक यादव, हरिवन नगरपालिका मेयर, उपमेयर, जलेश्वर अस्पतालका मेसु डा. सतिश साह लगायतका व्यक्तिहरूमाथि गरिएको साङ्घातिक आक्रमण एवम् सवारी साधनमा गरिएको तोडफोड घटनाको वास्तविक छानविन गरी सम्बन्धित जनप्रतिनिधि एवम् चिकित्सकलाई क्षतिपूर्ति उपलब्ध गराउन एवम् दोषी उपर कार्वाही गर्न प्रदेश सरकार तालुक निकायलाई  निर्देशित गर्दछ’ प्रदेश सरकारको विज्ञप्तिमा भनिएको छ।

साथै, लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास राखि अहिंसात्मक तवरबाट आफ्नो विचार एवम् अभिमत प्रकट गर्न जनमत पार्टी लगायत सम्वद्ध सबैमा प्रदेश सरकारले आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...