वीरगंज । बुवाकाे चक्कु प्रहारले छाेराकाे मृत्यु भएपछि पर्साकाे पाेखरिया नगरपालिका वडा नं. ६ श्रीसिया गाउँ नै शाेकमा डुबेकाे छ । साेमबार सांझ बुवा लक्ष्मि साह राैनियारकाे चक्कु प्रहारले ३५ बर्षिय छाेरा माधाे साह राैनियारकाे मृत्यु भएपछि गाउँ शाेकमा डुबेकाे हाे ।
मृतक माधाेकाे मंगलबार गाउँकाे आर्यघाटमा धार्मिक विधि अनुसार दाहसंस्कार गरिएकाे छ । उनकाे दाहसंस्कारमा एक हजार भन्दा बढीकाे सहभागिता भएकाे स्थानिय अमित द्विवेदीले वताए ।
उनले भने “साेमबार सांझ उनकाे मृत्यु भएकाे गाउँलेहरु थाह पाएपछि धेरै जनाकाे घरमा खानासमेत बन्न सकेन । धेरै जनाकाे घरमा बन्नेकाे खाना त्यस्तै रह्याे । अचानक गाउँका एक युवककाे आफ्नै बुवाकाे चक्कु प्रहारले मृत्यु भएकाे थाह पाएका गाउँ नै शाेकमा डुब्याे ।”
लक्ष्मिका सानाे छाेरा माधाे हुन् । माधाे ३ दाजुभाई र एक बहिनी थिए । उनकाे एक छाेरा र दुई छाेरी छन् ।
चक्कु प्रहारबाट गम्भिर घाइते माधाेलाई उपचारकाे लागि वीरगंजस्थित नेशनल मेडिकल कलेजमा लग्ने क्रममा बाटाे मै मृत्यु भएकाे थियाे ।
साेमबार सांझ ७:१५ बजे लक्ष्मिले छाेरा माधाेमाथी चक्कु प्रहार गरेका थिए । रक्सी खाएर आएका ७० बर्षिय लक्ष्मिले आफ्नै परिवारका सदस्यहरुलाई गाली गलाैज गर्न थालेपछि विवाद भएकाे थियाे । विवाद कै क्रममा गाउँघरमा साइकलमा भांजा बिक्री गर्दै आएका लक्ष्मिले त्यस मै प्रयाेग हुने चक्कु छाेरा माधाेमाथी प्रहार गरेका थिए ।
चक्कु प्रहार गर्ने लक्ष्मिलाई इलका प्रहरी कार्यालय पाेखरियाले नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ । चक्कु प्रहार गर्ने लक्ष्मीमाथी उनकै परिवारका सदस्यहरुले मंगलबार किटानी जाहेरीसमेत दिएका छन् ।