वीरगंज । नेपालमा बिहीबार थप ३ सय ३४ जनामा कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
देशका विभिन्न स्थानका प्रयोगशालामा गरिएकाे परिक्षणमा पछिल्लो २४ घण्टामा यी संक्रमित थप भएका हुन्। मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।
देवकोटाले दिएको जानकारी अनुसार संक्रमित हुनेमा दैलेखका ११३, बाँकेका ४२, कपिलवस्तुका २९, मोरङका २, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सप्तरीका १३, बाराका ७, सिन्धुलीका १, म्याग्दीका १, बागलुङका १०, पर्वतका ४, स्याङ्जाका १, डोटीका ३, दाङका १५ र मुगुका १ जना संक्रमण देखिएको हो । त्यसैगरी खोटाङका ३, बाराका ५, धनुषाका ६, महोत्तरीका ३, रौटहटका ६४, सर्लाहीका ३ जना रहेका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय ९० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने नेपालमा कोरोना संक्रमणले थप एक जनाकाे मृत्यु भइसकेको छ। याेसंगै काेराेनाले मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ ।